धरानको खानेपानीमा ‘कोलिफर्म’

कोलिफर्म दिसापिसाबमा हुने जिवाणु हो । यो मानवस्वास्थ्यका लागि हानीकारक हुन्छ ।

विराटनगर । सुनसरीको धरान उपमहानगरमा धाराबाट वितरण भइरहेको खानेपानीमा दिसापिसाबमा हुने जिवाणु ‘कोलिफर्म’ भेटिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले धरानबासीलाई वितरण गरिरहेको पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको परीक्षणबाटै पुष्टि भएको छ ।धरान उपमहानगरपालिकाको कार्यालय अगाडि ‘स्पेक्ट्रम इन्जिनियरिङ कन्सल्टेन्सी’ सञ्चालन गर्ने सुमन श्रेष्ठ साँझ कोठा फर्किंदा बजारबाटै बोतलको पानी किनेर लैजान्छन् । दुई साताअघि एकदिन बजारबाट पानी लान बिर्सिए । राति तिर्खाले व्याकुल भएपछि श्रेष्ठले घरकै धारामा आउने पानी थापेर पिए ।

बिहान उठ्दा उनलाई हनहनी ज्वरो आयो । पखाला पनि लाग्यो । खपिनसक्नु गरी टाउको दुख्यो । निक्कै दिन औषधि उपचार गरेपछि तङ्ग्रिएका श्रेष्ठलाई राति धाराको पानी पिएपछि समस्या आएको प्रष्ट थियो । उनले चिने जानेका धेरै जनालाई पनि पेट दुख्ने, जीउ चिलाउने, आँखा पाक्ने, ज्वरो आउने समस्या देखिएको थियो । उनले सोचे, पक्कै पनि पिउने पानीमै गडबड छ ।

धरानमा चार महिनायता डेंगीको महामारी फैलिएको छ । भाइरल ज्वरो, आँखा पाक्ने समस्याले पनि उत्तिकै गाँजेको छ । डेंगी महामारी फैलिएपछि धरानका कतिपय नेता तथा वुद्धिजिबीले खानेपानी बोर्डले फोहोर पानी वितरण गरेका कारण विभिन्न रोग फैलिएको आरोप लगाउँदै आएका छन् । धाराको पानी पिउँदा बिरामी परेका श्रेष्ठलाई पनि शंका लाग्यो । त्यसपछि उनले आफ्नै खर्चमा पानीको गुणस्तर परीक्षण गर्ने निधो गरे । उनी भन्छन्, ‘धरानभन्दा बढी फोहोरमैला देखिने इटहरी र विराटनगरमा यस्तो समस्या नहुनु, तर सफा भनिने धरानमा किन बिभिन्न रोग आईरहन्छ भन्ने जिज्ञासा लागेर पानी परीक्षण गराएँ ।’

उनले धरानबासीले पानी पिउँदै आएको पानी ट्यांकी, धारा र स्रोत गरी सात ठाउँको नमूना संकलन गरेर साउन १५ मा खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिए । साउन १६ मा ल्याबले दिएको रिपोर्टअनुसार, खानेपानी बोर्डले जमिनमुनीबाट बोरिङ गरि निकालिएको पानीमा मात्र ‘कोलिफर्म’ देखिएको छैन । अन्य ६ ठाउँको नमूनामा ‘कोलिफर्म’को मात्रा ५ देखि ३५ सम्म भेटिएको छ ।
मानिस र जनावारको दिसापिसाबमा पाईने जीवाणुको समूह हो, कोलिफर्म । पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयु) हुनुपर्छ । अर्थात पानीको कोलिफर्म हुनुहुँदैन । धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं. १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुईवटा स्रोतको पानी मिसाइएको छ । त्यसमध्ये एउटा स्रोत जमिनमुनीबाट बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन ।

त्यही ट्यांकीमा कोकाखोलाबाट ल्याएको पानी मिसाइएको छ । कोका खोलाबाट ल्याइएको पानीमा कोलीफर्मको मात्रा ५ पाइएको छ । धरानका हर्कराज राई (हर्क साम्पाङ)को नेतृत्वमा अभियान सञ्चालन गरेर कोका खोलाबाट पानी ल्याइएको हो । त्यस्तै, बोर्डको सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीको नमूना परिक्षण गर्दा कोलिफर्मको मात्रा १० भेटिएको छ । खर्दु खोलाको पानी ट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ ।

यसैगरी, निसाने खोलाको निर्माण गरिदिएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ । ब्रिटिस वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको हो । निसाने खोलाको ट्यांकीहरूमा विभिन्न खोलाबाट ल्याइएको पानी सोझै मिसाउने गरिएको छ ।

ल्याबको परीक्षण रिपोर्टअनुसार, धरान–१३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट छ । त्यस्तै, धरान–१४ को विजयपुरस्थित ट्यांकीबाट धरान–३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ । मेयर साम्पाङको नेतृत्वमा सञ्चालन गरिएका अधिकांश अभियानबाट ल्याइएको पानीको वैज्ञानिक परीक्षण गरिएको छैन । खोला, खोल्सीबाट सिधै पाईप जडान गरेर ल्याइएको पानी सुद्धिकरण नगरी ट्यांकीमा मिसाउने गरिएको छ ।

धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माईक्रोबायोलोजी विभागका संयोजक धिरेन लिम्बूका पानीमा ‘फिकल कोलिफर्म’ देखिनुको अर्थ दिसापिसाब मिसिएको छ भन्ने बुझिन्छ । यस्तो पानी खान नमिल्ने लिम्बू बताउँछन् । ‘फिकल कोलिफर्म देखिएको पानी खान अयोग्य हो,’ उनी भन्छन्, ‘यसबाट झाडा पखाला, हैजादेखि विभिन्न रोग निम्तिन सक्छ । शुद्धिकरण नगरी यस्तो पानी पिउनु हुँदैन ।’

शुक्रबार, १९ साउन, २०८०, बिहानको ०८:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर