अनन्तराज न्यौपाने
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकेर केन्द्रीय सदस्य डा. शेखर कोइराला विराटनगर आए, तीन दिन बसे, विभिन्न राजनीतिक र सामाजिक काममा सहभागी भए अनि काठमाडौँ फर्किए । यस पटकका कार्यक्रम र मन्तव्यमा पनि कोइरालामा पार्टी–नेतृत्वप्रति उहिलेजस्तो ‘एग्रेसन’ थिएन । शान्त, शालीन र सौम्य मुद्रामा उनले आफ्ना विचार व्यक्त गरे । गत आमनिर्वाचनपछि उनमा यस्तो अचानक परिवर्तन आएको अनुभव कार्यकर्ता र पर्यवेक्षकले गरेका छन् ।
कुनै बेलाका ‘आगो’ कोइराला यति वेला किन ‘बरफ’झैँ प्रस्तुत भइरहेका छन् ? यस प्रश्नले अहिले कांग्रेसी, गैरकांग्रेसी सबैखाले जिज्ञासु र बुझक्कडलाई घोचिरहेको छ । कतिपय टिप्पणीकर्ता र मिडियाले त कोइराला देउवासित मिलिसकेको भन्ने हल्ला पनि फिँजाइरहेका छन् । यो कुरा हल्ला मात्र हो कि सत्य पनि हो भन्ने उत्तर चाहिँ समयक्रमले नै दिनेछ । तर यति वेलाका नरम र शालीन भनिएका कोइरालाले विधि, नियम र प्रक्रियाका मुद्दा भने अहिले पनि उठाइरहेको पाइन्छ ।
कांग्रेसका नेताबारे हल्ला र भ्रमहरू फिँजाइनु कुनै नौलो कुरा होइन । नेपालमा यो परम्परा नै भइसकेको छ । नेपालमा हरेक राजनीतिक परिवर्तन कांग्रेसकै अगुवाइमा सम्पन्न भएका छन् त्यसैले यसकै नेताका विषयमा बढी चर्चापरिचर्चा र हल्लाहरू हुनु स्वाभाविक हो । जस्तोकि, बीपी कोइरालाले भारतसित आजीवन समदुरीको सम्बन्ध बनाएर राजनीति गरे । हो, भारतीय राजनीतिदेखि राज्यसंयन्त्रसम्म उनका प्रशस्त मित्र र शुभचिन्तकहरू उपल्लो ओहदामा थिए । तर बीपी कहिल्यै प्रो इन्डियन भएनन् । यता नेपालका मिडिया, आलोचक र दरबारसम्मले बीपीलाई अराष्ट्रिय तत्त्व र भारतको दलाल भनेर दुष्प्रचार गर्न कहिल्यै छाडेनन् ।
बीपीलाई भारतको मात्र होइन कतिपयले अमेरिकाको एजेन्टसम्म भन्न भ्याए, जबकि बीपी जति महत्त्व प्रजातन्त्रलाई दिन्थे त्यत्तिकै राष्ट्रियतालाई । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका समपूरक र परिपूरक हुन् भन्ने उनको मान्यता थियो । अरू त अरू समीक्षाका सम्पादक मदनमणि दीक्षितजस्ता पाका र बुज्रुक पत्रकारले समेत आफ्नो नियमित स्तम्भ ‘मेरो देश मेरो संसार’मा बीपीका घाँटीमा सीआईएको ट्रान्समिटर छ भन्नेजस्ता फजुल कुरा लेख्न भ्याए । बीपी राष्ट्रिय एकता र मेलमिलापको रणनीति लिएर नेपाल फर्किएपछि पनि उनलाई पार्टीभित्रै प्रशस्त शंकाउपशंकाको सामना गर्नुप¥यो । पार्टीभित्रको ठुलो पङ्क्ति मेलमिलापका पक्षमा थिएन । बीपीले आफ्नै कार्यकर्तालाई कन्भिन्स गर्न धेरै मेहनत र समय लगाउनु परेको थियो ।
जनमत संग्रहमा बहुदलले हारेपछि पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि पार्टीभित्र र बाहिर दुबै तर्फबाट प्रशस्त आक्रमण हुने गथ्र्यो । गणेशमानजी र किसुनजी वामपन्थी शक्तिसित मिलेर पञ्चायत ढाल्ने लाइनमा थिए भने गिरिजा यस पक्षमा थिएनन् । २०४१ साल लागेपछि गणेशमानजी सत्याग्रहका पक्षमा आफ्ना अभिव्यक्ति दिन थाले । यही बेला गिरिजाले राजा वीरेन्द्रसित भेट्न पाए । वीरेन्द्रले गिरिजालाई भनेछन्, ‘तिमी पनि पञ्चायतको विकल्प खोज, म पनि खोज्छु ।’
यसपछि गिरिजा राजा वीरेन्द्रलाई विकल्पको कस्तो मोडल दिने भनेर कार्यकर्तासित छलफल गर्न देशदौडाहामा निस्किए । यता गणेशमानजीको रटान सत्याग्रहकै पक्षमा थियो । यस प्रकरणमा तत्कालीन प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस) स्पष्टतः दुई खेमामा बाँडियो– सत्याग्रह पक्ष र विकल्प पक्ष । यो बेला गिरिजाले आफ्नै कार्यकर्ताबाट धेरै अपमान र गाली पाउनुप¥यो । गिरिजा दरबार र पञ्चायतसित मिलिसकेका छन् भन्ने आरोप लाग्ने गथ्र्यो । त्यस बेला म कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय थिएँ । म पनि गिरिजा त राजासित मिलिसकेका छन् भन्ने गर्थें । तर बुझ्दै जाँदा यथार्थ अर्कै रहेछ । भन्ने गरेको कुरा त भ्रमको खेती मात्र रहेछ । गिरिजाले विकल्प खोज्ने भनेको त पञ्चायतको विकल्प नै रहेछ, जुन प्रजातन्त्र बाहेक अर्को हुनै सक्तैनथ्यो । गिरिजा पञ्चायतसित कहिल्यै मिल्नै सक्तैनथे भन्ने कुरा त हामीले त्यस वेला बुझेकै रहेनछौँ ।
यति वेला पार्टीभित्र डा. शेखरले देउवासित मिलिसकेको भन्ने त्यस्तै आरोप र प्रचार खपिरहेका छन् । कोइराला परिवारमा बीपी र गिरिजालाई त नछाड्नेहरूले शेखरलाई किन बाँकी राख्थे ! यो प्रचार गराउने समूहमा गगन र विश्वप्रकाशका समर्थकहरू पनि देखिन्छन् । किनकि गगनको जुन प्रकारको उत्ताउलो, अस्वाभाविक र नसुहाउने खालको महत्त्वाकांक्षा छ, त्यसलाई शेखरले मात्र साइजमा ल्याउन सक्छन् । काठमाडौँमा कांग्रेस राजनीतिको गहिरो तहसम्म र कूटनीतिक क्षेत्रमा समेत रिपोर्टिङ गर्ने पत्रकारहरूले यही संसदमा प्रचण्डपछिको प्रधानमन्त्री डा. शेखर हुन् भन्ने आभास पाइरहेका छन् । त्यस्तै आगामी १५औँ महाधिवेशनको सभापति पनि उनै हुन् भन्नेमा अधिकांश विश्वस्त देखिन्छन् । आफ्नो राजनीतिक भविष्यको ग्यारेन्टीको अनुभव गरेर हुनुपर्छ, डा. शेखरले उग्रताको बाटोलाई थाती राखेर सौम्य र शालीन मार्ग अपनाएका छन् । अनि यही विषयलाई नबुझेर र बुझ पचाएर अर्काथरी कांग्रेसीहरू देउवासित शेखर मिलिसके भन्ने हल्ला फिँजाइरहेका छन् ।