वनको १८ लाख अनियमितता प्रकरणमा अध्यक्ष लिम्बूविरुद्ध मुद्दा दायर

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनका निवर्तमान  अध्यक्ष छत्रबहादुर लिम्बुविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । वनको ९५५ क्यु फिट काठ घोटाला गरेको आरोप लागेको लिम्बु विरुद्ध आइतबार मोरङ अदालतमा अभियोग दायर भएको हो ।

डिभिजन वन कार्यालय मोरङले लिम्बुलाई फरार प्रतिवादी बनाएर अभियोग लगेको छ । वन ऐन २०७६ को दफा ४९ अनुसार लिम्बुलाई १ वर्ष कैद र बिगो बरावर १८ लाख जरिवाना वा दुवै सजाय हुने माग दाबी लिएर अभियोग दर्ता गरिएको डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिनेश मिश्राले बताए ।

अदालतमा मुद्दा दर्ता भएकोले सोमबार प्रतिवादीको हकमा पक्राउ पुर्जी जारी हुने मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘अदालतले पठाएको म्याद भित्र पक्राउ परेर हाजिर भए प्रतिवादीको बयान सुनेर निर्णायक हुन्छ । उपस्थित भएन भने अदालतले निर्णायक गर्नेछ,’ उनले भने, ‘सम्बन्धित इलाका प्रहरी कार्यालयमा पक्राउ पुर्जीको म्यादसहित पठाइन्छ । म्याद तामेल भएको मितिले ३५ दिनभित्र उपस्थित हुनुपर्दछ ।’

लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अनियमितता गरेको आरोप छ । वनको काठ अनियमितता गरेको पाइएपछि डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनी विरुद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भए ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको थियो । पहुँच र पावरको भरमा प्रहरी र वन कार्यालयले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर अभियोग लगिएको हो । उनी विराटनगरमा रहेको बुझिएको छ । अदालतबाट धरौटी खुलाउने र धरौटी रकम बुझाएर मुद्दाको निरूपण गर्ने तयारीमा उनी लागि परेका छन् । त्यसको लागि काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरू लागि परेका छन् ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाट गद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफूखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अनियमितता गरेको पाइएको हो ।

अनियमितताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यत्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

लिम्बुले प्रति क्यु फिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ । अध्यक्ष लिम्बुले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानबिन गरेको थियो । छानबिनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षको कार्यकाल भए पनि लिम्बुले आफ्नो कार्यकालको म्याद सकिएको एक वर्ष पछाडि मात्रै साधारण सभा गराएका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको छ । लिम्बुले सखुवा ९साल०४२७ क्यु फिट, ३ सय क्यु फिट बोटध्यमरो र अन्य प्रजातिको २६० क्यु फिट काठ बिक्री गरेका थिए ।

छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिनेश मिश्रालाई गत असार ११ गते अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो । उनले अनुसन्धान पुरा गरेपछि अभियोग लैजाने तयारी गरिएको हो ।

आइतबार, २१ साउन, २०८०, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर