विराटनगर भन्सारमा कोरोनाको त्रास

भारतबाट आएका चालकलाई ज्वरो आए काहाँ लाने भन्ने चिन्ता

विराटनगर । शनिबार (आज दिउँसो २ बजे) भारतबाट आएका एक जनाको चेकजाँचका क्रममा १०६ डिग्रि ज्वरो देखियो । भारतस्थित उत्तरप्रदेशका सुनिलकुमार गौरालाई आज दिउँसो चेकजाँचका क्रममा ज्वरो देखिएको हो ।

एचआर ३८ डब्लु ४०४७ नम्बरको भारतीय मालबहाक टेलरमा फलामको च्यानल लिएर उनी ३७ दिनअघि नेपाल आएका थिए । लकडाउनको समयमा मालबस्तु जाँचपास नभएपछि अलमलमा परेका उनी सीमा क्षेत्र जोगवनीमा बस्दै आएका थिए । आज नेपाल प्रवेश गर्न खोजेपछि उनको ज्वरो जाँच गरिएको थियो ।

‘दुईपटक नाप्दा पनि ज्वरो १०६ देखियो, त्यसपछि उनलाई नेपालको आइसोलेसनमा राख्ने या भारततिरै पठाउने भन्ने विषयमा विवाद भयो,’ स्रोतले भन्यो, ‘अन्तिममा भारततिरै फर्काउने सहमति भए पनि हालसम्म ति व्यक्तिलाई लिन भारतबाट कुनै एम्बुलेन्स आएको छैन ।’ भारतसँग समन्वय गरेर भारतकै बिहारस्थित फारविसगञ्जमा रहेको क्वारेन्टाइनमा राख्नका लागि एम्बुलेन्स पठाउने भारतीय पक्षले बताए पनि ढिलाइ गरेको स्रोतको भनाइ छ ।

यस्तै शुक्रबार(हिंजो) पिना बोकेर आएको ना ७ ख १८२१ को मालबहाक ट्रकका सहचालक सिन्धुलीका जीवन मगरलाई पनि १०७ डिग्रि ज्वरो देखिएको थियो । उनलाई लामो समयको विवादपछि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीसँगै आएका अन्य ६ जनालाई पनि आइसोलेसनमा राखिएको भन्सार स्रोतले बताएको छ ।

यी दुई घटनासँगै भारतबाट आएका मालबहाक ट्रक, लहरीका चालक तथा सहचालकबाट कोरोना सर्नसक्ने चिन्ताले विराटनगर भन्सारका ट्रान्सपोटर, भन्सार एजेन्ट तथा कर्मचारीमा त्रास उत्पन्न भएको छ । सुरक्षाका आवश्यक उपकरणको अभावमा अत्यावश्यक सेवा तथा मालबस्तुको आयात गरिरहँदा भन्सार जाँचपासमा खटिनुपर्ने उनीहरुलाई कोरोना संक्रणको जोखिम हुनसक्ने भन्दै उनीहरु त्रसित छन् ।

त्यसमाथि ज्वरो आएका वा शंकास्पद विरामीलाई छिटोभन्दा छिटो उद्धार गरी क्वारेन्टाइन वा आइसोलेसनमा लैजानुपर्नेमा सरोकारवालाबीच हुने दोहोरी र हानाथापले आफूहरु त्रसित भएको उनीहरुको भनाइ छ ।

शनिबार, ०६ बैशाख, २०७७, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर