विराटनगर । खोटाङ्गको रावाबेंसी गाउँपालिका ६ हंसुका ३८ वर्षे चन्द्रकुमारी श्रेष्ठ एक महिनादेखि पिसाव फेर्न समस्या भएर क्याथेटर प्रयोग गर्दै आएकी थिइन् । असह्य पीडा हुने भएकोले उनलाई दिशा पिसाब गर्न समस्या हुने गरेको थियो । त्यसैले उनले पिसाब गर्न सजिलोका लागि क्याथेटर शौच गर्नको लागि पिसाब पायप लगाएकी हुन् । उनी क्याथेटर लगाएरै जेठ १४ गते विराटनगर २ सोमबारेहाटमा रहेको मोरङ सहकारी हस्पिटल पुगिन् ।
अस्पताल पुग्दा चन्द्रकुमारीको पेट गर्भवती भएझैं देखिन्थ्यो । जब मोरङ सहकारी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले चन्द्रकुमारीको स्वास्थ्य परीक्षण गरे उनको पाठेघरमा मासु पलाएको ट्युमर (ऐंजेरू) भएको पत्ता लाग्यो । आर्थिक अवस्था नाजुक भएको श्रेष्ठ परिवार स्वास्थ्य बीमा कार्यक्रम रहेको र भरपर्दो चिकित्सक रहेको आफन्तले जानकारी गराएपछि मोरङ सहकारी पुगेकी थिइन् । डाक्टर साहले सफल शल्यक्रिया गरी श्रेष्ठको पाठेघरबाट दुई किलोको ट्युमर निकालेका थिए ।
पाठेघरमा भएको ट्युमर निकालेर सफल शल्यक्रिया गरिएको डाक्टर साहले बताए । सफल उपचारपछि अहिले बिरामीले सहजै हिडडुल गर्न सक्ने भएकी छन् । ‘पाठेघरमा मासु पलाएकोलाई एेंजेरु भनिन्छ । ट्युमर हुँदा धेरै रगत जाने र महिनावरीमा गडबढी हुने गर्दछ । सर्वाकल रिजनमा ठुलो ट्युमर भएकाले पिसाब नलीलाई थिचेको थियो,’ उपचारमा संलग्न डाक्टर साहले भने, ‘त्यसैले पिसाब रोकिएको थियो । शल्यक्रिया गरेर ट्युमर झिकेपछि अहिले बिरामीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’
केही दिनपछि डिस्चार्ज गरिने उनले बताए । ‘ऐंजेरु यही कारणले पलाउँछ भन्न सक्ने अवस्था छैन,’ डाक्टर साहले भने, ‘अहिले हामीले शल्यक्रिया गरी निकालेको ट्युरले क्यान्सर हुने सम्भवना कम थियो । यो विस्तारै बढ्छ । कसैको चाँडै बढ्ने गर्दछ । जसले गर्दा ढाड दुख्ने र महिनावरी गडबढ हुने गर्दछ ।’ कसैमा चाँडै ट्युमर बढ्ने गरेको उनले सुनाए । ‘चाँडै बढ्ने ट्युमरमा क्यान्सर हुनसक्ने सम्भावना धेरै हुन्छ,’ डाक्टर साहले भने ।
पाठेघरबाट ट्युमर निकालेपछि बिरामी चन्द्रकुमारीले शरीर चङ्गा भएको बताइन् । ‘अहिले शरीरबाट काँडा झिकेर फालेजस्तो भएको छ,’ दुखाइको पीडा भुलेर हर्षित् मुद्रामा रहेकी चन्द्रकुमारीले भनिन्, ‘शरीरनै अहिले हल्का र फुर्तिलो भएको छ । त्यो पीडा सम्झिँदा यस्तो समस्या त कसैलाई पनि नहोस् ।’ महिनौदेखि आफूले भोगेको पीडा सुनाउँदै उनले भनिन्, ‘पहाडको कति धेरै अस्पताल गएँ । तर पनि पिसाब फेर्न सजिलो भएन । दुखाइ खपिनसक्नु हुने गरेको थियो । अहिले उपचारपछि पुनः जीवन पाएको महसुस गरेको छु ।’