गोकुल पराजुली
सितिमिति मानिसले धेरैबेर भोक खप्न सक्दैन । भोक लागेर भुँडी काउँकाउँ गरेपछि के खाउँ, कसो गरुँ, कता जाउँको सकसमा पर्छन् मानिसहरु । यो भोक केवल भोजनसँग मात्र सम्बन्धित हुँदैन । मानिसलाई अनेकथरी भोक जाग्छ । जुनसुकै प्रकारको भोक जागेपनि छटपटी पैदा गर्नु सबै भोकको समान लक्षण हुन् । नेपालीमा भोकसँग सम्बन्धित उखानहरु पनि प्रचलनमा छन् । ‘अघाएको भन्छ डाँडापारी खाउँ, भोको भन्छ डाँडावारी खाउँ’ । यो उखानबाटै प्रष्ट हुन्छ कि भोकाएकाहरु अहिले तत्कालै खान तम्सिन्छन् । धैर्यताको सीमामा ऊ रहन नसक्ने भइसकेको हुन्छ । त्यसैले तत्काल खानु वा उपभोग गर्ने तत्परताले जो कोही छटपटिनु स्वभाविक हो । भोकले काम गर्ने र सोच्ने क्षमतालाई पनि कमजोर गरिदिने हुँदो रहेछ । बालबालिकालाई लक्षित गरेर तयार गरिएको कार्टुन मुभी ‘मोटु पत्लु’मा मोटुको भूमिकालाई स्मरण गर्नुस् त ! ‘मोटु’ भोको पेट केही गर्न नसक्ने पात्रको रुपमा परिचित छन् । उसले ‘खाली पेट मेरा दिमागका बत्ती नहिं जलती’ भनेको हामी सबैले सुनेकै छौं । त्यसैले भोकले हरेकलाई समस्यामा पारिदिने गरेको छ । अझ भोकाएको बाघलाई नजिस्काउनु भनेर भोकले हरेकलाई हिंस्रक बनाउन सक्छ भन्ने सन्देश सुनेकै छौं ।
यहाँ भोकको प्रसङ्ग कोशी प्रदेशको सत्ता राजनीतिसँग जोड्न खोजिएको हो । अहिले कोशी प्रदेशमा राजनीतिक अन्यौल सिर्जना भएको छ । एक हिसाबले सरकारविहीनताको अवस्था छ । सरकार नामको थपना त छ तर त्यसमा प्राण छैन । सरकार छ तर सरकारसँग अधिकार छैन । यतिसम्म कि सरकारसँग बजेट खर्चगर्ने साधारण हैसियत पनि छैन ।
यो हालतको सरकार मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणामकै कारण बनेको भने होइन । निर्वाचनको नतिजाले तत्कालीन गठबन्धनलाई सहज सरकार चलाउने अनुमति दिएको थिएन । त्यसैले चुनावमा गठबन्धन गरेपनि सरकार बनाउँदा नयाँ ढंगले सोचेर चल्नु भन्ने जनमत थियो । दलहरुले त्यसै गरे । निर्वाचन पछि चार दल मिलेर कोशी प्रदेशमा सरकार बनाएका थिए र त्यो सहजरुपमा चलिरहेको थियो । संघीय राजनीतिमा आएको अनेक घटनाक्रमबाट केही समय कोशी प्रदेश जोगिएर बस्यो । तर, त्यो लामो समय जोगिन सकेन । केही राजनीतिक दलमा जागेको सत्ताको भोक र त्यसले उत्पन्न गराएको छटपटीले कोशी प्रदेशमा अस्थिरता सिर्जना गरिदियो । विशेष गरेर नेपाली कांग्रेसमा यस्तो भोक जाग्यो । निर्वाचन पछिको ६ महिनामा कांग्रेस निकै भोको देखियो । उसको भोक टार्न खोज्दा कोशी प्रदेशको राजनीति अस्थिर बन्यो । राजनीति अस्थिर बन्दा त्यसले विकासको गति लगायत चौतर्फि क्षेत्रलाई प्रभावित बनायो । कांग्रेसले सत्ता त प्राप्त ग¥यो तर सही ढंगले उपयोग गर्न जानेन, समकक्षी र विपक्षीहरुलाई विश्वासमा लिन सकेन । गठबन्धन बाहिरका दलहरुलाई विश्वासमा लिन सकेन । किनभने भोको पहिले आफू अघाउन चाहन्छ ।
भोक महात्म्य नामक निबन्धका निबन्धकार लवहरि ढुंगेल लेख्छन् ‘भोक’ शब्दमा ‘ओ’ प्रत्यय लागेपछि ‘भोको’ शब्दको निर्माण हुँदो रहेछ । भोको भनेको खाने कुरा नपाएको, भोकै रहेको, भोकको इच्छापूर्ति नभएको । भोक र भोगको लालसा जागेको । यस्तै यस्तै अरु पनि अर्थ रहेछ ।
के खाउँ ? के खाउँ ? हुनु पनि भोक । कुनै उत्कृष्ट वा आफू योग्य वस्तु वा व्यक्ति प्रतिको उत्कट अभिलाषा जाग्नु पनि भोक । अन्नको अभावमा भोकै मर्ने अवस्थाको कारक तत्व पनि भोक । कुनै वस्तु वा सुखदुःखका अवस्थाको भोग गर्नुका पछि पनि भोक । भोजन गर्ने, शासन गर्ने, आशन खोज्ने, बासन खोज्ने र राम्री रोज्नुकापछि पनि भोक ।
भोकले के सम्म गर्दोरहेनछ भनेर कोशी प्रदेशलाई हेरे पुग्छ । सत्ताको भोकले बजेट ल्याउने बेलाको सरकारलाई काम गर्न नसक्ने गरी कमजोर बनाइदियो । संविधान र कानुनमा भएपनि नभएपनि सरकारले कुनै त्यान्द्रो समातेर ल्याएको बजेट सम्बन्धी अध्यादेशहरु सत्ता भोककै कारण निस्क्रिय बन्न पुग्यो । भोककै कारण मुद्दा र मामिलाको झमेला सिर्जना भयो । सरकार छ पनि छैन पनि को अवस्था बन्यो ।
सरकार ढालेपछि बनाउन सकस छ भन्ने ज्ञान कांग्रेसमा नभएको होइन । तर भोको पेटले उसको दिमागमा बत्ती बाल्न सकेन । सुझावकर्ताहरुले आजको जटिलताका बारेमा त्यतिबेलै नसुझाएका होइनन् तर भोक लागेको बेला पुराण सुन्ने फुर्सद कसलाई हुन्छ र ! कांग्रेसमा पनि त्यो फुर्सद भएन । मस्तिष्कले सोच्न पनि पेट सञ्चो हुनु पर्ने रहेछ । भोकले पेट गुड्गुडाएको बेला अर्ती र सुझावहरु तर्फ भन्दा भोजनतर्फ बढी ध्यान जानु स्वभाविक भयो होला । त्यसैले अहिले जे जटिलता यो प्रदेशको राजनीतिले भोग्नु परेको छ त्यो समयमा ध्यान नदिनुको परिणाम हो । सत्ताभोकले जन्माएको परिणती हो । गठबन्धनका दुईटा दल सरकारमा बस्ने अनि दुईटा सत्ता बाहिर बस्नु पर्ने भन्ने इस्र्याले जन्माइदिएको परिणाम पनि हो ।