पुण्य पी अधिकारी
‘कुनै पनि प्रकारका भौतिक, शारिरीक एवम् मानसिक दण्ड, सजाय वर्जित हुन्छ र बालबालिकालाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तर रूपमा भइरहेको हुन्छ ।’ उक्त वाक्यांश “बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७” मा उल्लेखित छ । संविधानले बालबालिकालाई कुनै पनि क्षण वा प्रहर कुनै पनि दण्ड, सजाय वा यातनालाई वर्जित गरेको छ ।
तर, विशेष गरी सामुदायिक विद्यालयमा बालबालिकाका आवश्यकता भन्दा बढी स्वतन्त्र भएका कारण समस्या सिर्जना हुने गरेको छ । केही समय अघि झापाको हिमालय माध्यमिक विद्यालयमा छात्राहरूले मिलेर एक जना सहपाठीलाई निर्घात कुटपिट गरेका थिए । सो विषय कानुनी उपचारका लागि प्रहरीसम्म पुगेको थियो ।
त्यस्तै प्रकृतिको घटना मोरङको मिक्लाजुङ्ग गाउँपालिका–३ धोवेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा वैशाख ६ गते दोहोरिएको छ । ‘प्रेमिसँग बोलेको वा पारिवारका सदस्यलाई अपशब्द’ बोलेको विषयमा १३ वर्षीया बालिकालाई निर्घात कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।
बालिकालाई विद्यालयको कुनै एउटा कक्षमा दुई घण्टासम्म बन्धक बनाएर कुटपिट गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १३ जना बालिकालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।
यो घटनालाई लिएर शिक्षकहरू, अभिभावकहरूबिच मतभेद देखिएको छ । शिक्षकहरूको मतमा विद्यालय अनुशासन सिकाउने क्षेत्र भएकाले कहिलेकाँही दण्ड वा सजाय वा प्रोत्साहनका अभ्यास विद्यालयमा हुनु आवश्यक छ । अभिभावकको मतमा विद्यालयमा बालबालिकालाई शिक्षा दिने हो । दण्ड वा सजाय दिने होइन ।
यही मतभेदका बिचमा माथिका दुई घटनाले उत्पन्न गराएको अवस्थाका विषयमा गम्भीर हुन सबै पक्षको आवश्यकता देखिन्छ । नैतिक शिक्षा नभएको र सामुदायिक विद्यालयमा आवश्यकता भन्दा बढी स्वतन्त्रता भएकाले विद्यालयहरू बढी अराजक भएको कतिपय शिक्षकहरूको आरोप छ ।
सबै भन्दा महत्वपूर्ण विषय, मिक्लाजुङमा बालिकामाथि कुटपिट घटनाले देखाएको छ । एक जना बालिकालाई बन्धक बनाएर निर्घात कुटपिट गरेको अरू सहपाठीले रमिते बनेर हेर्दा कोही कसैले रोक्ने कोसिस गरेको दैखिदैन । अर्को पक्ष कुटपिट घटना आनन्दसँग मोवाइलमा भिडियो खिचिएको ।
हालका दिनमा सामाजिक सञ्जाल हामी सबैको अभिन्न अङ्गजस्तै बनेको छ । सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । तर मिक्लाजुङमा सहपाठीमाथि निर्घात कुटपिट योजनावद्ध ढङ्गले सामाजिक सञ्जालमा अपलोड गर्नकै लागि खिचिएको जस्तो भान हुन्छ । यसले बालबालिकहरू सामाजिक सञ्जालको प्रयोग कसरी गर्दा रहेछन् भन्ने तीतो सत्य उजागर गरेको छ ।
कुटपिट घटनामा संलग्न भएको आरोपमा प्रहरीले १३ जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । भोलिका दिनमा घटनामा दोषी ठहरिए कानुनी कारबाहीका लागि अरू प्रक्रिया अघि बढ्दा १३ देखि १६ वर्ष उमेर समूहका बालिकाहरूको मनोविज्ञानमा कस्तो प्रभाव पर्ला भन्ने भय यो घटनाले सतहमा ल्याएको छ । साथै यो घटनाले बालबालिकालाई नैतिक शिक्षाको अभाव हो ? भन्ने प्रश्नचिन्हृ समेत खडा गरिदिएको छ ।