विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त, गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन भूमिकामा भए पनि सबैले जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्नेमा जोड दिए । अस्पतालले सुरु गरेको काउण्टरबाट ज्येष्ठ नागरिक, असक्त र गर्भवतीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
काउण्टर सञ्चालनमा आएपछि उनले पहिलो टिकट सुनसरीको इनरुवाका विर्खबहादुर सुवेदीलाई हस्तान्तरण गरेका थिए । मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआइसियू कक्ष र आकस्मिक कक्षको निरीक्षण गरेका थिए । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।