पाँचथर । पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
शीघ्र डाइग्नोष्टिक परीक्षण गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो ।
सङ्कलित स्वाबको कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणबाट पनि नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको । यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण सम्पन्न भएको छ । उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
४५ सय घरपरिवारलाई राहत वितरण
पाँचथरमा ६ वटा स्थानीय तहहरुले राहत वितरण थालेका छन् । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो ।
जिल्लाको फिदिम नगरपालिकाले करीब एक हजार परिवार, याङवरक गाउँपालिकाले ३३९ परिवार, हिलिहाङले ११३९ परिवार, फालेलुङले ११४३ परिवार, फाल्गुनन्दले ४९० परिवार तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् । यीमध्ये अधिकांश स्थानीय तहमा वितरणको काम सम्पन्न भइसकेको छ ।
जिल्लाको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।