विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका – ७ की ७८ वर्षीया भीमकुमारी श्रेष्ठ लामो समयदेखि मुटुको विरामी हुन् । अघिल्लो बिहीबार स्वास्थ्यमा समस्या आएपछि उनलाई परिवारले विराटनगरस्थित मोरङ सहकारी अस्पताल ल्याइपुर्याए ।
अस्पतालका फिजिसियन डा. दिपक सिग्देलले स्वास्थ्य परीक्षणपछि तत्काल आइसियुमा राखेर उपचार गर्नु पर्ने बताए । परिवारका सदस्यले उनलाई कोशी अस्पतालतिर दौडाए । त्यसको कारण थियो, सरकारी अस्पतालमा कम खर्चमा हुने उपचारको आशा । तर, उनीहरु अस्पताल पुग्दा १२ शैय्याको आइसियु विरामीले भरिभराउ थियो । शैय्या नभेटेपछि छोरा विशालले आमालाई नोबेल मेडिकल कलेज लगे । त्यहाँ उनले चर्को शुल्क तिरेर आमाको उपचार गराउनु पर्यो ।
कोशीको आइसियूमा राखेर उपचार गर्न पाएको भए उनलाई दिनको एक हजार रुपैयाँले पुग्ने थियो । तर, विशालले नोबेलमा दिनको १० देखि १५ हजार रुपैयाँ तिरेर विरामीको उपचार गर्न बाध्य भए । ‘ऋण लिएर आमाको उपचार गरँे । एक हप्ता राख्दा झण्डै एक लाख रुपैयाँ सकियो । कोशीमा उपचार गर्न पाएको धेरै सस्तो हुने रहेछ, ’ उनले भने, ‘कोशीमा आइसियु पाउनु भनेको युद्ध जितेजस्तो रहेछ । अस्पताल प्रशासनसँग धेरै अनुरोध गर्यौं । तर, पाउन सकिएन । त्यसपछि बाध्य भएर निजी अस्पताल लैजानुपर्यो ।’
कोशी अस्पतालमा आइसियु शैय्या अभावले पिरोलिने श्रेष्ठ परिवार एक्लो होइन । साढे ३ सय शैय्याको कोशीमा १२ वेडको मात्र आइसियु छ । जनरल बेडको तुलनामा कोशीमा आइसियु बेड संख्या जम्मा ४ प्रतिशत मात्रै हो ।कोशीमा बेड नपाएकै कारण आइसियु खोज्दै निजी अस्पताल जानेको संख्या दैनिक ८ देखि १० जनासम्म हुने गरेको छ । कतिपय विरामीले त आइसियुमा उपचार नपाएर आकस्मिक कक्षमा मृत्युवरण समेत गरेका घटना पनि छन् ।
पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी ूस्वास्थ्य प्रतिष्ठान पनि हो कोशी अस्पताल । यही अस्पतालमा भने आइसियुमा विरामी राख्ने ठाउँ नपाएर चर्को शुल्क तिरेर निजीमा उपचार गर्न निमुखा विरामी बाध्य छन् । कोशी अस्पतालदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रमा १८ वटा भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु भने यो बेला प्रयोगविहीन अवस्थामो छ ।
कोरोना महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएका मध्ये सघन उपचार केन्द्रमा रहेका १८ भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु प्रयोगविहीन बनेका हुन् । कोभिड संक्रमण उच्च रहेका वेला ‘क्रिटिकल केयर’का लागि प्रदेश सरकार माहतह रहेको यो अस्पतालमा भेन्टिलेटरसहितको आइसियू पठाइएको थियो ।
कोभिडका बिरामी घट्दै गएपछि यसको उचित प्रयोग नगर्दा भेन्टिलेटरसहितको आइसियू र एचडीयु प्रयोगविहीन बनेको हो । कोरोना महामारीको बेला विराटनगर–१० नेशनल ट्रेडिङको जग्गामा निर्माण गरिएको यो अस्पतालको सुरुमा कोसी कोभिड–१९ उपचार केन्द्र नामकरण गरिएको थियो । कोभिड घट्दै गएपछि मन्त्रीपरिषदको बैठकले संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा विकास गर्ने योजना बनाएर अगाडि लैजाने योजना बनायो । त्यसअनुसार नाम परिवर्तन भयो तर, स्वास्थ्य उपचार सेवामा फड्को मार्न सकेन ।
नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनिएको अस्पतालमा सामान्य उपचारबाहेक अन्य सेवा भने सञ्चालन हुन सकेको छैन । कोरोना महामारीको बेला निजी अस्पतालहरुले विरामी लिन नमानेको अवस्थामा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।
२०७६ चैत्र २१ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा २०७७ वैशाख ५ गतेदेखि कोरोना संक्रमित बिरामीको उपचार गरिएको थियो । कोभिडको समयमा प्रभावकारी रहेको अस्पताललाई नागरिक समाजसमेतको सहकार्यमा विस्तार गरेर १६० शैय्याको बनाइएको थियो । अस्पतालमा अहिले १८ भेन्टिलेटरसहित २१ शैय्याको आइसियु र ४७ वटा एचडीयु तयारी अवस्थामा रहेको छ ।
स्वीस सरकारको ४ करोड रुपैयाँ सहयोगमा शहरी विकास तथा भवन निर्माण अस्पतालमा थप संरचना निर्माण गरेको थियो । तर, अस्पतालका एचडीयु र आइसीयुसहित उपकरणहरू अहिले प्रयोगमा छैनन् । संक्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रुपमा सञ्चालन नहुँदा त्यहाँ रहेका सामानहरू बिग्रने स्थितिमा छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कोभिड उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालको रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस अनुसार अस्पतालको संरचना विकास हुन सकेको छैन ।
करारमा रहेका कर्मचारीहरूको रेखदेखमा रहेको अस्पतालमा बेलामौका आफूहरूले सरसफाइ गर्ने रेखदेख गर्ने गरेको एक कर्मचारीले बताए । २०७९ असोज ३ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोसी कोभिड अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गर्दै अस्पतालमा ओपिडी सेवा सुरू गर्ने बताएको थियो । तर, अहिले सामान्य सेवा मात्र सुचारु भएका छन् । मेडिकल अधिकृतको नेतृत्वमा ओपीडि सेवा सुचारु रहेको छ । मेडिकल अधिकृतको १० जनाको दरबन्दी भएपनि ६ जना रहेका छन् । ६ मध्ये पनि ४ जना प्रदेश १ स्वास्थ्य मन्त्रालय अन्र्तगतको जिल्ला अस्पतालमा कार्यरत रहेका छन् भने यहाँ अहिले दुई मात्र मेडिकल अधिकृत कार्यरत रहेका छन् । स्टाफ नर्स १८ जनाको दरबन्दी भएपनि १३ जना छन् । १३ जनामा पनि ४ जना कोशी अस्पतालमा र यहाँ ९ जना कार्यरत छन् । उनीहरुले ओपीडि सेवा दिदै आएका छन् । यहाँ दैनिक २० देखि २५ जना विरामी ओपीडमा आउने गरेका छन् । अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ ।