सम्पादकीय
दुई वर्षअघि विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कहर व्यहोरेको हामी सबैको स्मृतिमा ताजै छ । महामारीको समयमा अपनाउनु पर्ने सुरक्षाका उपाय र गर्नुपर्ने तयारी र आवश्यक पर्ने भौतिक संरचनाहरुको महत्वलाई नेपालले पहिलो पटक त्यसैवेला गम्भीरतापूर्वक सोचेको थियो । त्यसअघि पनि साना ठूला महामारी आउँथे तर ठूलो असर नगर्दा सरकारहरुले भोलिका दिनमा पनि त्यस प्रकारको महामारी आउन सक्छ भन्ने दूर दृष्टि राख्न नसक्दा कोरोना कहरलाई व्यवस्थापन गर्न निकै हम्मे परेको थियो । व्यवस्थापनका क्रममा सरकारले थुप्रै संरचनाहरु निर्माण गरेको थियो । स्वास्थ्य उपकरणमा ठूलो रकम खर्च गरेको थियो । पूर्वाधारको क्षेत्रमा पनि उतिकै लगानी गरेको थियो ।
कोरोना महामारी विस्तारै न्यून हुँदै गएको छ । अहिले विश्वव्यापीरुपमा त्यसले ठूलो असर देखाएको छैन तर उन्मुलन पनि भएको छैन । एउटा ठूलो महामारी झेलेको छोटो समयमै नेपालमा छिटपुटरुपमा थरीथरीका संक्रमणहरु देखा परेको छ । यसले कुनै पनि बेला कुनै पनि प्रकारको महामारी आइपर्न सक्छ भन्ने संकेत गरिरहेको छ ।
गाईवस्तुमा फैलिएको लम्पीस्किन होस् वा कोशी प्रदेशको धरानमा फैलिएको डेंगी महामारी किन नहोस् यसले सम्भावित ठूला महामारीहरुकै संकेत गरेको अर्थमा बुझ्नु आवश्यक छ । यस्तो महामारीको बेलामा रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले बनाएका संरचनाहरुको पूर्ण सदुपयोग गर्न आवश्यक छ ।
सरकारले अरबौं रुपैयाँ खर्च गरेर प्रमुख सीमा नाकाहरुमा होल्डिङ सेन्टरहरु निर्माण गरेको छ । तर ती सबै अहिले उपयोगविहीन छन् । संक्रमण फैलिसकेपछि रोकथामको प्रयत्न गर्दा मात्र त्यस्ता संरचनाको उपयोग गर्ने होइन । होल्डिङ सेन्टरलाई १२ महिना नै सञ्चालन गरी बाह्य मुलुकबाट आउने यात्रुहरुलाई दुई चार घण्टा भएपनि राखेर स्वास्थ्य परीक्षण गर्ने थिति बसाउने हो भने अनेकन संक्रमणबाट मुलुकलाई जोगाउन सकिन्छ ।
यस्तै महामारीको समयमा विरामीलाई छुट्टै राखेर उपचार गर्ने अस्पताल पनि सरकारले बनाएको छ । महामारी न्यून हुँदै गएपछि त्यस्ता अस्पतालहरु बन्द गरिए । करोडौंका आधुनिक उपकरणहरु जडान गरिएका अस्पताल बन्द गरेर पुरानै ढर्रामा अस्पतालहरुले उपचार गर्नुपर्ने अवस्था सरकारले बनाउन हुँदैन । महामारी नहुँदा त्यस्ता अस्पतालबाट आम नागरिकलाई दिन सकिनेजति सेवाहरु दिने तर्फ सरकारले ध्यान दिनुपर्छ ।
आइतबार मात्र विराटनगरमा रहेको संक्रामक रोग उपचार केन्द्र उद्घाटन गरिएको छ । यो सकारात्मक कदम हो । यो अस्पताल कोभिड घटेपनि बन्द गरिनु हुँदैनथ्यो । भिन्न रुपमा भएका स्वास्थ्य उपकरण र संरचनाको सदुपयोग गरिनु पथ्र्यो । तर त्यसो नगरी अस्पताल बन्द गरियो । अहिले डेंगी उपचारका लागि उक्त अस्पताल सञ्चालनमा ल्याइएको छ । अब यसलाई बन्द गरिनु हुन्न । यस्ता संरचनालाई निरन्तर सञ्चालन गर्दा कुनै महामारी आइपरेमा नियमित रुपमा विरामीको उपचार गर्ने वातावरण बन्ने छ र नागरिकको जीवन रक्षा गर्न त्यसले महत्वपूर्ण भूमिका खेल्ने छ । अस्पताल बन्द राख्दा पुनः सञ्चालनका लागि करोडौं खर्च गर्नुपर्ने अवस्था आउन नदिन सरकार सचेत रहनुपर्छ ।