जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुल्ला गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले, यसअघि रोकिएका सम्पूर्ण जग्गा सम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘आजको मन्त्रिपरिषद् बैठकले, एउटा महत्त्वपूर्ण निर्णय गरेको छ । त्यो भनेको जग्गाको कित्ताकाट सम्बन्धी अहिलेसम्म रोकिएको कित्ताकाट नामसारी लगायतका जग्गा सम्बन्धी हालसम्म रोकिएका कामहरूलाई फुकाउने गरी भू उपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’ उनले भने ।

गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। आजको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय भएको हो ।

हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ ।

सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

मङ्गलबार, ३० साउन, २०८०, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर