विराटनगर । विराटनगर महानगरपालिकामा सुर्तीजन्य पदार्थमा रोक लगाए पनि खुलेआम विक्री वितरण भइरहेको छ । सयका साथै सुर्तीजन्य पदार्थ खाएर सडका पेटीहरुमा जथाभावि थुकेरे फोहोर पार्ने क्रम पनि रोकिएको छैन ।
विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको थियो । विराटनगर र विराटनगरबासीलाई स्वच्छ र स्वास्थ बनाउने योजना अनुसार नगरप्रमुख नागेश कोईरालाको नेतृत्वमा यस्तो कार्य सुरु गरिएको हो । लगत्तै वैशाख ३ गते महानगपालिकाले अनुगमनको ७ वटा टोली बनाएर विराटनगरको सबै क्षेत्रमा अनुगमनसमेत गरेको थियो । विषेश गरि सार्वजनिक स्थलहरु विद्यालय, अस्पताल, मन्दिर, कार्यालय जस्ता स्थानमा रहेको पसलमा अनुगमन गरिएको थियो ।
विराटनगरभित्र रहेको न्यूरो अस्पतालको बाटोमा खुलेआम भोला गुट्का खाएर प्याकेटहरु जता ततै सडकको पेटीहरुमा फ्याँकिएको छ । लुकी छिपी सुर्तीजन्य पदार्थ बिक्री वितरण भएपनि खुलेआम खाएर गुट्खाको प्याकेटसहित थुकेर सडक मै फोहोर भएको अवस्था अझै छ । अस्पताल जस्तो ठाउँमा यसरी निरन्तर फोहोर पारिँदा समेत अनुगमन भएको छैन ।
अहिले नगरपालिकाले केही समयको लागि अनुगमन कम गरेको विराटनगर महानगर पालिकाका जनस्वाथ्य प्रमुख हैदर अलिले बताए । साउन १ गतेबाट पूर्ण रुपमा महानगरभित्र सुर्तीजन्य पदार्थमा रोक लगाईने भएको उनले बताए । नगरसभामाबाटै निर्णय गराएर अनुगमन र कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णय हुने उनको भनाइ छ ।
सुर्तीजन्य पदार्थ सेवन गरे स्वास्थ्यमा समस्या आउन सक्छ भनेर थाहा भएपनि र महानगर भित्र सेवन गर्न कडाई गरिएपनि सर्वसाधरणले अटेर गरिरहेको महानगरको भनाइ छ ।