दास प्रवृत्तिले निम्त्याएको कष्ट

  मणि दाहाल

प्रचलित मूल्य मान्यता र संस्कारले मानवीय प्रवृत्तिको विकास गर्छ । परिवेश प्रवृत्तिको आधार हो । परिवेश प्रवृत्तिले मानिसलाई आंशिक वा पूर्ण रुपमा सत्कर्म या दुष्कर्मतिर अभिप्रेरित गर्छ । यो समाज विकासको चरण अन्तरगतको एउटा पाटो हो र यसलाई स्वीकारेर मात्र थप अगाडि बढ्न सकिन्छ । चाहे राजनीति होस् वा कुनै पनि क्षेत्रको सफलता असफलता मानवीय प्रवृत्तिका आधारहरु हुन् । राज्य व्यवस्था अथवा शासन प्रणाली र त्यससँग सम्बन्धित राजनीतिक अभियानमा मानवीय प्रवृत्तिको अहम् महत्व रहन्छ ।

राजनीतिक हिसाबमा अनेकौं चरणहरुको पार गर्दै आज हामी लोकतान्त्रिक चरणको युगमा छौं । लोकतन्त्र सबैले जप्ने गायत्री मन्त्र जस्तै बनेको छ । विधि विधानका क्षेत्रगत आधारहरुमा लोकतन्त्रान्त्रिक शब्दहरुको खेती भरिपूर्ण छ । अर्थात लोकतन्त्र मानवीय जीवनशैलीको आधार बनेको छ । तर, हाम्रा रहनसहन र व्यवहारहरु के साँचै लोकतान्त्रिक छन् त ? आचरणका व्यवहारहरुलाई त्यसको साँचोमा ढाल्न सकेका छौ त ? सिद्धान्त र व्यवहारबीचको सन्तुलन छ त ? यस्ता कैयौं अनुत्तरित सवालहरुले हाम्रो राजनीतिक गतिको दिशानिर्देश गरिरहेको छ ।

हामी सामन्तवादी सामाजीक संरचनाबाट दिक्षित प्राणी हौं । हामी गर्भमै ठालु संस्कृति बोकेर आयौं । मालिकवाद र भक्तिवाद हाम्रो विशेषता बन्यो । असल र इमान्दार हैन संभ्रान्तशाली मात्र ठूला हुन् भन्ने मानसिकताको विकास गरायो । ठुलाबडाजति सबै असल र तिनको कार्यलाई निन्दा गर्नु हँुदैन भन्ने मनुवादी मनोविज्ञान प्रभावबाट हामी मुक्त हुन सकेनौं । हाम्रा धार्मिक कानुनहरु सोही आधारमा बने । चाकरी नगरी फल प्राप्ती हुँदैन भन्ने कुरा धर्मले सिकायो । धार्मिक जडता अझै कायम छ । अनि मानसिक बिकार र धार्मिक जडताको अवशेषभित्र हाम्रो राजनीति रुमलिँदै आएको छ ।

मानसिक बिकार लोकतन्त्रको बिकृत रुप हो । हामी आवरणमा जतिसुकै गतिशील र प्रगतिशील बने पनि सामन्तवादी तुष सोही अनुसारको व्यवहारबाट रुपान्तरित हुन सकेका छैनौं । राजनीतिक रुपमा हामीले सामाजिक र साँस्कृतिक क्रान्तिका ठूला ठूला कुरा मात्र ग¥यौं । तर सामाजीक र साँस्कृतिक क्रान्ति मार्फत आम क्षेत्रको रुपान्तरण गरेर समाजलाई रुपान्तरित गर्न सकेनौं । परिणमस्वरुप हामी आज पनि रैती र मालिकको दूरीमा छौं । राजनीति त्यसको आधारमा चलायमान छ । हामी लोकतान्त्रिक राज्यको उज्जवल प्रकाशबाट बञ्चित बनि नै रहेका छौं ।
राजनीतिक दल र राजनेताहरुलाई सत्तोसराप गर्नु हाम्रो विशेषता बनेको छ । आग्रहको आधारमा ताली र पूर्वाग्रहको आधारमा गाली हाम्रो दैनिकी बनेको छ । गुण र दोषको आधारमा टिप्पवणी गर्ने बानीमा अभ्यस्त बन्न सकेका छैनौं । हामी आफू गलतको आहालमा डुबेर असल पक्षको विरोध गर्छौं । गलत पक्षलाई जयकार गर्छौं । हाम्रो चेतनाले ठीक बेठीकको पनि विश्लेषण गर्दैन । हाम्रो नजरले कि ठीक मात्र देख्छ या बेठीक मात्र । जब आमजनताको मानसिकता नै यस अवस्थामा गुज्रिएपछि हाम्रै परिवेशमा विकशित राजनीति कस्तो हुन्छ ? अनि राजनीतिज्ञ पनि हाम्रै समाजको उपज हो । ऊ व्यक्तिवादी नभएर के हुन्छ ? त्यसकारण आज लोकतन्त्र स्वार्थ सिद्धिको माध्यम मात्र बनेको छ ।

हामी व्यक्तिवादी आशाका पुलिन्दामा विश्वस्त प्राणी हौं । सर्वप्रथ हामीले आफूलाई नै सामुहिकताको साँचोमा ढाल्न सकिरहेका छैनौं । व्यक्तिगत आशा र भरोसाहरु हाम्रा राजनीतिक जीवनका आधार बनेका छन् । सादा जीवन, उच्च विचार र कठोर संघर्षका पक्षपातीहरु सामाजिक अपमानको सिकार बनेका छन् । अपराधपूर्ण व्यवहार र संरक्षण राजनीतिक दलको मूल आधार भएको छ । हामी अपराधीको स्वागत र जयकारमा छांै । इमानी शिक्षक हाम्रो नजरमा पर्दैन । तर बेइमानी कर्मचारी सामाजिक सम्मानको पात्र बन्छ । नाता सम्बन्ध जोड्नेको हारालुछ चल्छ । हाम्रो यही चेतनाले गर्दा हाम्रो राजनीतिले इमानलाई स्वीकार गर्न सकेन । हामी बेइमान साधुको सिकार बनेका छौं ।
कल्याणकारी शासन प्रणलीमा जनता मालिक हुन्छन् । प्रतिनिधि सेवक हुन्छन् । जनताको मर्म सेवाको आधार बन्छ । जनजीविका अनुरुपको आचरण हुन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा राजकीय सुनिश्चितता हुन्छ । आधारभूत सवालका नीति नियमहरु जनमैत्री हुन्छन् । नीति नियमहरु आम जनताबीचको छलफल र निचोडको आधारमा बन्छन् । राजनीति सेवा बन्छ । राजनीतिज्ञ अनुकरणीय हुन्छ । नैतीकपूर्ण जीवनशैली राजनीतिको आधार हुन्छ । तर, के हामीले लोकतन्त्रलाई आधारभूत साँचोमा ढाल्न सकेका छौं ? हाम्रा जनप्रतिनिधि सेवक बनेका छन् ? हामीले सेवक वा शासक चुनेका हौँ ? यस तर्फ हाम्रो दृष्टि खै ?

लोकतन्त्र विकृत हुनुमा नेता तथा कार्यकर्ता मात्र जिम्मेवार छैनन् । त्यसको कारक हामी पनि हौं । हामीले उन्नत जीवनका आधार र त्यस अनुरुपमा नीति मागेनौं । व्यक्तिगत आकांक्षाको परिपूर्णता हाम्रो नियती बन्यो । यिनै आधारमा हाम्रा नेताहरु चुनिए । चुनिएका नेतालाई समग्रतामा ढाल्न सकेनांै । हाम्रै कारणले नेता एकाग्र र एकांगी बन्यो । एकाग्रताले मालिक बन्यो । स्वार्थले पथभ्रष्ट भयो । उसले राजनीतिलाई सोही परिवेशमा अवतरित गरायो । निहित स्वार्थ मिल्दासम्म हामी चुँसम्म बोल्नु आवश्यक देख्दैनौं । जब स्वार्थमा दरार पैदा हुन्छ अनि हामी धारेहात लगाएर सराप्छौं । अनि यसो भएपछि सुधार हुने चैं कसरी हो त ? हामीले आफूतिर नहेर्ने ?

सिद्धान्त र व्यवहारबीचको असन्तुलन हाम्रो मानसिकताको उपज हो । लाभमा मात्र खुसी हुने हाम्रो चेतनाले सम्मानको नाममा चाकरी बजायो । हामी संस्थागत हुन सकेनौं । मालिकवादले हामी दाशताको पन्जा मुक्त बन्न सकेनांै । निरपेक्ष झोलेवादले हामी अन्धा भयौँ । हाम्रो अन्धोपन समाज विकासको बाधक बन्यो । हामी पछैटेपनको सामना गरिरहेकै छौं । यसरी जब हामी नै यस्तो अवस्थामा गुज्रिएपछि मन्त्री, नेता र हाकिम कसरी सुध्रन्छ ? जनमैत्री नीति कसरी बन्छ ? जनमैत्री प्रशासक कसरी जन्मन्छ ? भ्रष्टचार नभएर के हुन्छ ? अनि सम्वृृद्धि, सुशासन र समाजवादका हाम्रा स्वप्नाहरु बतासे नबनेर के बन्छन् ? अनैतिकताको राज नभएर कसको हुन्छ ? हावाको दैडिरहने वा चेत खुल्ने हाम्रै हातमा छ । गालीले मात्र समाधान निस्कँदैन । सबैलाई चेतना भया !

बिहिबार, ०७ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर