सम्पादकीय
राजनीतिक शक्तिको आडमा मुलुकमा अपत्यारिलो ढंगले गोरखधन्दा चलिरहेको तथ्य कतैबाट छिपेको छैन । केही समयअघिसम्म सामान्य आर्थिक हैसियत भएकाहरु राजनीतिक शक्ति आर्जन गर्ने बित्तिकै एकाएक ठूलो आर्थिक हैसियत बनाउन सफल बन्ने दृश्य नेपालका लागि सामान्य भइसकेको छ । जनसेवाको माध्यम राजनीतिलाई कसरी कमाईखाने भाँडो बनाइन्छ भन्ने उदाहरण नेपालमा बग्रेल्ती भेटिन्छन् । त्यसैको पछिल्लो उदाहरण हो, नेपालीलाई भूटानी शरणार्थी बनाउँदै विदेश लैजाने धन्दा । यो प्रकरणमा राजनीतिक दलका नेताहरुदेखि सरकारका वहालवाला सचिवसम्म जोडिएका छन् । एमाले सचिव टोपबहादुर रायामाझी, उनका छोरा, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरादेखि सचिव टेकनारायण पाण्डेसम्म मुछिएका छन् । सचिव पाण्डे त प्रहरी हिरासतमै पुगेका छन् । एमाले नेता रायामाझी, उनका छोरा र बादलका छोराविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
शक्तिको आडमा पैसाका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालय र प्रहरी नेतृत्वको पछिल्लो हिम्मत स्वागतयोग्य छ । पैसाको लोभमा जथाभावी गर्नेहरु शक्तिकै आडमा जोगिन्छन् भन्ने भाष्य स्थापित भइसकेको नेपालमा यो भाष्य बदल्ने पहल जरुरी थियो । यसरी ‘ठूला माछा’हरुलाई कारवाहीको दायरामा ल्याउने पछिल्लो प्रयास स्वागतयोग्य छ । यस्तै पहलले निरन्तरता पाउने हो भने शक्ति भजाएर जथाभावी गर्नेहरु निरुत्साहित त बन्ने नै छन्, राज्यप्रति गुम्दै गएको नागरिक भरोसा पनि ब्यूँतने छ ।
प्रहरीले गरेको अनु्सन्धान अनुसार भूटानी शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउन संगठित गिरोहले १ हजार १७ जना गैरशरणार्थी युवाको विवरण गृह मन्त्रालयमा बुझाएको र गिरोहले राजनीतिक दलका नेता, प्रशासक र बिचौलियाको मिलेमतोमा सूची तयार गरेर बुझाएको पाइएको छ । उक्त गिरोहले युवालाई शरणार्थी बनाएर अमेरिका लैजाने ‘ग्यारेन्टी’ सहित जनही न्यूनतम २० लाख रुपैयाँ उठाएको पनि पाइएको छ । शरणार्थीको आवरणमा अमेरिका पठाइदिने खेलमा गिरोहले सयौं युवाबाट १० करोड रुपैयाँभन्दा बढी रकम उठाएको उजुरी परेको थियो । ठगीका विषयमा अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरोहका केही महत्पूर्ण सदस्यहरुलाई पक्राउ गरेको र पक्राउ गर्न थालेको घटनाले अब यसको पर्दा उघ्रिने आशा गर्न सकिन्छ । यत्ति हो, कुनै पनि शक्ति केन्द्रको आडमा यो घटनाको छानबिन प्रभावित बन्नु हुँदैन ।
मुलुकमा अहिले पनि दिनरात श्रम गरेर पालिनेहरुलाई हातमुख जोर्नसमेत धौ–धौ छ । तर, यही मुलुकमा त्यस्तो वर्ग पनि छ, जसले सधैं ऐश आरामको जिन्दगी जिउने छुट पाइरहेको हुन्छ । शक्तिको आड पाएकाहरु, राजनीतिक संरक्षण पाएकाहरु, कर्मचारी संयन्त्रसँग सेटिङ मिलाएकाहरु यो सूचिमा पर्छन् । राज्य तिनका अघि निरीह भइदिँदा नै यस्ता ठगहरु सदा शक्तिशाली हुने अवस्था आउने गरेको हो । अहिले जसरी नै गलत क्रियाकलापविरुद्ध प्रहरी बलियोसँग पेश हुने, राज्यका अन्य निकायहरु पनि सोही इमान्दारी अनुसार प्रस्तुत हुने हो भने यस्ता गोरखधन्दा अन्त्य हुन बेर लाग्नेछैन । सरकारले यो घटनालाई सुरुआती स्टन्टमा सिमित पार्नु हुँदैन । निष्कर्षमा पुर्याएर दोषीहरुलाई दण्डित गर्न सक्नुपर्छ ।