किन फँस्यो देश आर्थिक खाडलमा ?

 अनन्तराज न्यौपाने

दुई महिनाअघि नेपालगञ्जको एक होटलमा सुनका साढे ४ किलो गहनासहित एक युवक पक्राउ परे । खासमा गहनाको तौल १० किलोभन्दा बढी थियो । तर, प्रहरीले बाँकी गहनामा झ्याप हानेर साढे ४ किलो मात्र देखायो । ती युवक अहिले पुर्पक्षका लागि थुनामा छन् । गहना भारतबाट नेपाल ल्याइएको थियो । भारतबाट अवैध मार्ग अपनाएर गहना नेपाल ल्याउने अनि काठमाडौँ, पोखरा, नारायणघाट लगायतका महंगा सहरमा विक्री गर्ने कार्यले परम्पराको स्वरूप प्राप्त गरिसकेको छ ।

युवक नेपालगञ्जमा पक्राउ परेपनि त्यो गहनाको मुख्य पसल विराटनगरमा छ । त्यस पसलका मालिक नाका परिवर्तन गराई–गराई आफ्ना भरियालाई सुनचाँदी र गरगहनाको अवैध ओसारपसार गर्न लगाउँछन् । भारतमा पनि उनको पसल भएकाले खरिद र विक्री गर्ने आफैँ हुन्छन् । यसले उनलाई दोहोरो फाइदा भएको छ । केही वर्षअघि विराटनगरकै एक युवकलाई उनले भरिया बनाएर सुन बोकाएका बेलामा ती युवक भारतीय प्रहरीको फन्दामा परे । उनले ५–६ वर्ष भारतको जेलमा बस्नुप¥यो । अहिले विराटनगरको कुनै एक चोकमा चिया पसल गरेर जीवन गुजारा गर्दैछन् ।

यसरी नेपालगञ्जसम्म सुनको लाइन चलाउने विराटनगरका ती पसलेले अहिले मोरङबाटै लाइन चलाउन पाएका छन् । उनका भरियालाई अब कहिले महेन्द्रनगर त कहिले भैरहवा, कहिले सिराहा–सप्तरी र कहिले झापा–सुनसरीतिर धाउनु नपर्ने भएको छ । प्रहरीको खुलेआम संरक्षणमा सुनको तस्करी मोरङबाटै निर्वाध भइरहेको छ । मोरङ, त्यसो त सुन तस्करीको केन्द्र नै मानिन्छ । तर, यसबेला अबैध कारोबारको ग्राफ धेरै माथि पुगेको अवस्था छ ।

यस पंक्तिकारले बुझेसम्म प्रजातन्त्रको पुनःस्थापनापछि प्रहरीको खुलेआम संरक्षणमा मोरङबाट सुनको अवैध कारोबार २०५१ सालमा डिआइजी गोविन्द कर्मा थापा भएका बेला भएको थियो । त्यसपछि मोरङका तत्कालीन एसपी कल्याण तिम्सिनाका पालामा पनि त्यस्तै ठुलो अवैध कारोबार भएको थियो । अहिलेको प्रहरी–नेतृत्वले डिआइजी थापा र एसपी तिम्सिनाको रेकर्डलाई पनि मात गरेको छ ।

अब दोस्रो प्रसंग । भारतमा आइपिएल अर्थात् इन्डियन प्रिमियर लिग भर्खरै सकिएको छ । आइपिएलका क्रममा अनलाइन जुवा (विराटनगरमा यसलाई फाड्का भनिन्छ) खेल्ने र खेलाउनेलाई देशका विभिन्न ठाउँमा पक्राउ र कारबाही गरिएको खबर सञ्चारमाध्यमा पढ्न पाइएको थियो । तर, विराटनगरका फाड्का खेलाडी र बुक्कीलाई अहिलेको प्रहरीले ज्वाइँझैँ सम्मान दिएको छ । अवैध फाड्का व्यवसायका लागि विराटनगर जननी मानिन्छ । विराटनगरले नै नेपालमा अन्य सहरी इलाकालाई फाड्काको व्यवसाय सिकाएको हो । त्यसैले यो धन्धा यहाँ नहुने प्रश्न नै भएन ।

तर, खोई कारबाही ?

यसअघि मोरङका एसपी शान्तिराज कोइराला हुँदा उनले विराटनगरका केही फाड्का व्यवसायीलाई तारो बनाए । यसपछि व्यवसायी लुकेर बसे । पछि फेरि राम्रै सेटिङ भएछ । ती व्यवसायी खुल्लमखुल्ला आफ्नो धन्धा गर्नथाले । यस प्रसंगमा मोरङ बसेका पहिलेका एसपीद्वय प्रद्युम्न कार्की र विश्वराज पोखरेलको सम्झना गर्न सकिन्छ । कार्की र पोखरेल दुबैले विराटनगरका फाड्का व्यवसायीलाई लगभग तह लगाएर राखेका थिए । यो अवैध व्यवसाय करिब बन्दको अवस्थामा थियो । तर, अहिले ओपेन–सेक्रेट र मौलाएको छ ।

तेस्रो प्रसंग । विराटनगरका क्यासिनोमा यही शहरका धेरै युवाहरू जूवा खेल्न जान्छन् भन्ने कुरा कसैका लागि नौलो होइन । तर, अहिलेसम्म नेपाली नागरिकताधारी कुनै युवक पनि विराटनगरका क्यासिनोबाट पक्राउ परेका छैनन् । प्रहरीलाई महिनैपिच्छे ‘जो हात सो साथ’ लागेकै छ । त्यसैले धेरै टेन्सन किन गर्नु ?

मोटरपार्टस्, खाद्यान्न, खानेतेल, कपडा र विभिन्न वस्तुका अवैध पैठारीका कुरा त लेख्ता लेख्ता हामी पत्रकार बुढा भइसक्यौँ । विराटनगर मेनरोडका किरानाका एक होलसेल व्यापारीले भने, ‘हामी पनि हरेक मिटिङमा अवैध आयातका कुरा उठाउँदा थेत्तरा भइसकेका छौँ । जति पटक, जति कडा स्वरमा बोले पनि प्रहरी प्रशासनका अधिकारीहरू निर्लज्ज मुद्रामा टाउको पनि निहुराउँदैनन् । तिनको निर्लज्ज अनुहार देखेर आफैँलाई सरम लाग्छ ।’

अर्को एउटा कुरा । गत हप्ता कामविशेषले पंक्तिकार इटहरी पुगेका बेला हार्डवेयरका एक ठुलै व्यवसायीले भने– ‘दाई, आफ्नै ट्रकमा लोड गरेर पूर्वमा दमकदेखि पश्चिम कोशी ब्यारेज अनि उत्तरमा धरानसम्म निर्माणसामग्री पठाउने काम गर्छु । यसो गरेबापत सडकमा बसेका ट्राफिक पोस्ट वा ड्युटीमा बसेका ट्राफिक प्रहरीलाई नजराना नटक््रयाए ओभरलोड वा अन्य कुनै निहुँमा तत्कालै दुःख पाउनुपर्छ । सडकमै ट्रक रोकिन्छ वा कार्यालयमा पुग्न पनि सक्छ । मिलाएन भने महिनौँ ट्रक खडा हुन्छ । यस्तो झन्झट किन बोक्नु ? त्यसैले बाटामा पर्ने हरेक ट्राफिक कार्यालयमा महिनाबारी बाँधिदिएको छु । महिनाको ८० हजार खर्च हुन्छ । अहिले कुनै ट्राफिकले बाटामा ट्रक रोकिहाल्यो भने ड्राइभरले फल्ना पसलको भनिदिन्छ र सरासर जान पाउँछ । मरता क्या नहिँ करता ?’

२०४६ सालको परिवर्तन हुँदै गर्दा हामीले प्रहरी कस्तो न होला भन्ने सोचेका थियौँ । तर, पञ्चायतको भन्दा भ्रष्ट भएर आयो । २०६३ को परिवर्तनपछि त केही सुध्रेला कि भन्ने आसा थियो । तर, झन् बिग्रिएको छ । यो देश आर्थिक रूपमा ठुलो भड्खालोमा जाकिनुको मुख्य कारण प्रहरीका संरक्षणमा हुने अवैध धन्धा नै हो ।

बुधबार, २० असार, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर