ग्रामथान । पाँच महिनादेखि पारिश्रमिक नपाएको भन्दै ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू सेवा बन्द गरी दुई दिनदेखि धर्नामा बसेका छन् ।
स्वास्थ्यकर्मीहरु सोमबारबाट सेवा बन्द गरेर धर्ना बसकेका हुन् । उनीहरुले गाउँपालिका कार्यालय परिसर र उपप्रमुखको कार्यकक्षमा धर्ना दिइरहेका छन् । धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले धर्नास्थलबाटै बिरामीहरुलाई सेवा दिने गरेका छन् ।
लामो समयदेखि स्वास्थ्यकर्मीहरुले पारिश्रमिक नपाएपछि उनीहरुले पटक पटक गाउँपालिकाका पदाधिकारी समक्ष गुनासो गरेका थिए । तर उनीहरुको गुनासो सुनुवाइ नभएपछि बाध्य भएर धर्नामा बसेको एक स्वास्थ्यकर्मीले बताए । उनीहरुले पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । स्वास्थ्य चौकीबाट दिने सबै प्रकारको बहिरंग सेवा गाउँपालिका स्थित धर्नास्थलबाटै दिएर आन्दोलन जारी राख्ने उनीहरुको निर्णय छ ।
आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा र प्रसूति सेवा भने स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउँदै आएका छन् । ग्रामथान गाउँपालिका अन्तरगत ६७ जना स्वास्थ्यकर्मीहरू कार्यरत छन् । उनीहरुलाई भुक्तानी तलब तथा भत्ता १ करोड ९६ लाख रुपैयाँ आवश्यक हुने भएपनि त्यति रकम प्राप्त नभएको कारण देखाउँदै पारिश्रमिक नदिएको स्वास्थ्यकर्मीहरुले बताए । तलब भत्ता भुक्तानी गर्न गाउँपालिकालाई ४३ लाख रुपैयाँ अपुग रहेको बताइएको छ ।
ग्रामथानमा एक प्राथमिक स्वास्थ्य केन्द्र, एक आधारभूत स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्य चौकी रहेका छन् । तलब भत्ता निकासाका लागि पटकपटक पालिका, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय आदिमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अब पनि माग सुनुवाई नभए आन्दोलन स्वास्थ्य सेवा ठप्प गर्ने चरणमा पुग्नसक्ने भन्दै उनीहरुले विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्यकर्मीहरूको हकहित समिति ग्रामथान मोरङले स्वास्थ्यकर्मीहरूको तलब भत्ता निकासाका लागि लामो समयदेखि पहल, ध्यानाकर्षण गर्दै आएको छ ।
स्थानीयले भने छिटो समस्या समाधान गरी स्वास्थ्य संस्थाहरु सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।