विराटनगर । कोशी प्रदेशका दुई वटा सहकारीलाई संकटग्रस्त घोषणा गर्ने तयारी गरिएको छ । सरकारले सुनसरीको इटहरीस्थित अम्बे बचत तथा ऋण सहकारी संस्थालाई संकट ग्रस्त घोषणा गरेको तीन महिना बित्न नपाउँदै फेरी अर्को दुई सहकारीलाई पनि यस्तै घोषणा गर्ने प्रक्रिया अगाडी बढेको हो ।
प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नु अघि अम्बे सहकारीलाई २४ पुसमा सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । अम्बेपछि दुई सहकारी सस्थालाई संकट ग्रस्त घोषणा गर्न सहकारी रजिष्ट्रार कार्यालय कोशीले प्रदेश सरकार समक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको छ । संकटग्रस्त घोषणा गर्ने सहकारीको नाम भने अहिले गोप्य राखिएको छ ।
संकट ग्रस्त घोषित भएको अम्बे र घोषणाको तयारीमा रहेका दुई वाहेक शंकास्पद थप दर्जन बढी सहकारीको अनुसन्धान भइरहेको छ । तीमध्ये आधा दर्जन भन्दा बढीको अवस्था पनि संकट ग्रस्त घोषणाको पाइप लाइनमा रहेको स्रोतले जानकारी दिएको छ । प्रदेश सरकारले गत पुसमा वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेको थियो । उक्त समितिले अम्बे बचत तथा ऋण सहकारी सस्थाको व्यवस्थापनकालागि गृहकार्य गरिरहेको थापाले वताए ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीका अनुसार थप दई सहकारी सस्थालाई संकट ग्रस्त घोषणा गर्न कार्यालयले प्रदेश सरकार समक्ष सिफारिसको तयारी गरेको छ । त्यसमा सुनसरी झुम्काको एक र विराटनगरको एक वचत तथा ऋण सहकारी सस्था छन् । ‘ती संस्थाको नाम र अपचलन भएको रकम अहिले नै सार्वजनीक गर्न मिल्दैन । साता भित्रमा संकटग्रस्त घोषणाका लागि ती सहकारीको नाम कार्यालयले प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयल समक्ष पठाउने छ । अनि ती सहकारीको नाम र अपचलन रकम सर्वाजनीक हुने छ,’ खत्रीले भने ।
सर्वसाधारण्को बचत हिनामिना भएका थप दर्जन बढी सहकारीका बारेमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा रहेका ती सहकारीमध्ये केहीमा समस्या जटिल देखिएका छन् । रजिष्ट्रर कार्यालय स्रोतले भन्यो, ‘थप झण्डै आधा दर्जन सहकारी सस्था संकट ग्रस्तको सूचिमा पर्ने स्थिति देखिँदै छ ।’
कोशी प्रदेशभरि १ हजार ८३ वटा सहकारी संस्था दर्ता छन् । तीमध्ये १२ वटा सहकारी संस्थाका सञ्चालकले सर्वसाधारणको बचत अपचलन गरेर फरार भएपछि सञ्चालक विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । त्यसमध्ये खोटाङको लालुपाते वचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले सबै दायित्व तिरेर मिलापत्र गरेका छन् । धनकुटाको हिमाली बहुउद्देश्य सहकारी र विराटनगरको माछापुछ्रे बचत तथा ऋण सहकारी सस्थाको आंशिक मिलापत्र भएर दायित्व तिर्ने काम भइरहेको खत्रीले जानकारी दिए ।
रजिष्ट्रार कार्यालय स्रोतका अनुसार धरानको बराह बचत तथा ऋण सहकारी, झापा कमल गाउँपालिकाको पूर्व नेपाल बहुउद्देश्य सहकारी, विराटनगरको तुलसी सहकारी, मोरङ कर्सियाको उमागौरी कृषि सहकारी, झापा शिवसताक्षीको उन्नति बचत तथा ऋण सहकारीसहित मोरङ, सुनसरी र झापाका थप एक दर्जन सहकारी संकटग्रस्त घोषणाको पाइपलाइनमा छन् ।
कोशी प्रदेशमा एक अर्बमाथि सम्पत्ति र दायित्व भएको सहकारी १२ वटा छन् । तीमध्ये ११ वटा झापामा सञ्चालित छन् । ५० करोडदेखि एक अर्बसम्म कारोवार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोवार गर्ने ३१ वटा, ५ करोडदेखि २५ करोडसम्म कारोवार गर्ने सहकारीको सख्या ९७ वटा रहेको रजिष्ट्रार कार्यालयको अभिलेखमा देखिन्छ । तीमध्ये अधिकांश सहकारीमा समस्या देखिएको छ र केही सहकारीका सञ्चालक बचत रकम अपचलन गरेर फरार भएमा अनौठो मान्नु पर्ने स्थिति नभएको सम्बन्धित निकायका अधिकारीहरु नै बताउँछन् ।
प्रदेशमा स्थानीय सरकार अन्र्तगत नियमन हुने सहकारी ३ हजार ६५१ र प्रदेश सरकार अन्र्तगत नियमन हुने १ हजार ८३ सहकारीमा मात्र १२ लाख १५ हजार भन्दा धेरै सर्वसाधारणको १३ अर्ब २४ करोड भन्दा बढी शेयर पुँजी र ६५ अर्ब ५८ करोड ८७ लाख भन्दा बढी सर्वसाधारणको बचत रहेको तथ्यांक छ ।
ती सहकारीको ऋण लगानी ८१ अर्ब १३ करोड ९ लाख भन्दा बढी देखिँदा कुल कोष ९ अर्ब ३३ करोड ८२ लाख र कुल सम्पत्ति दायित्व एक खर्ब ३ अर्ब ९ करोड २१ लाख ५४ हजार छ । प्रदेशभरिका सहकारीमा २१ लाख ७८ हजार ५०० बढी शेयर सदस्यको २१ अर्ब ५३ करोड शेयर पुँजी देखिँदा सर्वसाधारण्को बचत करिव ९५ अर्ब, कुल कोष करिव १२ अर्ब रहेको छ ।
त्यस्तै कर्जा प्रवाह १ खर्ब १३ अर्ब १२ करोड तथा सम्पत्ति र दायित्व १ खर्ब ५४ अर्ब १८ करोड भन्दा बढी देखिएको छ ।