राजतन्त्र

समाज विकासको क्रममा जब निजी सम्पत्ति, परिवार र समाजको उत्पत्ति हुँदै गयो; तब त्यहाँ कसले कसलाई नियन्त्रण गर्ने, शासन गर्ने र आफ्नो कब्जामा राख्ने भनेर ठूला ठूला प्रतिस्पर्धाहरु भए । जो शारीरिक, मानसिक र आर्थिक रुपमा सक्षम थिए, तिनको अरुमाथि आफ्नो शासन व्यवस्था खडा गरे । शासन व्यवस्थामा गएका मानिसहरुले अकुत धनदौलत कमाए; आफू बलियो हुँदै गएपछि धर्म, कानुन, कला र संस्कृतिलाई आफ्नो संरक्षणको लागि अत्यधिक प्रयोग गरे । अनि त्यहाँनेर एउटा विशाल षड्यन्त्र के भयो भने सामाजिक विकास उन्नति र प्रगति भन्दा पनि आफ्नो वंशीय शासन सत्ता, भाइभारदार र नातापातालाई बलियो बनाउने काम भयो ।

धर्मशास्त्रका स्वर्ग र नर्कका काल्पनिक मनगढन्ते र आम जनसमुदायका दिमागलाई भ्रमित बनाएर राख्ने अनि आफ्नो शासनसत्ता टिकाउने खेल भयो । समाजका चलाख र विद्वान मानिसलाई किनेर सत्ताधारी मानिसको भजनकीर्तन गाउन र लेख्न बाध्य बनाइयो । यस क्रममा उदय भएका वंश परम्परागत शासन प्रणालीमध्ये नेपालको शाहवंशीय शासन प्रणाली पनि एक हो ।
नेपालका लिच्छवीकालीन, किरातकालीन, मल्लकालीन र अन्य बाइसे र चौबिसे राजा रजौराहरु यही षड्यन्त्रमूलक राजनीतिक पद्धतिका उदाहरण हुन् । भारतमा पनि सयकडौं सामन्ती शोषक राजा रजौटा थिए । गणतन्त्र भारत बन्ने क्रममा यिनले पनि आफ्नो वंशीय शासनसत्ता कायम राख्न अनेक ठाउँमा विद्रोह गरेका थिए । तर, ती सफल भएनन् । एशिया, युरोप, अफ्रिका आदि ठाउँमा यस्ता सामन्ती राजसंस्थाहरु धेरै थिए । अन्ततः व्यापक जनसमुदायको चेतना, शिक्षा, इतिहासको विश्लेषणात्मक अध्ययनबाट कहीँ शान्तिपूर्ण त कहीँ रक्तपातयुक्त व्रmान्तिको माध्यमबाट सदाको लागि विदा भए ।

हाम्रो देश नेपाल अहिलेसम्म ज्ञान, विज्ञान, प्रगति र अग्रगमनमा जान नसक्नुको कारण यही सामन्ती सोचको कारणले भएको हो । युरोपेली महादेशमा सामन्ती राजतन्त्रको विरुद्धमा व्रmान्ति भएर पुनर्जागरणको (रिनेशा) युगमा प्रवेश गर्दा नेपाल र भारतमा सतीप्रथा, दासप्रथा जस्ता कुकृत्य भएर राजनीतिक चिन्तनको विकास भएर स्वतन्त्र अभिव्यक्ति र जनताको सार्वभौमिकताको स्थापना भएको समयमा हाम्रो नेपाल र भारतको अवस्थामा भने मनुस्मृतिको रटान दिएर स्वर्ग र नर्कको डर त्रास देखाएर सम्पूर्ण समाजलाई नै जंगली दास युगमा राखेर मानिसलाई भगवान विष्णुको रुप धारणको संकेत दिएर सम्पूर्ण मानिसलाई बर्बर सामन्ती शोषणमा यिनै राजा रजौटाले राखेका हुन् । हामी आर्थिक, सामाजिक र राजनीतिक रुपमा सधैँ कमजोर भयौँ । विश्वका अन्य भूखण्डका मानिसले वंशीय परम्पराको शासन अन्त्य गर्न निकै मूल्य चुकाए, तर हाम्रो देशमा भने त्यो काम पूरा गर्ने आवश्यक वातावरण बनेन अर्थात् बन्न दिइएन । पक्कै पनि हामी शताब्दीयौँदेखि वंशीय शासन प्रणालीको नियन्त्रणमा थिएनौ भने हामी अहिलेको विश्व परिवेशका हरेक मामिलामा प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौँ । तर, नेपालका परम्परादेखिका सामन्ती र वंशीय राजतन्त्रले यी सबै कुरालाई ब्रेक लगायो । यो हामी सबैको दूर्भाग्य थियो । वंशीय राजतन्त्रले कहिल्यै पनि व्यापक जनताको हितको लागि काम गर्दैन । उसले आफू र आफ्ना भाइभारदारको शासन टिकाउने काम मात्र गर्छ ।

नेपालमा केही मानिसहरु राजाले बनाएको र बचाएको देश भन्छन् । त्यो कुरा कदापि होइन । नेपाल बिगारेको, भत्काएको, चरम अन्धकारपूर्ण युगमा राखेको राजतन्त्रले हो । परम्परादेखि नै हामी वंशीय राजतन्त्र र तिनका भारदारको शासनमा थिएनौँ भने आज हामी हाम्रो भूखण्डलाई युरोप र अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने विश्वको एउटा अत्यन्त विकसित र चामत्कारिक देशको रुपमा स्थापित गर्न सक्ने थियौँ । तर, वंशीय राजतन्त्रको शासनको कारण हामी एउटा अर्ध औपनिदेशिक र अर्धसामन्ती मुलुकमा परिणत भएका छौँ । हामी आज विश्वभरि नै एउटा गरिब बाँच्नको लागि सहारा खोज्ने मानिसको रुपमा भौतारिरहेका छौँ । यो परिघटनाको मूल कारक तत्व भनेको शदियौँदेखि चलिआएको सामन्ती राजसंस्था नै हो । व्यापक जनसमुदायहरु शासनसत्ताको मूल प्रवाहबाट बहिष्कृत हुनेकै परिणाम हो ।

राजाहरुसधैं निरंकुश हुन्छन् । समाजमा स्वतन्त्र चिन्तन र अवधारणाको प्रस्फुटन हुन दिँदैनन् । आफ्नो वंशीय शासन कायम राख्न जस्तोसुकै कर्तुत र हथकण्डा प्रयोग गर्न पछि पर्दैन ।अब हाम्रो देशको वर्तमान समसामयिक अवस्थाको कुरा गरौँ । नेपाली जनतामा हुर्केका, नेपालको हावापानी र माटो अनि जनजीवनमा बाँचेका राजनीतिक दलले परम्परादेखि नै राजतन्त्रको विरुद्धमा आन्दोलन नगरेका होइनन् । आफ्नो तागत र बलबुतोले भेटेसम्म आन्दोलन र सशस्त्र क्रान्ति गरेका हुन् । विश्वका प्रायजसो सबै मुलुकहरु सामन्ती व्यवस्थाबाट मुक्त भए पनि नेपालका राजनीतिक दलहरुको सशक्त र एकीकृत आन्दोलनको कमीको कारण २०६२÷०६३ को व्यापक राष्ट्रिय जनआन्दोलन भन्दा अगाडिसम्म नेपालमा निरंकुश वंशीय राजतन्त्रकै शासन थियो । यो जनआन्दोलनले पनि त्यति सजिलै राजतन्त्र हट्ने थिएन । एउटा सशक्त राजनीतिक पार्टी । (ने.क.पा. माओवादी) ले १० वर्षसम्म चलाएको सशक्त जनयुद्धको परिणाम थियो, जसबाट नेपालका गाउँ बस्ती र शहर सबै ठाउँमा राजतन्त्रको जरा हल्लिसकेको थियो । त्यसलाई विशाल जनआन्दोलनले एक धक्का मारेर राजतन्त्र हटेको थियो । त्यो राजनीतिक विजय भनेको कोही कसैसँग सहमतिको कुरा थिएन । सम्पूर्ण नेपाली जनता (७ पार्टी र माओवादी) एकपक्षमा थिए भने राजतन्त्र अर्को पक्षमा थियो । राजतन्त्रलाई सम्झौताबाट हटाएको होइन, बलपूर्वक नै हटाएको हो । कुरा सबैलाई स्पष्टै छ ।

आज नेपालमा केही राजावादी मानिसले देखाएको उच्छृङ्खल प्रदर्शन अत्यन्त अशोभनीय छ । देश कहिल्यै पनि पश्चगमनमा जान सक्दैन । विश्वका कुनै मुलुकमा पनि उन्मूलन भएको राजतन्त्र कहीँ पुनरस्थापना भएको छैन । नेपाली जनताहरु आफ्नो हक, हित, अधिकार र बाँच्ने आधार प्राप्तिको लागि सचेत भइसकेका छन् । जनताले आफ्नो खुट्टामा आफैले कहिल्यै पनि बन्चरो प्रहार गदैनन् । यस्ता जनविरोधी, अवाञ्छित क्रियाकलपका पछाडि जनसमुदायको कुनै सहयोग र समर्थन रहँदैन । बगेको खोला कहिल्यै फर्किदैन ।

अब हाम्रो देश भनेको हामीले मिलेर संवैधानिक हक अधिकार प्रयोग गरेर चलाउनुपर्छ । राजनीतिक दलहरुमा भएका खराब प्रवृत्तिलाई जनताले खवरदारी गर्नुपर्छ । केही राजनीतिक दलहरु भ्रष्ट भए, जनविरोधी भए, तिनलाई हटाएर नवीन चिन्तन र सोच लिएका राजनीतिक दलहरुलाई मत दिनुपर्छ । देशलाई आर्थिक, सामाजिक, शैक्षिक र वैज्ञानिक रुपमा अग्रगमनमा नेतृत्व गर्ने राजनीतिक दललाई समर्थन गर्नुपर्छ । हाम्रो सुन्दर देश नेपालमा प्रसस्त संभावनाहरु छन् । हामी यहाँ नेपाली जनताको सम्पूर्ण अवस्था सजिलै बदल्न सकिन्छ । नेपालका सम्पूर्ण राजनीतिक दलहरुको सहमति, सहकार्य र मिलीजुली कार्यक्रमका साथमा व्यापक राष्ट्रिय एकताको सोच कार्य सम्पादन गरेमा हामी अवश्य पनि समृद्ध नेपाल र नेपालीमा रुपान्तरित हुन सकिन्छ । समाजवाद उन्मुख हाम्रो संविधानको मूल मर्मलाई हामी आत्मसात गरेर अघि बढेमा यस्ता झिनामसिना अवरोधहरुले हामीलाई अल्झाउन सक्दैन । देशमा राजनीतिक स्थायित्व, शान्ति र विकास एवम् अग्रगमनको लागि अनि जनताको सम्पूर्ण समस्या समाधानको लागि सबै राजनीतिक दलहरुले समाजवादी उत्पादन र वितरण प्रणालीलाई स्वीकार गर्नु राम्रो हुन्छ । विदेशीहरुले हस्तक्षेप गर्न कुनै भड्कावमा लाग्नु हुँदैन । नेता, वुद्धिजीवि, पूँजीपति र आमजनसमुदाय राष्ट्र र राष्ट्रियताप्रति एक ढिक्का हुनुपर्छ । आन्तरिक विवादहरु हामी स्वय्म मिलाउन सक्छौँ । कसैलाई गुहार्नु पर्दैन ।

बिहिबार, २० चैत, २०८१, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर