भुल्केमा नेपाली सेनाले स्वाब संकलन गर्दै

शनिबार ६९ जनाको स्वाब संकलन/थप २५० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने

विराटनगर । एकसाथ १३ जनामा कोरोना देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद क्षेत्रमा नेपाली सेनाको टोलीले स्वाब संकलन सुरु गरेको छ ।

भुल्के क्षेत्रमा शनिबार प्रदेश सरकारको टोलीले ६९ जनाको स्वाब संकलन गरेकोमा आवश्यक उपकरण र सामाग्री अभाब भएपछि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंबाट आइतबार आएको टोलीले स्वाब संकलन थालेको हो ।

मस्जिद रहेको क्षेत्रमा रहेको मुस्लिम बस्तिका सबै र उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको छाउनी अस्पतालको ४ सदस्यीय स्वास्थ्यकर्मीको टोली थप २५० जनाको स्वाब संकलन गर्ने योजनासहित आएको हो ।

छाउनी अस्पतालका मेजर डा.प्राची रायमाझीको नेतृत्वमा चिकित्सक टोलीले स्वाब संकलन गरिरहेको छ । मस्जिद अगाडि रहेको नेपाली सेनाको १८ नम्बर बाहिनीको फुटबल मैदानमा क्याम्प बनाएर स्वाब संकलन भइरहेको छ ।

मस्जिद वरिपरीको मुस्लिम बस्तीमा २२२ जना बसोबास गर्ने गरेका छन् । उनीहरुमध्ये शनिबार ६९ जनाको स्वाब संकलन गरी विराटनगर पठाएको र आज रातिसम्म नतिजा आउने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । बाँकी १५३ जना मुस्लिम समुदाय र अन्य शंकास्पदको स्वाब नेपाली सेनाको टोलीले संकलन गरिरहेको छ ।

संकलित स्वाबलाई परीक्षणका लागि हेलिकप्टरबाट काठमाडौं लगेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने तयारी छ । यसअघि मस्जिदमा रहेका १६ जनाको र्‍यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा सबैको नेगेटिभ देखिएकोमा स्वाब पिसिआर बिधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएकोले भुल्के बस्तीमा स्वाब नै परीक्षण हुने भएको हो ।

जिल्लाको सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राजनीतिक दल र स्थानीय सरकारले र्‍यापिड डाइग्नोस्टिक किटको विश्वसनीयता नरभएकोले जोखिम क्षेत्रको स्वाब परीक्षण गर्नुपर्ने माग गरेका थिए । मुख्य जोखिममा रहेको क्षेत्रका बासिन्दाको स्वाब परीक्षणपछि आसपासको क्षेत्रमा रहेको बस्तीको पनि घरका १÷१ जनाको स्वाब परीक्षण गर्ने तयारी छ ।

कोरोना संक्रमण पुष्टि भएका १३ जनाको विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचार सुरु भइरहेको छ । मस्जिदमा रहेका अन्य ३ जना भने टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा छन् ।

तस्बिरः अप्सरा समाल

आइतबार, ०७ बैशाख, २०७७, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर