विराटनगर । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।
उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् ।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्। रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ ।
यसैबीच भारतका रेल मन्त्री अश्विनी वैष्णव, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक शनिबार बिहान घटनास्थल पुगेर स्थितिको जानकारी लिएका छन्। रेल दुर्घटनापछि सत्तारुढ र विपक्षी दलका नेताहरुबाट प्रतिक्रिया आइरहेका छन् । विपक्षी दलका केही नेताले दुर्घटनापछि रेलमन्त्रीको राजीनामा माग गरेका छन् ।
टीएमसी नेता अभिषेक बनर्जीले फेसबुकमा लेखेका छन्, ‘मोदी सरकारले जनतालाई भ्रममा पार्न र आफ्नो राजनीतिक महत्वाकांक्षा पूरा गर्न वन्दे भारत ट्रेन र नयाँ स्टेशनहरूको कुरा गर्छ तर सुरक्षाको बारेमा केही गरिरहेको छैन। घटनास्थलबाट देखिने दृश्य हृदयविदारक छ । सयभन्दा बढीले ज्यान गुमाए । ज्यान गुमाउनेहरुका परिवारलाई मेरो समवेदना।’
राजीनामाको माग गर्दै बनर्जीले भने, ‘यदि अन्तस्करणको आवाज बाँकी छ भने, रेल मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ।’ महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री तथा एनसीपी नेता अजित पवारले घटनाप्रति दुःख व्यक्त गरेका छन्। अजित पवारले भने, ‘यो दुर्भाग्यपूर्ण घटना हो । यसबारे रेलवे विभागले छानबिन गर्नुपर्छ। दोषीमाथि छानबिन हुनुपर्छ । रेलवेले जनताको जीवनको मूल्य बुझ्नुपर्छ। यसअघि यस्ता रेल दुर्घटना हुँदा रेलमन्त्रीले राजीनामा दिने गर्थे तर अहिले कोही अगाडि आउन तयार छैनन् ।’
तर, घटनास्थलमा रेलमन्त्री अश्विनी वैष्णवलाई यसबारे सोध्दा उनले भने, ‘म भन्छु कि पहिलो फोकस जीवन बचाउन र राहत कार्यमा हुनुपर्छ।’