सम्पादकीय
विराटनगरस्थित कोशी अस्पतालको बेथिति एकपछि अर्को गरी सार्वजनिक भइरहेको छ । यसअघि विरामीलाई बेड अभाव भएको, एनआइसियुका सामान थन्क्याएर नचलाई राखेको अस्पतालले अक्सिजनको आपूर्तिमा समेत गम्भीर लापरबाही गरिरहेको पाइएको छ । साधारण मर्मत गर्दा नै पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पतालले निजी कम्पनीसँग अक्सिजन खरिद गरेर ठूलो रकम खर्च गरिरहेको पाइएको छ । आफूसँग भएको करोडौं मूल्यको अक्सिजन प्लान्ट चलाउनुको साटो निजी कम्पनीसँग महँगोमा खरीद गरेर चलाउने अस्पतालको कदम बाध्यता हो कि बद्नियत ? स्वास्थ्य मन्त्रालय र सरकारको गम्भीर ध्यानाकर्षण जरुरी छ ।
अहिले पनि कोशी अस्पतालसँग दैनिक ४ हजार ८०० किलो अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट छ । विगत केही महिनायता अस्पतालले निजी कम्पनीसँग दैनिक ५०० किलो अक्सिजन खरिद गर्दै आएको छ । अस्पतालले बिग्रिएको अक्सिजन प्लान्ट मर्मत नगरी विगत १३ महिनादेखि निजी कम्पनीसँग अक्सिजन खरिद गर्दा झण्डै ७० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनले २०७८ साल असोजमा १ करोड ७ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माण गरिदिएको थियो । कोभिड १९ को बेलामा बिरामीलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले कोशी अस्पताल परिसरभित्र फाउण्डेउसनले अक्सिजन प्लान्ट निर्माण गरी हस्तान्तरण गरहेको हो । यो प्लान्ट बन्द गरेर निजी कम्पनीसँग अक्सिजन लिनुपर्ने बाध्यता हो कि बद्नियत ? यसको छानविन जरुरी छ ।
भएका संरचनाहरुको अधिकतम उपयोग अस्पतालमा मात्रै होइन, जहाँ पनि जरुरी हुन्छ । आफूसँग भएको अक्सिजन प्लान्ट बिग्रेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि कोशी अस्पतालले त्यसलाई मर्मत गर्नुपर्ने आवश्यकता किन महसूस गरेन ? अस्पतालका प्रमुख र अस्पताल विकास समितितिर यो प्रश्न निश्चय नै सोझिन्छ । राज्यकोषको ठूलो रकम अक्सिजन किन्न लगाउने काममा खर्चिनुभन्दा आफूसँग भएको प्लान्ट मर्मत गर्नु बढी श्रेयष्कर हुने जान्दाजान्दै अहिलेसम्म किन गरिएन ? यी सबै प्रश्नको आधारमा अर्को प्रश्न दोहोरिन्छ, यो बाध्यता हो कि बद्नियत ? यसर्थ पनि यसको छानविन जरुरी छ ।
२०७९ जेठ अन्तिममा निजी क्षेत्रबाट अक्सिजन खरिद गर्न थालेको अस्पतालले बढीमा एक लाख रुपैयाँभित्रैको खर्चमा चुडिँएको पाइपलाइन र बिजुलीको तार मर्मत गरेर प्लान्ट सञ्चालन गर्न सक्थ्यो । तर, अस्पतालले त्यस ्तर्फ ध्यान नदिएर निजी क्षेत्रसँग नियमित अक्सिजन खरिद गर्ने कार्यलाई नै प्राथमिकतामा राखेको देखिन्छ । प्लान्टबाट दैनिक ४८ किलो क्षमताका १०० सय सिलिण्डर अक्सिजन उत्पादन गर्नसक्ने क्षमता भएपनि अस्पताललाई दैनिक १० देखि १२ सिलिण्डर अक्सिजन पर्याप्त हुने भएकोले सीमित उत्पादन गरिदै आएको थियो । तार ल्याएर जडान गरेपछि संचालनमा आउने प्लान्ट नबनाएर ठेक्का मार्फत निजी क्षेत्रबाट अक्सिजन खरिद गरेर अस्पताललाई लाखौं रुपैयाँ व्यभार थप्न अस्पताल प्रशासन किन लागिपर्यो ? यसले पनि दोहोर्याउन बाध्य बनाउँछ, यो बाध्यता थियो कि बद्नियत ?