अतिवाद त्यागौं

 सम्पादकीय

सुनसरीको धरानमा जे–जसरी धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्ने खाँचो छ । शनिबार धरानबासीदेखि हिन्दूवादी संघसंस्थाहरुले देखाएको संयम्ले सम्भावित दुर्घटना टरेको छ । यस्तै संयम सदाका लागि जरुरी छ । यद्यपि दुर्घटना टरेको मात्रै हो, हटेको होइन । भोलि जुनसुकै बेला यस्तो दुर्घटना निम्तिन सक्छ । यसर्थ धरानको नागरिक समाज, राजनीतिक दल, धार्मिक संघ–संस्था सबैले हरदम चनाखो र सजग रहन जरुरी छ । पर्याप्त सजगता देखाएर शनिबारको ‘सम्भावित दुर्घटना’ टारेको प्रहरी–प्रशासनले पनि यसबारे सदैव सचेत रहनुपर्ने खाँचो छ । धरानबासी नागरिकलाई जात वा धर्मका नाममा आपसमा भिडाउने घृणित योजना पूरा हुन दिइनु हुँदैन । जात वा धर्मका नाममा हुने झडप र तनावले बर्बादी सिवाय केही नहुने तथ्यबारे नेपाली समाज राम्रोसँग जानकार छ ।

धरानमा निषेधाज्ञा नै लगाउनु पर्ने अवस्था आउनु आफैमा दुःखद् थियो । यो अवस्था निम्त्याउने कामे हिन्दूवादी संघसंस्थाले शनिबार गर्ने भनेको ‘धार्मिक र्याली’ थियो । जसका लागि झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट सहभागीहरु आउने प्रचार गरिएको थियो । केही दिन अघि मात्रै धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडियो सामाजिक सन्जालबाट बाहिरिएपछि सन्जालमै त्यसकाविरुद्ध कडा प्रतिक्रिया प्रकट भएको थियो । ‘गौरक्षा’ को वकालत गर्दै आएका हिन्दूवादी संघ–संस्थाहरुले प्रदर्शन गर्ने तय भएको थियो । धरानमा त्यस्तो प्रदर्शन भए प्रतिकार गर्ने चेतावनी पनि सामाजिक सन्जालबाटै प्रकट भइरहेको थियो । यस्तो अवस्थाबीच आयोजना हुने ‘धार्मिक र्याली’ ले दुर्घटना निम्त्याउने जोखिम आंकलन गरेर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो ।

इतिहासदेखि वर्तमानसम्मको प्रमाणहरुले भन्छन्, धार्मिक, सामाजिक सद्भाव र सहिष्णुता नेपाली समाजको मौलिक चरित्र हो । यसलाई खलबल्याउने प्रयास गर्नेहरू कानुनका मात्र होइन समाजका पनि शत्रु हुन् । यसैले अहिले राज्य, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिका साथै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामा पनि गम्भीर संवेदनशीलता अत्यावश्यक देखिएको छ । धार्मिक आस्था व्यक्तिको नितान्त निजी विषय हो । यसलाई राजनीतिक रंग दिने प्रयास धरानमा जारी छ । शनिबार इटहरी क्षेत्रमा भएको प्रदर्शनमा गणतन्त्र विरोधी नारा घन्केको दृश्यले पनि कसले कुन उद्देश्यबाट धमिलो पानीमा माछा मार्न खोज्दैछ भन्ने बुझिन्छ । यसर्थ अवस्थालाई गम्भीरतापूर्वक ग्रहण गर्न ढिला नगरौं ।

धरानमा गोरुको मासु खाएको भनिएको भिडियो सार्वजनिक गर्नेहरुले सामाजिक सद्भावमा सहयोग पुर्याएनन् । त्यो अतिवादी कदम थियो । तर, एउटा अतिवादको उपचार अर्को अतिवादबाट खोज्नु हुँदैन । अहिले धरानमा धार्मिक जुलुस प्रदर्शन गर्नु, उग्र प्रतिक्रिया व्यक्त गर्नु अतिवादलाई उक्साउनु हो । यसले अन्ततः दुर्घटना निम्त्याउन सक्छ । बरु संवादमार्फत समाजलाई शान्तिपूर्ण सन्देश प्रवाह गर्न सकिन्छ । संसारको भलो चाहनु संसारको जुनसुकै धर्मको मुख्य ध्येय हो । यही ध्येय अनुसार धार्मिक संस्थाहरु, व्यक्तिहरु तथा स्थानीयबासी पेश हुन जरुरी छ । अन्यथा उत्तेजना र आवेगले निम्त्याउने परिणाम सबैका लागि खतरनाक सावित हुनेछ ।

आइतबार, १० भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर