सरकारी अस्पतालको दुरावस्था, आइसियु बेड अभावमा लुटिन्छन् विरामी

कोशी अस्पतालमा आइसियु पाउन मुश्किल भएका बेला नजिकैको सरुवा रोग अस्पतालमा भने १८ भेन्टिलेटर, ४७ एचडीयुसहित २१ वटा आइसियु बेड प्रयोगविहीन अवस्थामा छन् ।

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका – ७ की ७८ वर्षीया भीमकुमारी श्रेष्ठ लामो समयदेखि मुटुको विरामी हुन् । अघिल्लो बिहीबार स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले विराटनगरस्थित मोरङ सहकारी अस्पताल ल्याइपुर्याए ।

अस्पतालका फिजिसियन डा. दिपक सिग्देलले स्वास्थ्य परीक्षणपछि तत्काल आइसियुमा राखेर उपचार गर्नु पर्ने बताए । परिवारका सदस्यले उनलाई कोशी अस्पतालतिर दौडाए । त्यसको कारण थियो, सरकारी अस्पतालमा कम खर्चमा हुने उपचारको आशा । तर, उनीहरु अस्पताल पुग्दा १२ शैय्याको आइसियु विरामीले भरिभराउ थियो । शैय्या नभेटेपछि छोरा विशालले आमालाई नोबेल मेडिकल कलेज लगे । त्यहाँ उनले चर्को शुल्क तिरेर आमाको उपचार गराउनु पर्यो ।

कोशीको आइसियूमा राखेर उपचार गर्न पाएको भए उनलाई दिनको एक हजार रुपैयाँले पुग्ने थियो । तर, विशालले नोबेलमा दिनको १० देखि १५ हजार रुपैयाँ तिरेर विरामीको उपचार गर्न बाध्य भए । ‘ऋण लिएर आमाको उपचार गरँे । एक हप्ता राख्दा झण्डै एक लाख रुपैयाँ सकियो । कोशीमा उपचार गर्न पाएको धेरै सस्तो हुने रहेछ, ’ उनले भने, ‘कोशीमा आइसियु पाउनु भनेको युद्ध जितेजस्तो रहेछ । अस्पताल प्रशासनसँग धेरै अनुरोध गर्यौं । तर, पाउन सकिएन । त्यसपछि बाध्य भएर निजी अस्पताल लैजानुपर्यो ।’

कोशी अस्पतालमा आइसियु शैय्या अभावले पिरोलिने श्रेष्ठ परिवार एक्लो होइन । साढे ३ सय शैय्याको कोशीमा १२ वेडको मात्र आइसियु छ । जनरल बेडको तुलनामा कोशीमा आइसियु बेड संख्या जम्मा ४ प्रतिशत मात्रै हो ।कोशीमा बेड नपाएकै कारण आइसियु खोज्दै निजी अस्पताल जानेको संख्या दैनिक ८ देखि १० जनासम्म हुने गरेको छ । कतिपय विरामीले त आइसियुमा उपचार नपाएर आकस्मिक कक्षमा मृत्युवरण समेत गरेका घटना पनि छन् ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी ूस्वास्थ्य प्रतिष्ठान पनि हो कोशी अस्पताल । यही अस्पतालमा भने आइसियुमा विरामी राख्ने ठाउँ नपाएर चर्को शुल्क तिरेर निजीमा उपचार गर्न निमुखा विरामी बाध्य छन् । कोशी अस्पतालदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रमा १८ वटा भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु भने यो बेला प्रयोगविहीन अवस्थामो छ ।

कोरोना महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएका मध्ये सघन उपचार केन्द्रमा रहेका १८ भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु प्रयोगविहीन बनेका हुन् । कोभिड संक्रमण उच्च रहेका वेला ‘क्रिटिकल केयर’का लागि प्रदेश सरकार माहतह रहेको यो अस्पतालमा भेन्टिलेटरसहितको आइसियू पठाइएको थियो ।

कोभिडका बिरामी घट्दै गएपछि यसको उचित प्रयोग नगर्दा भेन्टिलेटरसहितको आइसियू र एचडीयु प्रयोगविहीन बनेको हो । कोरोना महामारीको बेला विराटनगर–१० नेशनल ट्रेडिङको जग्गामा निर्माण गरिएको यो अस्पतालको सुरुमा कोसी कोभिड–१९ उपचार केन्द्र नामकरण गरिएको थियो । कोभिड घट्दै गएपछि मन्त्रीपरिषदको बैठकले संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा विकास गर्ने योजना बनाएर अगाडि लैजाने योजना बनायो । त्यसअनुसार नाम परिवर्तन भयो तर, स्वास्थ्य उपचार सेवामा फड्को मार्न सकेन ।

नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनिएको अस्पतालमा सामान्य उपचारबाहेक अन्य सेवा भने सञ्चालन हुन सकेको छैन । कोरोना महामारीको बेला निजी अस्पतालहरुले विरामी लिन नमानेको अवस्थामा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।

२०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा २०७७ वैशाख ५ गतेदेखि कोरोना संक्रमित बिरामीको उपचार गरिएको थियो । कोभिडको समयमा प्रभावकारी रहेको अस्पताललाई नागरिक समाजसमेतको सहकार्यमा विस्तार गरेर १६० शैय्याको बनाइएको थियो । अस्पतालमा अहिले १८ भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु तयारी अवस्थामा रहेको छ ।

स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण अस्पतालमा थप संरचना निर्माण गरेको थियो । तर, अस्पतालका एचडीयु र आइसीयुसहित उपकरणहरू अहिले प्रयोगमा छैनन् । संक्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रुपमा सञ्चालन नहुँदा त्यहाँ रहेका सामानहरू बिग्रने स्थितिमा छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कोभिड उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालको रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस अनुसार अस्पतालको संरचना विकास हुन सकेको छैन ।

करारमा रहेका कर्मचारीहरूको रेखदेखमा रहेको अस्पतालमा बेलामौका आफूहरूले सरसफाइ गर्ने रेखदेख गर्ने गरेको एक कर्मचारीले बताए । २०७९ असोज ३ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोसी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गर्दै अस्पतालमा ओपिडी सेवा सुरू गर्ने बताएको थियो । तर, अहिले सामान्य सेवा मात्र सुचारु भएका छन् । मेडिकल अधिकृतको नेतृत्वमा ओपीडि सेवा सुचारु रहेको छ । मेडिकल अधिकृतको १० जनाको दरबन्दी भएपनि ६ जना रहेका छन् । ६ मध्ये पनि ४ जना प्रदेश १ स्वास्थ्य मन्त्रालय अन्र्तगतको जिल्ला अस्पतालमा कार्यरत रहेका छन् भने यहाँ अहिले दुई मात्र मेडिकल अधिकृत कार्यरत रहेका छन् । स्टाफ नर्स १८ जनाको दरबन्दी भएपनि १३ जना छन् । १३ जनामा पनि ४ जना कोशी अस्पतालमा र यहाँ ९ जना कार्यरत छन् । उनीहरुले ओपीडि सेवा दिदै आएका छन् । यहाँ दैनिक २० देखि २५ जना विरामी ओपीडमा आउने गरेका छन् । अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ ।

शुक्रबार, ०१ भदौ, २०८०, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर