बिक्रम लुइँटेल
लगभग २ महिनादेखि प्रदेश सरकार छ कि छैन जस्तो अवस्थामा पुगेको छ । प्रदेश सरकारका गतिविधि र मन्त्रीहरुका गतिला कार्यक्रमहरु पनि देखिदैन । राजनीतिक अंकगणितमा अलमलिएको प्रदेश सरकारलाई अंक गणित मिलाउदै फुर्सद छैन । माओवादीले सत्ता छाडेपछि तत्कालीन मुख्यमन्त्री हिकमत कार्कीलाई पनि अन्तिम अवस्थामा अंक गणितले नै सताएको थियो । बहालवाला मुख्यमन्त्री उद्धबथापालाई पनि अंकगणितले सताएको छ । जसकाकारण सरकारका मन्त्री र मन्त्रालयले काम गर्न सकेको छैन । यतिसम्म कि अध्यादेशबाट आएको बजेट पास गर्ने कि अर्को पुरक बजेट लाने भन्नेसम्मका विषयमा छलफलहरु भएको देखिदैन ।
स्वास्थ्य क्षेत्र लगभग प्रदेशको मातहतमा छ । जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य र ठूलो जनशक्ति प्रदेश मातहत रहेको छ । तर डेंगीको राजधानी उपमा पाएको धरानमा प्रदेशको उपस्थिति सार्वजनिक भएको देखिदैन । अघिल्लो पटक धरानमा डेंगी देखिँदा प्रदेशका मन्त्री र मुख्यमन्त्रीहरुको टोली नै धरान पुगेर त्यहाँ डेंगी नियन्त्रणको अभियानको नेतृत्व गरेको थियो । पछिल्लो समयमा स्वास्थ्यको महामारीमा प्रदेश सरकारको उपस्थिति बलियो हुने गरेको थियो । कोरोनामा पनि प्रदेशले बलियो उपस्थिति देखाएको थियो ।अहिले आँखा पाक्ने प्रकोप र डेंगीमा प्रदेशले भूमिका देखाउन सक्थ्यो । तर प्रदेश सरकार अलमलिएको छ र सरकार छ कि छैन गुमनाम अवस्थामा देखिन्छ ।
गत २२ गते कोशी बन्द समेत आह्वान गरेर पहिचान पक्षधरहरुले विभिन्न मागहरु राखेका थिए । यसअघि साउन २२ मा प्रदेश बन्द हुँदैन थियो । तर यस्ता जटिल र सम्बेदनशील विषयमा सरकार बेखबर जस्तै भयो । लामो समयदेखि संसद चलेको छैन । प्रदेशका यावत समस्याहरु संबोधन नभएपनि सासदहरुले राख्न पाएका छैनन् । यस्तो अवस्थामा नयाँ जोस र जाँगरसहित आएको प्रदेश सरकार आक्रमक देखिनु पथ्र्यो । तर आफैं सुरुबाटै नुन खाएको कुखुरा जस्तो प्रस्तुतिमा रहेको छ । यसबाट प्रदेशप्रतिको आकर्षण घट्ने नै भयो । त्यसै पनि प्रदेशप्रति प्रश्नहरु उठिरहेको वेला प्रदेश सरकार गुमनाम हुनु राम्रो संकेत होइन ।
त्यसैले पनि प्रदेश सरकारले प्रदेशको गरिमा बढाउन र प्रदेश प्रतिको आकर्षण बढाउन पनि नयाँ ढंगले सन्देश दिन सक्नुपथ्र्यो । खाली सरकारका लागि सरकार मात्रै बनाउने परिस्थितिले प्रदेशको विषयमा राम्रो सन्देश गइरहेको छैन ।