विराटनगर । धेरैलाई लाग्न सक्छ । कोरोना संक्रमितको अवस्था अस्पतालमा कस्तो होला ? खाने व्यवस्था के छ ? उनीहरुको उपचार कसरी गरिन्छ ? उपचारमा खटिने डाक्टर तथा नर्सहरुले कसरी सुरक्षाको उपाया अबलम्बन गरेका छन् ? स्वास्थ्यकर्मीको रोटेशन कसरी हुन्छ ?
विराटनगरस्थित कोशी अस्पतालले संचालन गरिरहेको कोरोना अस्पतालमा ७० वटा बेड छ । ७० बेडमध्ये ११ वटा बेड आइसोलेसन बेड हो । यस अस्पतालमा ३ वटा भेन्टिलेटर छ । भेन्टिलेटरको संख्या १० वटा पु¥याउने प्रदेश सरकारले तयारी गरिरहेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनु भयो ।
‘मानवीय संशाधन वा भौतिक व्यवस्थापनको कुनैपनि दृष्टिकोणबाट यो अस्पताल कमजोर छैन’, मन्त्री घिमिरेको भनाइ छ, ‘१ नम्बर प्रदेशको कोरोना पोजेटिभ देखिएका सबै बिरामीको उपचार यहीबाट हुन्छ ।’
उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै राख्नुपर्ने भएकोले त्यही अनुसार प्रबन्ध गरिएको छ । स्वास्थ्यकर्मीको २५ जनाको दरले टिम निर्माण गरिएको छ । पहिलो टिमले ७ दिनसम्म निरन्तर बिरामीको स्वास्थ्य उपचारको काम गर्छ । त्यसपछि त्यो टिम क्वारेन्टाइनमा जान्छ । त्यसपछि अर्को टिम आएर काम गर्छ । ‘यसरी स्वास्थ्यकर्मीले रोटेसनको आधारमा २ महिनासम्म काम गर्न सक्नेगरी टिम निर्माण गरेका छांै,’ मन्त्री घिमिरेको भनाइ छ ।
संक्रमितको उपचारका लागि फिजिसियन डाक्टरहरू दीपक सिग्देलको नेतृत्वमा पाँचजना डाक्टरको टोली तत्कालका लागि खटिएको छ । शनिबारयता डा. भुपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण, डा. प्रमोद साहको टोली अस्पतालमा खटिएका छन् ।
उनीहरुको लागि बस्ने र खाने ब्यवस्था प्रदेश सरकारले गरेको छ । उनीहरुको बसोबास र खानपानको ब्यवस्थापन होटल स्टर्न स्टार र जैन भवनमा मिलाइएको छ । उपचारमा संलग्न चिकित्सक र कर्मचारीको. समस्या बुझ्नका लागि मन्त्री जीवन घिमिरे लगातारजसो अस्पताल पुग्ने गर्नुभएको छ ।
चार चिकित्सक अन ड्युटी र डा. सिग्देल अनकलमा बसेका छन् । संक्रमितलाई विशेष अस्पतालको ठूलो हलमा राखिएको छ । उनीहरुको निगरानी सीसी क्यामेराबाट हुन्छ ।
बिरामीको विशेष हेरचाह, इच्छा अनुसारको व्यवहार
अधिकांश कोरोना संक्रमित इस्लाम धर्मालम्बी रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मुस्लिम समुदायका बिरामीले त आइसोलेशन स्थलमै कुरान मगाएर पढ्ने गरेका छन् । धार्मिक संस्कार अनुसारका गतिविधि गर्न अस्पतालमा कुनै अवरोध छैन ।
‘अस्पतालमा राखिएका सबै खुशी हुनुहुन्छ,’ कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले संचारकर्मीसँग बताउने गर्नुभएको छ, ‘चिकित्सक र बिरामीबीचको सम्बन्धले अझै मनोबल उच्च बनाउनु जरुरी छ ।’ चिकित्सक सबैका लागि उतिकै हुने बताउँदै मिश्रले विदेशी नागरिकहरु रहेका कारण कुनै असुविधा कमी हुन नदिनु सबैको कर्तव्य हुने बताउनु भयो ।
भर्ना गरिएका बिरामीका लागि सामाजिक विकास मन्त्रालयले खानासहित अन्य आवश्यक सामाग्रीको प्रबन्ध मिलाउँदै आएको छ । बिरामीलाई होटलबाट खाना तयार गरेर ल्याउने गरिएकोे छ । अस्पतालको आइसोलेशनमा बस्ने विरामीहरुले दैनिक व्यक्तिगत रुपमा गर्ने सरसफाई पूरा गर्दै आएका छन् ।
एउटै हलमा राखिएका संक्रमितहरु आफैं चिया बनाएर खान्छन् । चियाका लागि आवश्यक सामग्री अस्पतालले व्यवस्था गरिदिएको छ । खाना र खाजा कर्मचारीले पु¥याउँदै आएका छन् ।
कोरोना भाइरस संक्रमित बुधबार (आज) १ जना थपभएसँगै २४ जना पुग्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले जानकारी दिनुभयो ।
गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिकाक–३ भुल्केस्थित मुस्लिम वस्तीमा रहेको नुर मस्जिदमा बस्दै आएका १२ जनामा र शनिबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । मंगलबार पुनः सोही स्थानमा ११ जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको हो ।