अब केलाई आश्चर्य भन्ने ?

 अनन्तराज न्यौपाने

देशमा अब कुनै पनि घटना आश्चर्य नहुने भए । हामीले आफ्ना जीवनमा आश्चर्यजति सबै देखिसक्यौँ भन्दा गल्ती नहुने भयो । अब नेपालमा हरेक आश्चर्यहरू सामान्य घटनाका रूपमा उदाउनेछन् र केही समयमा अस्ताउनेछन् । देशको पछिल्लो घटना अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरण अब केही दिनमै एउटा सामान्य घटनाझैँ ओझेलमा पर्दै जानेछ । जनतालाई यस्ता घटना, प्रकरण र काण्ड हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुनेछ ।

हामीे हाम्रै जीवनकालमा धेरै युगान्तकारी घटनाका साक्षी भयौँ । कुनै वेला अर्थात् २०४६ पहिले राजाको सक्रिय नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था थियो । त्यस बखत आधारभूत मानवअधिकार, वाक्–प्रकाशन स्वतन्त्रता सबै बन्द थिए । पञ्चायत कालमा पनि भ्रष्टाचारका अनेकौँ काण्ड भए । यी काण्डमा राजदरवारकै सदस्य सामेल हुन्थे । सर्पको छाला काण्ड, डलर काण्ड, हेरोइन काण्ड लगायतका भ्रष्टाचारका ठुला काण्ड पञ्चायत कालमै भएका हुन् । तर त्यस वेलाको पत्रकारिता अहिलेको जस्तो समृद्ध र व्यावसायिक थिएन । तत्कालीन तानाशाही संविधानले सूचनाको अधिकारको ग्यारेन्टी पनि गरेको थिएन । त्यसैले त्यति वेला भ्रष्टाचार, अनियमितता र कमिसनखोरीका समाचारहरू पत्ता लगाउन गाह्रो थियो । त्यस वेला उद्योगी विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा किर्ते र जालसाजी गरेर आफ्नो पारेको समाचार अहिले पत्ता लाग्दैछ । पञ्चायत कालमै नेपालको जंगल स्वाहा पारियो । नमितासुमिता लगायतका काण्ड भए । काठमाडौँका पुरातात्विक महत्वका मूर्तिहरू चोरी भए । यी सबै प्रकरणमा दरवारका सदस्यको प्रत्यक्ष संलग्नता थियो ।

यसैबिच २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना ग¥यो । यसपछि कृष्णप्रसाद भट्टराईका प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको गठन भयो । सन्त नेता भट्टराई निष्काम कर्मयोगी थिए । उनबाट भ्रष्टाचार र कमिसनखोरी हुने कुनै गुन्जायस थिएन । तर त्यही मन्त्रिपरिषदमा कृषि मन्त्री थिए झलनाथ खनाल । त्यस वेला मन्त्री खनालबाट भ्रष्टाचार भएका समाचारहरू प्रशस्त आए । यसरी २०४६ को परिवर्तनपछि भ्रष्टाचार र कमिसनखोरीको सुरुआत गर्ने पहिलो नेता झलनाथ खनाल हुन् ।

दोस्रो आमनिर्वाचन २०४८ पछि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । यसपछि त नेपालमा भ्रष्टाचार, अनियमितता र कमिसनखोरीको ताण्डव नै सुरु भयो । कोइराला स्वयंमा भ्रष्ट नेता थिएनन् । तर उनलाई उनकै परिवारभित्रका भ्रष्ट मनोवृत्तिका सदस्यले घेराउ गरे । जसरी कांग्रेसका हरेक निर्णयमा अहिले आरजूले लाभ खोज्छिन् त्यस्तै गिरिजाकालका हरेक निर्णय र नियुक्तिमा उनका छोरी, भाउजू, भाउजूका बहिनेज्वाइँ, भतिजा आदिले लाभ लिन थाले । नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछि संगठित, संस्थागत र नीतिगत भ्रष्टाचार यही समयदेखि मौलायो ।

मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार बन्यो । यस सरकारमा अर्थमन्त्री बने एमालेकै भरतमोहन अधिकारी । उनै अधिकारीका संरक्षणमा देशमा एलसी काण्ड भयो । कांग्रेस सरकारका मन्त्री र नेताभन्दा एमालेका मन्त्री र नेताले भ्रष्टाचारको ग्राफलाई झन् धेरै माथि पु¥याए । देशमा अनेकन राजनीतिक घटनाक्रम विकसित हुँदै गए । शान्तिप्रक्रियापछि माओवादी सत्तामा आउने क्रम जारी हुन थाल्यो । यसपछि त के देखिन थाल्यो भने कांग्रेसभन्दा एमाले भ्रष्ट र एमालेभन्दा माओवादी भ्रष्ट । यसरी देश नै भ्रष्टमय बन्नपुग्यो । मुलुकमा पछिल्लो पटक नक्कली शरणार्थीको काण्ड सतहमा आएपछि त अब कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने समस्या उत्पन्न भएको छ ।

आदर्श, निष्ठा र संघर्षका प्रतिमूर्ति भनेर व्याख्या गरिएका टेकनाथ रिजालजस्ता व्यक्ति नै नक्कली शरणार्थीमा मुछिएका छन् । कुनै वेलाका गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, टोपबहादुर, अख्तियार प्रमुख सबै अभियोगमा परेका छन् । यो देशमा के हुन लाग्यो ? साँच्चै आश्चर्य भन्ने अब केही बाँकी रहेन । अब केलाई आश्चर्य भन्ने ?

बुधबार, १० जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर