सुनसरीमा स्वास्थ्य संकटकाल घोषणाको माग

धरान । धरानसहित डेंगु प्रभावित सुनसरीका स्थानीय तहमा स्वास्थ्य संकटकाल घोषणा गर्ने सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अलपत्र परेको छ ।

धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्षसहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले संघीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरानसहित डेंगु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस गरेको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य संकटकाल घोषणा सिफारिस गर्ने निर्णय गरेको साता दिन बित्न लाग्दा पनि त्यस बारे कुनै प्रतिक्रिया नआएको सरोकारवाला संस्थाले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाका अनुसार अहिलेसम्म उक्त विषयमा सरकारी निकायको प्रतिक्रिया आएको छैन । डेंगु महामारीलाई नियन्त्रण गर्ने विषयमा सोमवार धरानमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, स्वास्थ्य मन्त्री निर्मला लिम्बुको उपस्थितिमा सर्वदलीय, सर्वपक्षीय बैठक बस्ने भएको थियो ।

उनले भने ‘प्राविधिक कारणले उक्त बैठक बस्न सकेन, बैठक बसेको भए स्वास्थ्य सङ्कटकालको विषयमा पनि छलफल हुने थियो ।’ डेंगुविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएको जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बुले स्वास्थ्य संकटकाल घोषणा भएमा सरकारका सम्पूर्ण निकायहरू उपचार र नियन्त्रणमा केन्द्रित हुने अवस्था आउने थियो ।

अध्यक्ष लिम्बुका अनुसार जिल्लाबाट सिफारिस गएको सात दिनमा पनि प्रदेश तथा संघीय सरकारबाट त्यसको रेस्पोन्स नहुनु विशेष धरानको लागि दुःखलाग्दो विषय हो । यस्तो अवस्थामा स्थानीय सरकार आफैले पनि स्वास्थ्य संकटकाल घोषणा गरेर डेंगुविरुद्ध अभियान चलाउनु जरुरी भएको उनले बताए ।

बुधबार, ३१ साउन, २०८०, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर