विराटनगर । हुँदा खाने भन्दा हुने खानेले राहतमा माग दावी गरेपछि मोरङको रतुवामाई नगरपालिका–४ नम्बर वडामा राहत वितरण गर्न सकस परेको छ ।
सरकारले आह्वान गरेको बन्दाबन्दीसँगै अतिविपन्न परिवारलाई राहत वितरणको लगत संकलन गरिरहेको स्थानीय सरकार राहत लिन हुने खानेको भीड देखेपछि अलमलमा परेको हो ।
राहत लिनेको नाम नामेसीमा जग्ग्गावालाको संख्या धेरै छ, रतुवामाई नगरपालिका–४ का वडा अध्यक्ष देवराज राजबंशीले भन्नुभयो–हुँदा खानेको पीर खप्न नसक्ने अवस्थामा पुगिसकेको छु, राहत बाँड्न सक्ने अवस्था छैन् ।
घरमा खान नभएको भन्दै वडाको पैयामारी टोलका ऋषिदेवहरुले अध्यक्षलाई बारम्बार हारगुहार गरिरहेका छन् । तर, अध्यक्षले ७४ घर ऋषिदेव परिवारको लागि राहल वितरण खुलाउन सक्ने अवस्था नभएको बताउनुभयो । सोमबार यसैको सकस फुकाउन सर्वदलिय बैठक डाकेर निष्कर्षमा पुग्ने प्रयत्न गरिएको छ ।
अतिविपन्न हुन् तर राहत लिएर जान सक्ने अवस्था छैन, अध्यक्ष राजबंशीले भन्नुभयो–सरकारले दिइएको राहत माग्न स्थायी बसोबास गर्ने घरधुरी भन्दा दोब्बरको माग दाबी छ । उहाँका अनुसार एक हजार २५० घरधुरी संख्या रहेको वडामा राहत माग्नेको सख्या भने एक हजार ८०० सय बढी छ ।
‘संयुक्त परिवार भएपनि अलग–अलग भएर बाबु र छोराले राहत मागेका कारण संख्या अधिक देखिएको हो । सर्वदलीय बैठक बसाएर हुनेखानेको नाम कटाउन प्रस्ताव गरेको छु,’ अध्यक्ष राजबंशीको भनाइ थियो, ‘उहाँहरु पनि नामनामेसी हेरेर आश्चर्यमा चाँहि पर्नुभयो ।’
पैयामारी ऋषिदेव टोलका स्थानीयवासी जलेश्वर ऋषिदेवले काम नभएर घर चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सरकारले राहत दिन्छ भनेको सुनेपनि कसैले नदिएको गुनासो गर्नुभयो ।
राहत वितरणका लागि गरिब तथा अतिविपन्न परिवार ऋषिदेव टोलको लगत संकलन गरेर कुपन उपलब्ध गराईसकिएको छ । अर्का स्थानीय भीमलालले भन्नुभयो, बाह्रदिन अगाडी कुपन दिएर गएदेखि कोहि आए छैन । उहाँले गरिब बस्तीका लागि सरकारले पठाएको राहतमा धनीवस्तीका मानिसले लोभ पलाउँदा समस्या भएको बताउनुभयो ।
स्थानीय सरकारले राहतको अतिआवश्यकीय पर्ने घरधुरीलाई यकिन गरेर बुधबारदेखि वितरण गर्ने तयारी समेत गरिरहेको छ । प्रारम्भिक चरणमा पाउनै पर्नेलाई उपलब्ध गराउने र बाँकीलाई विस्तारै आवश्यकता हेरेर वितरण गर्ने तयारी भईरहेको हो । वडा अध्यक्ष राजबंशीले राहत पाउनका लागि लगत टिपाएका सबैलाई राहत दिनुपर्ने अवस्था नरहेकोले अब वास्तविक गरिबका घरसम्म राहत पु¥याउन सर्वदलिय संयन्त्र नै जाने तयारी भईरहेको बताउनुभयो ।