सम्पादकीय
कोशी प्रदेशका विभिन्न जिल्लाबाट बाक्लै आइरहनेमध्ये एउटा मुख्य समाचार हो, वन्यजन्तु र मानवबीचको बढ्दो द्वन्द्व । भर्खरै मात्रै संखुवासभामा भालुको आक्रमणबाट एक जना सिकिस्त घाइते भएको घटना सार्वजनिक भएको छ । त्यसअघि झापामा हात्तीले मान्छे मारेको र हात्ती पनि मृत फेला परेका घटना बारम्बारजसो भइरहेका छन् । पहाडका धेरै जिल्लामा बाँदरले अन्नबाली नष्ट पारेकै कारण धेरैले थातथलो छाडेको पनि नसुनिएको होइन । यसबाहेक कोशी टप्पु वन्य जन्तु आरक्ष छेउछाउमा जंगली हात्ती, अर्नालगायतका वन्यजन्तु र स्थानीयबासीबीचको लामो संघर्षको कथा बेग्लै छ । यसले के देखाउँछ भने, प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व उच्च तहमा छ । यसको व्यवस्थापन अबको प्रमुख दायित्व हो ।
एउटा सत्य के हो भने मान्छेले जीवजन्तु मारेर वा जीवजन्तुले मान्छेलाई हानी पुर्याएर मात्रै यो द्वन्द्व रोकिने छैन । प्रकृतिको पारिस्थितिक प्रणाली जोगाइराख्न मान्छेको आवश्यकता जति छ, अन्य जीवजन्तुहरुको अपरिहार्यता त्यो भन्दा कम छैन । मान्छे बाहेकका जीवजन्तुहरुको संसार बेगरको कल्पना गर्न पनि सकिन्न । यसर्थ पनि वन्यजन्तु र मानवबीचको सम्बन्धलाई कम द्वन्द्वात्मक र कम हिंस्रक बनाउनै पर्छ । यसको पहल चेतनशील प्राणी हुनुको नाताले निःसन्देह मान्छेले गर्ने हो । विश्वका धेरै मुलुकमा जंगली जनावर र मान्छेबीचको द्वन्द्व व्यवस्थापन भएको छ । छिमेकी भारतमै पनि यस्ता उदाहरण धेरै छन् । जसका कारण जीवजन्तु सुरक्षित त भएका छन् नै, तिनै जीवजन्तु मान्छेको आम्दानीको मुख्य स्रोत पनि भएका छन् । हामीले पनि संखुवासभाको भालु होस् या कोशी टप्पुको अर्ना, झापा बाहुनडाँगीको हात्ती होस् अथवा भोजपुरको चितुवा, सबैको सुरक्षा गर्दै तिनलाई मान्छेको आम्दानी बनाउने उपायको खोजी जरुरी छ ।
वनजंगलहरुमा मान्छेले गरेको अतिक्रमण बेहिसाब छ । वन्यजन्तुहरु जंगलमा रहने–बस्ने अवस्था कमजोर हुँदै जानुमा मानवीय क्रियाकलाप सबैभन्दा दोषी हो । यही कारण आहाराको खोजीमा वन्यजन्तुहरु मानव बस्तीतिर ओइरिने गरेका छन् । सर्वसाधारणले दुःख गरेर लगाएका बालीनालीमा जब जनावरको आक्रमण हुन्छ, उनीहरुको धैर्यको बाँध टुट्छ अनि उनीहरु जनावरमाथि आक्रमणमा उत्रिन्छन् । यही द्वन्द्व चलिरहँदा जनावरको आक्रमणमा परेर मानिस र मानिसको आक्रमणमा परेर ज्यान गुमाउने जनावरको संख्या बढिरहेको छ । यो द्वन्द्व घटाउनुको विकल्प छैन । यसका लागि मुख्यतः सरकारी अग्रसरता अपरिहार्य हुन्छ । स्थानीय, प्रदेश र संघ सरकारले यसमा गम्भीर ध्यान पुर्याउन जरुरी छ ।
वन्यजन्तु र मान्छेबीचको संघर्षलाई घटाउने अनेकौं उपाय पत्ता लागिसकेको छ । त्यसमध्ये सबैभन्दा सजिलो उपाय भनेकै जीवजन्तुलाई वन जंगलमै व्यस्त रहन दिनु हो । त्यसका लागि वन्यजन्तुको आहारा जंगलमै उपलब्ध हुने अवस्था सिर्जना गर्नुपर्छ । धरानका मेयर हर्क साम्पाङले अंगालेको शैली यसमा उदाहरणीय हुनसक्छ । जंगलभरी फलफूलका विरुवा लगाइदिने र बाँदरलाई जंगलमै खानेकुरा उपलब्ध हुने हो भने बाँदर गाउँघरतिर पस्दैन । आइहाले पनि अहिले जत्तिको क्षति गर्दैन भन्ने उनको अभियान छ । यस्तै उपाय अन्य जीवजन्तुको मामिलामा पनि अवलम्बन गर्न सकिन्छ ।
झापाको बाहुनडाँगी र सुनसरीको कोशी टप्पु आसपासको हात्ती आतंक पनि हात्तीको आहारा कम भएकै कारणले निम्तिएको हो । सीमावर्ती भारतीय जंगलबाट झापा हुँदै नेपाल प्रवेश गर्ने हात्तीले बालीनालीमा पुर्याएको क्षति अकल्पनीय छ । एकैछिन कल्पना गरौं त, यदि वन जंगलमा प्रशस्त आहाराको प्रबन्ध हुन्थ्यो भने ती हात्ती गाउँघर चहार्दै हिँड्थे ? यतिका संख्यामा मान्छे र हात्तीको विनाश हुन्थ्यो ? निश्चय नै हुँदैनथ्यो । यसमा सबैभन्दा चलाखी र जिम्मेवारी लिने दायित्व फेरि पनि मान्छेकै हो । अहिले हाम्रा बहुसंख्यक वन जंगल समुदायको संरक्षणमा छन् । सामुदायिक वनहरुले जंगललाई जीवजन्तु मैत्री बनाउने अभियान थाल्नुपर्छ । जंगलमै केरा, फलफूल तथा अन्य घाँसहरु उपलब्ध भए जीवजन्तु मान्छेको बाली खान खेतबारी पस्दैनन् । कम्तीमा अहिलेको परिमाणमा क्षति हुँदैन । यसले क्षति घटाउन सहयोग त पुग्छ नै, पर्यापर्यटनको सम्भावना पनि बढाउनेछ । त्यसैले जंगली जनावरसँग लडेर होइन, मानिसले मिलेर बस्ने उपायको खोजी गर्नुपर्छ । त्यो नै सबैभन्दा विवेकसम्मत काम हुनेछ ।