अथ मसाने राजनीति

 अनन्तराज न्यौपाने

यस लेखकले हरेक पार्टी, तिनका भ्रातृ र भगिनी संगठन र विभिन्न एनजिओ अनि सामाजिक संघसंस्थाका वडा समितिदेखि टोल समितिसम्मका राजनीतिलाई नजिकबाट हेर्ने र नियाल्ने अवसर पाएको छ । कुनै बेला राजनीतिमा संलग्न हुँदा यस्ता कमिटी बनाउन आफैँ जानुपथ्र्यो । त्यस क्रममा कार्यसमितिमा पर्न एउटा अयोग्य र अलोकप्रिय व्यक्ति अनेकन् तिकडम लगाउँथ्यो । अनि कार्यसमितिको नेतृत्व गरिरहेको व्यक्ति चाहिँ त्यही पदमा टिकिरहन न्वारानदेखिको बल प्रयोग गथ्र्यो । मान्छेलाई पैसा, जग्गाजमिन, गहना र सुनचाँदीको मात्र लोभ हुँदैन । पदप्रतिष्ठाको प्राप्तिका लागि पनि उत्तिकै लुब्ध हुन्छ मान्छे । तलबभत्ता नभएको सानोभन्दा सानो तहको संस्थामा पनि पुग्न वा टाँस्सिइरहन लालायित हुन्छ मान्छे । हालै मात्र मारवाडी सेवा समितिले विराटनगरको परम विश्रान्ति स्थलको श्मशानघाट सुव्यवस्थापन समितिमा गरेको फोहरी खेलले माथिको कुरालाई एक पटक फेरि पुष्टि गरेको छ ।

विराटनगरवासी अधिकांशलाई थाहा छ, ११ वर्षअघि यस सुव्यवस्थापन समितिको अध्यक्षमा विराटनगरका समाजसेवी बेनीगोपाल मुन्दडा आए । मुन्दडा आएपछि घाटको कायाकल्प सुरु भयो । मुन्दडाको नेतृत्वको कार्यसमिति आउनुपूर्व घाटको अवस्था दयनीय र उजाड थियो । यही उजाड र भग्नावशेषजस्तो श्मशानघाटलाई मुन्दडाको नेतृत्वले हराभरा बनाइदियो । त्यहाँ वृक्षरोपणको लहर नै चल्यो । देशका जानेमाने प्रतिष्ठित व्यक्तिहरू यहाँ आएर वृक्षरोपण गरे । मुन्दडाले त्यहाँ पूर्वाधारनिर्माणका प्रशस्त कामहरू गरे । शववाहनको व्यवस्था गराए । सबैतिर सफासुग्घर बनाए । परम विश्रान्तिस्थल अहिले अन्तिम संस्कारको मात्र होइन, आन्तरिक पर्यटनको केन्द्र पनि भएको छ । त्यहाँ टिकटक बनाउन, फोटोग्राफी गर्न र सेल्फी खिच्न जानेको भिड बढेको छ ।

यता विराटनगरका पदलोलुप मारवाडीले मुन्दडाको यो कार्यशैली र कार्यक्षमतालाई देखी सहेनन् । उनीहरू भित्रभित्रै मुर्मुरिएका रहेछन् । ईष्र्या र द्वेषमा बलिरहेका रहेछन् । कुन बेला समितिको अध्यक्ष पदबाट मुन्दडालाई बलात् हटाऊँ र हाम्रो आत्मालाई चिर शान्ति दिऊँ भन्ने षडयन्त्र गरिरहेका रहेछन् । मारवाडी सेवा समितिजस्तो पवित्र र सेवामुखी संस्था अहिले यस्तै दुष्कर्ममा लीन देखियो । समाजका लागि सिन्को नभाँचेका गोविन्द झुनझुनवाला नामका एक पदलोलुप त्यहाँ अध्यक्ष छन् । उनको नेतृत्वको कार्यसमितिले मुन्दडा र उनको नेतृत्वको कार्यसमितिलाई कू गरेर हटाएको छ । र, त्यहाँ मोहनलाल शर्मालाई अध्यक्ष बनाएर नयाँ कार्यसमितिको निर्माण गरिएको छ ।

यहाँनिर अचम्म के छ भने मुन्दडाजी आफैँ त्यस समितिबाट मलाई हटाइदिनूस् भनेर मारवाडी सेवा समितिलाई अनेकौँ पटक गुहार गरिरहेका थिए । तर सेवा समितिले अलिकति पनि मानवीय र सभ्य व्यवहार देखाएन । जबकि मारवाडीहरू भनेका संसारभरि नै मानवता, उच्च संस्कार, सभ्यता र शालीनताका लागि विख्यात छन् । तर विराटनगरको मारवाडी सेवा समितिले भने मानवता होइन दानवताको प्रदर्शन ग¥यो, संस्कार होइन कुसंस्कार बसाल्न खोज्यो र शालीनता होइन दुष्टता रोज्यो । सभ्यताका ठाउँमा षडयन्त्रलाई प्रवेश दियो । नेतृत्वमा देशदुनियाँ नबुझेको, असामाजिक चरित्रको र एकलकाँटे स्वभाव भएको व्यक्ति पुगेपछि योभन्दा बढी आसा गर्नु पनि व्यर्थ नै थियो ।

समितिले इज्जतदार काम गर्न सक्थ्यो । यसका लागि समितिले बेनीजीलाई बैठकमा बोलाउनु पथ्र्यो र यसो भन्नुपथ्र्यो– ‘हामी तपाईंलाई ससम्मान अध्यक्ष पदबाट फुर्सद दिँदैछौँ । तपाईंको योगदान सर्वत्र प्रशंसित छ । तपाईंले एक दशकभन्दा बढी यही पदमा आफ्नो क्रियाशीलता देखाइसक्नुभयो । अब कसलाई अध्यक्ष बनाऊँ, कस्तो कार्य समिति बनाऊँ तपाईं नै सल्लाह दिनुहोस् ।’

मारवाडी सेवा समितिले बेनीजीलाई यस्तो अनुरोध गरेर उनको समेत सल्लाहमा कार्यसमितिको निर्माण गरेको भए एउटा उच्च परम्परा र सभ्य समाजको प्रतिनिधित्व हुने थियो । पछि पदस्थापन समारोहमा बेनीजीलाई ससम्मान विदा गरेको भए एउटा असल परिपाटी बस्ने थियो । तर यहाँ त द्वेष र षडयन्त्रबाहेक केही देखिएन । यसरी अध्यक्ष बनेका मोहनलाल शर्मालाई हेरेर कसैको चित्त प्रसन्न हुँदैन । यस घटनाले शर्माको प्रतिष्ठा समाजमा स्वात्तै घटेको छ भने मुन्दडाको ग्राफ माथि उक्लेको छ ।

अँ, मुन्दडाले गरेको एउटा कामले श्मशानघाटको समितिमा बस्न चाहने मारवाडी समुदायका व्यक्तिका बिच हानथाप र रस्साकस्सी धेरै भएको रे । मुन्दडाले समितिका लागि एक करोड रुपैयाँभन्दा बढीको अक्षय कोषको स्थापना गरेका रहेछन् । सबैको आँखा यही धनमा परेको रहेछ । भनिन्छ; कलियुगमा पैसाका लागि मान्छेले आमाबाबु, स्वास्नी, छोराछोरी, भाइबहिनी, काकाभतिजा सबैलाई मार्नसक्छ रे । अनि नातै नलाग्ने एउटा बेनीगोपाललाई पदबाट खसाल्न त कुन ठुलो कुरा भयो र ? यसरी बेनीलाई कू गरेर मसानघाटको कार्यसमितिमा जानेहरू पदलोलुप मात्र होइन अर्थलोलुप पनि देखिए । तर यस प्रकरणले बेनीको कद घटेको छैन । पद कट्यो होला कद घटेन । उनको इज्जत र प्रतिष्ठा अझ बढेको छ । उनीमाथि सहानुभूति थपिएको छ ।

बुधबार, ०६ भदौ, २०८०

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर