विराटनगर । नेपाल सरकारले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया प्रारम्भ गरेसँगै उद्योग संगठन मोरङले देशको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रको विकासलाई तीव्रता दिन सक्षम नेतृत्वको आवश्यकतामा जोड दिएको छ ।
संगठनका अध्यक्ष राकेश सुरानाले विगत केही वर्षदेखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको उदासीनतालाई मध्यनजर गर्दै आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका व्यक्तिलाई नयाँ गभर्नरको रूपमा नियुक्त गर्नुपर्ने बताएका हुन् । उनले संगठनको तर्फबाट औपचारिक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो माग अगाडि सारेका हुन् ।
“देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण र वित्तीय स्थिरता जस्ता विषयहरूले औद्योगिक र आर्थिक क्षेत्रको सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले व्यावहारिक अनुभव र बुझाइ भएको व्यक्ति गभर्नर पदमा आवश्यक छ’ सुरानाले विज्ञप्तिमा भनेका छन् ।
निजी क्षेत्रले विगतमा राष्ट्र बैंकले लिएको अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्रमा परेको नकारात्मक प्रभावको अनुभव गरेको उल्लेख गर्दै संगठनले नयाँ गभर्नर नियुक्ति गर्दा नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसँग बुझेको योग्य नेतृत्व आवश्यक रहेको जनाएको हो ।
उद्योग संगठनका अनुसार नेपाल राष्ट्र बैंक नेपाल सरकारकै आर्थिक सल्लाहकारका रूपमा रहने भएकोले अर्थतन्त्रको वर्तमान जटिल समस्याहरूलाई सम्बोधन गर्न सक्षम व्यक्ति आवश्यक छ । त्यस्तै, स्वदेशी उद्योगहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापारमैत्री नीति निर्माणको वातावरण बनाउन सक्ने, नेपालको मौद्रिक नीति र बैंकिङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिका नयाँ अवसरहरू सिर्जना गरी अर्थतन्त्रलाई स्थिर एवं सशक्त दिशा दिन सक्ने नयाँ गभर्नरको अपेक्षा गरिएको छ ।
सुरानाले भने, ‘हामीले एक योग्य र सक्षम नेतृत्व चाहन्छौं जसले अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सकोस् र जनताको आशा तथा विश्वासलाई पूरा गर्न सकोस् ।’ उनले थपे, ‘नयाँ गभर्नरले अनुमानयोग्य नीतिगत सुधार गर्न सकेमात्र समग्र अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रको विकास सम्भव छ ।’
विशेषज्ञहरूका अनुसार, नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन र उद्योग व्यवसाय क्षेत्रलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको भूमिका निर्णायक हुने भएकाले गभर्नर नियुक्तिको विषय अत्यन्त महत्वपूर्ण मानिन्छ । आर्थिक विकासका लागि स्थिर र अनुमानयोग्य नीतिहरू आवश्यक हुन्छन्, जसले लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्छ ।