‘आरडिटीमा पोजिटिभ आएकालाई कोेरोना पोजिटिभ भनिँदैन’ : डा. मिश्रा

विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण आम नागरिकमा त्रासको वातावरण सिर्जना हुँदै गएको छ ।

कोरोना भाईरसको पहिचान गर्न विभिन्न परिक्षण विधिहरुको सुरुवात भएपनि सत्य, स्पष्ट र पुर्ण जानकारीको अभावका कारण आम सर्वसाधारणमा त्रासको वातावरण सिर्जना हुँदै गएको हो । नेपालमा पनि कोरोना भाईरसको सङक्रमण पहिचान गर्न आरडिटी अर्थात र्यापिड डाईग्नोस्टिक टेष्ट र पिसिआर अर्थात स्वाब परिक्षणको सुरुवात गरिएको छ । तर, आरडिटी र पिसिआर परिक्षणबारे पुर्ण ज्ञान नहूँदा आम सर्वसाधारण दिनप्रतिदिन त्रसित बन्दै गएका छन् । यसका साथै पुर्ण जानकारी र ज्ञानको अभावमा विभिन्न सञ्चारमाध्यमद्धारा प्रकाशन तथा प्रसारण हुने सामाग्रीले पनि यसलाई बढावा दिएको पाईएको छ ।

नेपालमा कोरोना भाईरसको पहिचान गर्न मुख्यतः आरडिटी र पिसिआर पद्दतिको प्रयोग भईरहेको छ । आरडिटीले नयाँ संक्रमण पहिचान गर्न सक्दैन । यसमा रगतको नमुना लिईन्छ, जसले कम्तीमा ३ हप्ता र बढीमा ६ महिना वा सो भन्दा पहिलेको संक्रमणबारे सूचना दिने चिकित्सकको भनाई छ । कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा भन्नुहुन्छ, ‘आरडिटीमा पोजिटिभ आएकालाई कोेरोना पोजिटिभ भनिँदैन, यसलाई एन्टिबडी पोजिटिभ भनिन्छ ।’

त्यस्तै कोरोना संक्रमणको पुष्टि गर्न विकास गरिएको अर्को पद्दति पिसिआर अर्थात स्वाब परिक्षण हो । यसले नयाँ संक्रमण पहिचान गर्न सक्छ । संक्रमण भएको दोश्रो दिनदेखि कम्तीमा ३ हप्ता र बढीमा ४ हप्तासम्मको समयावधिभित्र लिईएको स्वाबको नमुना मार्फत कोरोना भाईरस पहिचान गर्न सकिने चिकित्सकहरुको भनाई छ ।

पिसिआर रिपोर्ट पोजिटिभ आएकालाई मात्र कोरोना भाईरसको संक्रमण भएको भन्न सकिने डा. मिश्राको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘कहिलेकाँही कोरोना पोजिटिभ आएकालाई पनि कुनै लक्षण नदेखिने हुनसक्छ, शुक्रबार राती उदयपुरबाट ल्याईएका बिरामीहरुमा पनि हालसम्म कुनै लक्षण देखिएको छैन, तर उनीहरु संक्रमित हुन् ।’

कोरोना भाईरसको फैलिँदो संक्रमणलाई न्युनीकरण गर्न सर्वप्रथम आम नागरिकको मानसिकता परिवर्तन हुनु तथा उनीहरुमा सत्य, स्पष्ट र तथ्यपरक सुचना प्रवाहको हुनु अत्यन्तै आवश्यक देखिन्छ ।

आइतबार, ०७ बैशाख, २०७७, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर