मणि दाहाल
राजनीति समाज सेवा हो । कल्याणकारी राज्यव्यवस्थाको आधार हो । जनतालाई आत्मानिर्भर अर्थतन्त्रको मार्गनिर्देश हो । संवृद्धि र सुशासनको प्रत्याभूति यसको मर्म हो । स्वाभिमान र सम्मानपूर्ण जीवनको ग्यारेन्टी यसको धर्म हो । तथ्यपरक नीति र त्यसको इमान्दार कार्यान्वयन राजनीतिको कर्म हो । साथै राजनीति गतिशील विज्ञान पनि हो । विज्ञानले निर्देश गर्छ । गतिशीलताले युगको आवश्यकतालाई सम्बोधन गर्छ । अनि गतिशीलता र विज्ञानको समायोजनमार्फत् बन्ने कार्यदिशाले भाग्य र भविष्यको मार्ग तय गर्छ । अनि सोही मार्गको केन्द्रमा राजनीति हुन्छ ।
राजनीतिक आयमका कालखण्डहरु र त्यसको सफल गतिले उचाइको मापन गर्छ । दृष्टिकोणका हिसाबले हाम्रो राजनीतिक परिदृश्य अब्बल छ । तर, हामीले आकर्षक नीतिमात्र बनायौं । उच्च नैतिकता बनाउन सकेनौं । इमानदारिता र कर्तव्यनिष्ट व्यवहारलाई जोगाउन सकेनांै । निष्ठालाई स्वार्थको टोकरीमा बन्धक बनायौँ । भनाइ र गराइ बिचमा सामान्जस्यता मिलाउन सकेनौं । ठूला बन्यौं । तर, असल र आदर्शवान बन्न सकेनांै । पवित्र भएर पनि हामीले पवित्रता जोगाउन सकेनौं । यो आजको तीतो सत्य हो । यहि सत्यताभित्र रुमलिनु हाम्रो दैनिकी हो ।
राजनीतिरुपका कालखण्ड र अभ्यासमा हामी पारंगत बनिसकेका छौं । अनेकांै कालखण्डहरु पारगर्दा विविध रुप र रंंग फेरिए । तर ढंग फेरिएन । राणाकाल, बहुदलकाल, पञ्चायतकाल, फेरी बहुदलकाल र गणतन्त्र गरी पाँचौ पटकसम्म व्यवस्था फेरियो । तर, जनताको अवस्था फेरिन सकेन । जनजीविका भाषण भयो तर सुशासन हुन सकेन । विश्वासयोग्य ठानिएका राजनीतिक आधारहरुमा आमअविश्वासका बादलहरु मडारिरहेका छन् । आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनसहितको नयाँ नेपाल जनताको चाहनामा मात्र सीमित भएको छ । रुपान्तरणलाई तुषारोले ढाकेको छ ।
संसारको राजनीतिक आन्दोलनको तुलनामा हाम्रो राजनीतिक आन्दोलनको इतिहास अत्यन्तै गौरवमय छ । लामो कालखण्डसम्म जनताको निष्ठा, त्याग, बलिदान र प्रतीक्षामय इतिहास अत्यन्तै कम पाइन्छ । जुन सम्मानयोग्य छ । यसलाई नमन गर्नैपर्छ । त्यसका साथै आन्दोलनको उचाइ र त्यसको अगुवाइ र सफल नेतृत्वदाइ भूमिका पनि दन्त्य कथाका पात्रहरुको भन्दा कुनै कमी छैन । यसका लागि हाम्रो नेतृत्वलाई जति नमन गरेपनि अपुग नै हुन्छ । तर, आज तिनै पात्रहरुको प्रवृतिलाई मध्यनजर गर्ने हो भने विगतको इतिहास झुटो जस्तो लाग्छ ।
दास, मालिकवादी शैली र राजनीतिक व्याजमुखी प्रवृत्तिमा बन्धक राजनीतिलाई लाजनीति भन्नुपर्ने दुःखद अवस्थामा हामी छौं । फरियावाद र परिवारवादको राजतन्त्रीय मनोरोगबाट शीर्ष तहसम्मलाई मुक्तगर्न सकिरहेका छैनौं । आन्दोलनको मैदानले जन्माएका आदर्शवान राजनेताहरु स्व.वीपी, पुष्पलाल, मनमोहन, मदन भण्डारी, गणेशमान, कृष्णप्रसाद, र शुशिलजस्ता अनगिन्ति आदर्शवान पात्रहरुको आदर्शलाई अनुकरण पनि गर्न सकिरहेका छैनौं । उहाँहरुको अदर्शलाई व्यवहारमा हैन बोलीमा मात्र सजाएका छौं । यही कारण हामी अनेकांै जञ्जालहरुमा जेलिएर जनतालाई कष्टकर दिनचर्याको उपहार दिइरहेका छौं । अनि राजनीतिलाई फोहोरको डंगुरमा रुपान्तरण गर्दै छौं ।
जनताको चेतना र गतिशीलता राजनीतिक सफलताको सूचक हो । हाम्रो राजनीतिक परिवेश उच्च तथा शहरीया मध्यम वर्गको कब्जामा चल्यो । उच्च वर्गले निश्चित वर्गको हित सिवाय आमजनताको परिवर्तनप्रतिको चाहनालाई मूर्तरुप दिन कहिलै चाहेन र चाहँदैन पनि । दलीय राजनीतिको नीतिगत तह सो वर्गको स्वार्थ विपरीत जानै सकेन । शासनप्रणाली पनि सोही वर्गको हितबाहिर जान सकेन र नियम कानुनहरु त्यस वर्गको प्रतिकुलतामा बन्नै सकेनन् । सो वर्गको घेराबन्दीमा राज्यका निकायहरु नतमस्तक थिए र छन् । उनीहरुको चाहना विपरीत राज्य अगाडि बढ्न नसक्ने बिसमतामा आज पनि गुज्रिएका छौं । राज्य अगाडि बढ्न खोज्छ, तर सो वर्गको घेराबन्दीको अगाडि घँुडा टेक्न बाध्य रहन्छ ।
शहरीया मध्यम वर्गको चरित्र केहि हदसम्म परिवर्तनको पक्षमा छ । तर, सो वर्ग पनि कुलीन वर्गको नक्कलमा जेलिएको छ । सांस्कृतिक बिचलन र आयातीतको प्रभावमा जम्नुलाई उसले इज्जत प्रतिष्ठा सम्झन्छ । पथभ्रष्ट प्रवृत्तिलाई भाग्य ठान्दछ । चाकरीलाई सम्मान सम्झन्छ । सामन्तवादी ढर्रामा दिक्षित सो वर्ग परिवर्तन खोज्छ । तर, परिवर्तनको कारक र बाधकको बारेमा जानकार छैन । जान्दिन पनि भन्दैन । जान्न पनि चाहदैन तर, जान्दै जान्दैन । जसले गर्दा हावाको तालमा धारणा बनाएर दौडी नै रहन्छ । हामीले सो वर्गलाई राजनीतिक रुपमा सचेत बनाउन सकेनौं । दुषितमात्र बनायौं । निराशा र कुण्ठा आजको राजनीतिक परिवेशमा सो वर्ग अराजकतावादीको लहलहैमा अराजकताकै साधन बन्दै छ । जसलाई राजनीतिले मुक्तगर्नु पर्ने थियो । तर, गर्न सकिएको छैन । अनि रुपान्तरण कसरी सम्भव हुन्छ ?
राजनीतिक अवसरवाद र अवसरवादी जमात परिवर्तनको अर्को समस्या हो । अवसरवादले भाग्यवादको शरण लिन्छ । भाग्यवादले गलतलाई माहान ठान्छ । लुटाहालाई समाजसेवीको पगरी दिन्छ । बेइमानलाई सम्मान गर्छ । अनुशासनको नाममा ताली बजाउ छ । समर्थनको नाममा देवत्वकरण र विरोधको नाममा दानवीकरण गर्नुलाई पौरख ठान्छ । ठीक बेठीकको विश्लेषण जान्दैन । स्वार्थ मिल्दा सबै ठीक देख्छ । नमिल्दा सबै बेठीक । समाज विकासको चरण चेतनालाई उल्टो प्रवाहित गराउने सो वर्गको प्रभावबाट पनि हाम्रो राजनीति मुक्त हुन सकेन ।
दलीय कार्यकर्ता र तर्कसंगत अनि विधि संगत प्रतिरोधात्मक क्षमताको अभाव रुपान्तरणको अर्को तगारो हो । गलत पक्षको डटेर मुकाबिला गर्ने आस्थावान जमातको ठूलो हिस्सा सडकमा छ । एसमेनहरुको हातमा दलीय तालाचाबी छ । उनीहरु सबै ठीकमात्र देख्छन् । गलत देखिहाले पनि बोल्नै सक्तैनन् । बोल्नेहरु टिक्न सक्दैनन् । अनि हामीले रुपान्तरणका फोस्रा भाषणमात्र गरेर हुन्छ ? हामी राजनीतिक अभियान्ता हौं भनेर छाती फुलाउन हामी आफैंलाई हिनताबोध हुनु पर्ने हैन र ?
।