शुभकामना टिम नेपाल

 सम्पादकीय

नेपाली क्रिकेट इतिहासका लागि आज (बुधबार) एउटा अनुपम दिन हुनेवाला छ । एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा नेपाली टोली प्रतिष्पर्धाका लागि ओर्लँदा एउटा इतिहास रचिएको हुनेछ । विश्व क्रिकेटका महाशक्ति राष्ट्रहरु पाकिस्तान र भारतसित प्रतिष्पर्धा गर्ने तहमा नेपाली टिम उक्लने कल्पना कुनैबेला असम्भव मानिन्थ्यो । अहिले त्यही सपना साकार हुँदैछ । मैदानमा ओर्लिएपछि जीत र हार खेलका अनिवार्य पाटा हुन् । नेपालको नतिजा जस्तो पनि आउनसक्छ । तर, विश्वको नम्बर एक टोलीसँग प्रतिष्पर्धा गरिरहँदा नेपाली क्रिकेटको भने जीत भइरहेको हुनेछ ।

क्रिकेटका यी विश्व शक्तिसँग प्रतिष्पर्धा गर्न पाउनु नेपाली टिमका लागि ऐतिहासिक अवसर हो । अन्तर्राष्ट्रिय एक्सपोजरदेखि क्रिकेटका स्टार खेलाडीहरुसित भिड्न पाउने नेपाली खेलाडीको सपना पनि पूरा हुने क्षण आएको छ । एसिसी प्रिमियर कपमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान पक्का गरेको थियो । एसिया कपको सहभागितालाई नेपालले अविष्मरणीय बनाउन हर तरहले प्रयास गर्नेछ । यसै पनि क्रिकेटलाई अनिश्चयको खेल भनिन्छ । नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै यो अवसरको सुरुआत गर्न सके सुनमा सुगन्ध हुने छ ।

पछिल्लो केही महिनायता नेपाली क्रिकेट टोली एकपछि अर्को ठूलो सफलता आत्मसात गर्दै अघि बढिरहेको छ । खासगरी विश्व क्रिकेटका अनुभवी प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा नेपाली खेलाडीहरुले मैदानमा जुन आत्मविश्वास र कौशल पेश गरिरहेका छन्, त्यो अभूतपूर्व छ । डिभिजन २ लिग जितेर विश्वकप छनोटमा स्थान बनाएको नेपालले एसिया कपमा स्थान बनाउन टिमका हरेक सदस्यले उत्कृष्ट योगदान गरे जस्तै भारत र पाकिस्तानसँगको खेलमा पनि उस्तै प्रदर्शनको कामना सिंगो देशले गरिरहेको हुनेछ । बलिङ, फिल्डिङ र ब्याटिङ तीनै क्षेत्रमा खेलाडीको लोभलाग्दो योगदान रहोस् भन्ने अर्को कामना पनि नेपालमा छ । यसलाई हाम्रा खेलाडीहरुले पूरा गरुन् ।

केही समयअघिसम्म नेपाली टोलीको मुख्य कमजोरी नै ब्याटिङमा थियो । तर, जब मोन्टी देशाईले टिम सम्हाले, अभूतपूर्व रुपमा सुधार आएको देखिन्छ । कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, करण केसी, दिपेन्द्रसिंह ऐरीदेखि बलरका रुपमा चिनिएका खेलाडीहरु समेतले ब्याटिङमा गरिहाई दिएका छन् । यसले नेपाली टोली झनै बलियो बन्दै गइरहेको छ । परेको बेलामा संकटमोचक भएर गुल्शन झा उदाएका छन् । यी खेलाडीहरुले विश्का ठूला शक्ति राष्ट्रका स्टार खेलाडीहरुसँग खेल्दा उनीहरुको कौशल र आत्मविश्वास झनै चुलिनेछ । त्यसैले पनि हाम्रो क्रिकेटको सफलता अभूतपूर्व स्वरुपमा अघि बढिरहेको छ ।

नेपाली क्रिकेटको यो सफलताको उचाई जोगाइराख्ने र अझै प्रगतितर्फ उन्मुख गराउने उपायको खोजी अहिलेको मुख्य आवश्यकता हो । खासगरी हाम्रा खेलाडीहरुलाई व्यस्त तालिकामा राख्ने, नियमित प्रशिक्षणदेखि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा पनि उत्तिकै व्यस्त तुल्याउने उपायको खोजी क्यानले गर्नुपर्छ । यसबाहेक पूर्वाधारको सहज उपलब्धता र खेलाडीहरुको सेवा सुविधामा पनि उत्तिकै ध्यान दिने वातावरण बनाउने दायित्व क्यानकै हो । सरकारले पनि क्रिकेट क्षेत्रको विकास र खेलाडीहरुको हौसलाका लागि यसअघि घोषणा गरेका पुरस्कार राशी प्रदान गर्ने, उनीहरुको आर्थिक भविष्यको सुरक्षाको ग्यारेन्टी गर्ने काम गर्नुपर्छ । क्यानमा हुने अनावश्यक राजनीतिक तिक्डम र त्यसको कारण क्रिकेट नै प्रभावित हुने अवस्था पनि आउनु हुँदैन । यी दीर्घकालीन योजनामा सरकार र क्यानले ध्यान दिनुपर्छ । तत्कालका लागि हाम्रा खेलाडी पाकिस्तान र भारतसँगको खेलमै केन्द्रीत हुन आवश्यक छ ।

बुधबार, १३ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर