मौरी ब्लकमा लगानी बालुवामा पानी

खोटाङ ऐंसेलुखर्क–३ धोद्रेमा मौरी ब्लकका लागि सरकारले गरेको ३८ लाख २० हजार लगानी खेर गयो ।

विराटनगर । खोटाङ ऐसेलुखर्क–३ धोद्रेका जीवन राई परम्परागत पशुपालन र कृषि कर्म गरिरहेका थिए । सामान्य लेखपढ भएका उनले एक–दुई घार मौरी पनि पालेका थिए । उनलाई विस्तारै मौरी पालन व्यवसाय गर्ने सोच आयो र विदेशबाट फर्किएका आफ्ना भाईसहित मौरी पालन व्यवसाय सुरु गरे ।

त्यही बेला प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङले ‘मौरी ब्लक निर्माणको प्रस्ताव आव्हान’ ग¥यो । सूचना प्रकाशित भएको थाहा पाएपछि उनै जीवनले आफ्ना छरछिमेकी साथीभाईसँग सल्लाह गरे र मौरीको घारहरु बढाए । लगानी थपे । समूह बनाए । ब्लक बनाउने अभियान चलाए । सबै सहमत भएपछि मौरी ब्लक कार्यक्रममा निवेदन दिए । उत्साहित हुँदै निवेदन दिएका उनको समूहले २ आर्थिक वर्षमा गरेर ३८ लाख २० हजार रुपैयाँ अनुदान पनि पायो । तर, अहिले किनेका मौरीहरु मरेर ४५ घारमा सीमित बनेका छन् । त्यो पनि व्यक्तिहरुको घरघरमा छ । एकैठाउँ छैनन् ।

वरिपरि जंगलले गरिएको धोद्रेमा मौरीका लागि अनुकूल हुने प्रकृतिको बालीनाली पनि लगाइएको थियो । मौरी ब्लक निर्माणका लागि अरु समूहहरुले निवेदन पनि दिएनन् । एकल निवेदन परेपछि कृषि ज्ञान केन्द्र खोटाङले उनैलाई छनौट गरेर अनुदान दिएको थियो । अनुदान दिएपछि उनले १३० घार मौरी रामेछापबाट किनेर ल्याए । प्रतिघारको १३ हजार रुपैयाँमा खरिद गरेको मौरी एक वर्षमै मरेर सिद्धिए । ‘म त खेती गर्ने हलो जोत्ने मान्छे । के के न हुन्छ भनेर कृषि ज्ञान केन्द्रका मान्छेले पनि भने । अब त हामी उक्सिनै नसकिने भइयो,’ उनले गुनासो सुनाउँदै भने, ‘पहिलो पटक २० घार लिएका थियौं । रामेछापबाट १३० घार ल्याइयो । घारमा ल्याएर राखेको घारमा भित्रको बच्चा भएको चाका कुहिएछ । त्यसपछि माउले छोड्दै हिंड्दै ग¥यो ।’

चरा र अरिङ्गालले पनि मौरी खाइदिएको उनले बताए । ‘टाढाबाट ल्याएका कारण वल्लो डुँड र पल्लो डुँडको मौरी झगडा गरेर पनि मरे । यस्तै चिबे चरा र अरिङ्गालले पनि धेरै मौरी खाइदियो । अहिले १०–१२ वटा घार चाहिँ म आफैंले हेरिरहेको छु,’ उनले भने, ‘अरु घारहरु व्यक्तिव्यक्तिको घरमा छ । अहिले त्यस्तै ४५ वटाजति घार होलान् ।’

सरकारले दुईपटक गरेर ३८ लाख २० हजार अनुदान दिएको मात्रै होइन । मौरीपालक उक्त समूहले पनि त्यतिनै लगानी गरेको थियो । ६५० घार मौरी पालन गर्ने सोच बनाएको समूहले डुँड बनाउन मात्रै प्रतिगोटा ३ हजार खर्च ग¥यो । ‘डुँड र घार गरेर ४० लाखभन्दा बढी खर्च भयो । २ वर्षदेखि गरेको मेहनत खेर गयो । जम्मा वार्षिक कमाई ५० हजारजति मात्रै हुन्छ,’ उनले सुनाए ।

मौरी पालनमा टन्न नाफा कमाउने सोच बनाएका उनीहरु अहिले निराश छन् । ‘मौरी फस्टाउन सकेन । चारो दिँदा पनि भएन, भागेर, मरेर सिद्धिए । हिउँदमा बाहिर गएका मौरी फर्किएरै आएनन् । पानी परेको र ठण्डी भएको वेलामा मात्रै चारो खुवाइयो । अरुबेला खुवाउने कुरै आएन,’ उनले भने ।

कृषि ज्ञान केन्द्र खोटाङले केही महिना अगाडि उनको ब्लक अनुगमन गरेको थियो । त्यसबेला प्रतिबद्धता जनाएअनुसार मौरी नभएको देखेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीले तत्काल घारहरु बढाउन निर्देशन दिएर फर्किए । तर, उनलाई थप लगानी गरेर मौरीको घार बढाउने इच्छा नै छैन । ‘बढाउँ भनेर लागिरहेका त छौं । तर बढ्ने अवस्था चाहिँ देखिँदैन,’ उनले भने ।

१८०० मिटर उचाइमा रहेको उक्त गाउँको वातावरण मौरी हुने खालको नभएको हो कि भन्ने शंका पनि उनीहरुले गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले आयोजना गरेका तालिममा उनीहरु सहभागी पनि भएका थिए ।कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले पनि आफूहरुले गरेको लगानीले प्रतिफल नदिएको बताए । दुई वर्षभित्रमा प्रतिबद्धता अनुसार मौरीसहितका घार भरेको हुनुपर्छ भनेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले आदेश दिएको उनले बताए । ‘सहमति अनुसार उहाँहरुले भएका सबै डुँडमा मौरी विस्तार गर्छौं भन्नुभएको छ,’ हरिनारायणले भने, ‘उहाँहरुलाई वडाहरु थप गरेर भएपनि ब्लकको क्षेत्र बढाएर भएपनि राज्यको लगानीलाई सुरक्षित गर्नुहोस् भनेका छौं ।’

‘रामेछापबाट ल्याएको मौरीमा फाउल रोग लागेको रहेछ । त्यो रोग लागेपछि माउ मार्फत अरु घारमा पनि स¥यो र मरेको देखियो । प्राविधिक हिसाबले दक्ष नभएको र ज्ञान केन्द्रसँग पनि प्राविधिक नभएको हुँदा हामीले दोस्रो वर्ष भोजपुरबाट विशेषज्ञ झिकाएर तालिम पनि दियौं । त्यसपछि केही हदसम्म सुधार भयो । त्यस्तै उहाँहरूलाई प्रदेशस्तरीय तालिममा पनि पठाइएको छ,’ उनले भने ।

एउटा मात्रै निवेदन परेको र उत्साहित भएर आएको कारण उनीहरुलाई नै मौरी ब्लकको कार्यक्रम दिएको हरिनारायणले बताए । ‘उहाँहरुले त्यतिखेल उत्साहित भएर निवेदन हालेका कारण त्यो कार्यक्रम हामीले उहाँहरुलाई नै दिने गरी स्वीकृत गरेका हौं । ब्लकलाई प्रक्रिया पूरा पनि गरेको हिसाबले हामीले छनौट गरेका हौं । तर, अन्तिममा आएर असफल जस्तो भयो,’ उनले भने ।

मौरी ब्लकका लागि आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख र अर्को वर्ष १३ लाख २० हजार दिइएको हो । ब्लक सञ्चालनका लागि कृषि ज्ञान केन्द्र खोटाङ र मौरी ब्लक विकास समितिबीच ७ सय मौरीको आधुनिक घार निर्माण गर्ने सम्झौता भएको थियो । उक्त समितिको अध्यक्ष जीवन राई आफैं हुन् । समितिमा १८ जना सदस्य रहेका छन् ।

बिहिबार, ३२ साउन, २०८०, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर