नोबेलमा चरम लापरबाही : फोक्सोको डाक्टरले हड्डीको उपचार गर्दा बिरामीको मृत्यु

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका चिकित्सकको लापरवाहीका कारण उपचाररत एक विरामीको मृत्यु भएको विषय अदालतमा पुगेको छ । फोक्सो एवं श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकले हड्डीको उपचार गर्न खोज्दा सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएको हो ।

गत माघ १० गते सुनसरी इनरुवाकी विमला थापा पोखरेललाई सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटल आएकी थिइन् । त्यसपछि फोक्सो एवं श्वासप्रश्वास विशेषज्ञ डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामीको मृत्यु भएको आरोप परिवारले लगाएको छ ।

बिरामीको मृत्यु भएपछि क्षतिपूर्ति माग्दै मृतक परिवार अदालत पुगेको छ । मृतकका श्रीमान् महेश्वर पोखरेलले मोरङ जिल्ला अदालतमा बुधबार फिरादपत्र दर्ता गरेका छन् । सधैँ हिँडडुल गरिरहने फुर्तिलो स्वभावकी पोखरेल श्वासप्रश्वासमा समस्या देखिएपछि नोबेल अस्पताल पुगिन् । ओपिडीमा जाँच परीक्षणका लागि गएकी उनलाई अस्पतालले फोक्सोमा दीर्घकालीन अवरोध सम्बन्धी रोग सी ओपीडी र रक्तअल्पताको समस्या देखिएको बतायो । चिकित्सकको सल्लाहबमोजिम भर्ना भई उनको उपचार प्रक्रिया सुरु भयो ।

विभिन्न परीक्षणपश्चात् डाक्टर घिमिरेको रेखदेखमा उनको उपचार भयो । एक साताको उपचारपछि घिमिरेले नै डिस्चार्ज गर्न परिवारलाई सुझाव दिए । निको भएर डिस्चार्ज हुन लागेपछि विमलाले सँगै रहेका अन्य बिरामीलाई फलफूल जुससमेत बाँडिसकेको परिवारको भनाइ छ ।

तर, त्यही दिन उक्त मेडिकल कलेजमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भ्रमण थियो । ‘स्वास्थ्यमन्त्रीको भ्रमणका कारण विपक्षी (अस्पताल)ले डिस्चार्ज गर्न नमिल्ने जानकारी दिनुभयो । हामी अस्पतालमा बस्न बाध्य भयौँ,’ मृतकका श्रीमान् महेश्वरले दायर गरेको फिरादपत्रमा उल्लेख छ ।

श्रीमान् महेश्वरका अनुसार विमलाको ढाडमा २०–२५ वर्षदेखि सामान्य दुखाइको समस्या थियो । अर्थोपेडिक डाक्टरको सल्लाहबमोजिम औषधि सेवन गरिरहेकी थिइन् । डिस्चार्ज भइसकेकी विमलाको ढाड दुख्ने समस्या देखियो । अर्को दिन डाक्टर घिमिरे राउन्डमा आएनन् । २० गते राउन्डमा आउँदा विमलाले आफ्नो ढाडको समस्या सुनाइन् । त्यसपछि डाक्टर घिमिरेले हतार नगर्न बताउँदै एलबीपी (ढाडको तल्लो भागको दुखाइ ठीक हुने औषधि) लेखिदिन्छु भनेर सोही दिन ‘मोर्फिन’ नामक औषधि खान दिएको फिरादपत्रमा उल्लेख छ । डा. घिमिरेको सिफारिसमा अर्का डा. रुपक केसीले उक्त औषधि लेखिदिएको परिवारको भनाइ छ ।

‘डा.रामहरि घिमिरे र डा. रुपक केसीले ड्रग्स स्लिपमा सहीछापसमेत गरेर मोर्फिन सेवन गर्न लगाउनुभयो । मोर्फिन सेवनपश्चात् मेरी पत्नीलाई अत्यन्तै असहज भयो । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या उत्पन्न भयो । वार्डमा कार्यरत नर्सलाई बताउँदा समेत बेवास्ता गर्नुभयो,’ फिरादपत्रमा भनिएको छ, ‘माघ २१ गते रातभरि मेरी पत्नी पीडामा छट्पटाइन्, बिहानपख बेहोस भइन् । मैले रोइकराइ गरेपछि आइसीयूमा लगियो र अघिल्लो दिन डिस्चार्ज हुन लागेकी मेरी पत्नीलाई विपक्षी (अस्पताल) ले मृत घोषणा गरिदिए ।’

मोर्फिन एक शक्तिशाली ओपिओइड एनाल्जेसिक (पेनकिलर) हो । यसको प्रयोग अत्यधिक दुखाइका बेला चिकित्सकको रेखदेखमा दिइन्छ । यद्यपि, श्वासप्रश्वासका बिरामी, एलर्जी, नशासम्बन्धी रोग, गम्भीर मिर्गौला र कलेजोका बिरामी र गर्भवती महिलालाई दिन नहुने चिकित्सकहरु बताउँछन् ।

डा. घिमिरे फोक्सोसम्बन्धी विज्ञ डाक्टर भएकाले एलबीपीको उपचार गर्ने र औषधि दिने काम उनको नभएको महेश्वर बताउँछन् । गलत औषधि दिई गम्भीर लापरबाही गरेका कारण आफ्नी पत्नीको मृत्यु भएको उनको आरोप छ । अस्पतालले उपलब्ध गराएको कागजात हेर्दा पनि चिकित्सकीय लापरबाहीका कारण आफ्नी पत्नीको मृत्यु भएको देखिएको उनले बताए ।
सम्बन्धित विशेषज्ञ डाक्टरको निरीक्षणबिनै तीनपटक ५० एमजीका दरले १५० एमजी मोर्फिन औषधि सेवन गराइएको अस्पतालबाट जारी औषधि पत्रमा देखिन्छ । ‘दीर्घकालीन फोक्सोसम्बन्धी रोग (सीओपीडी) का बिरामीलाई दिन नहुने र हड्डीसम्बन्धी उपचार र औषधि दिने कार्य अर्थोपेडिक डाक्टरले गर्ने सामान्य प्रचलन भए पनि आफू विशेषज्ञ नरहेको विषयको प्रयोगस्वरुप ढाडको दुखाइसमेत ठीक पारिदिन्छु भनी डाक्टर रामहरिले दायित्व पालन नगरी उल्लंघन गर्नुभयो,’ फिरादी महेश्वरले बताए ।

उक्त विषयमा बुझ्न खोज्दा डाक्टरले गैरजिम्मेवार जवाफ दिएको दाबी पनि उनले गरेका छन् । प्रयोग गर्न नमिल्ने भए कम्पनीले औषधि किन बनाउँथ्यो भन्दै आफ्नो व्यापार भएको कुनै सेवा नभएको दम्भपूर्ण जवाफ चिकित्सकले दिएको दाबी उनले फिरादपत्रमा गरेका छन् ।

परिवारले संविधानको धारा ४२ (२),उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।

बिहिबार, २० चैत, २०८१, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर