धर्मले अनुशासनमा बाँध्न सघाउँछ

 स्नेहा खरेल

हामी मठमन्दिरमा राखिएका ढुंगाको मूर्तिलाई भगवान् भन्दछौं । त्यही ढुड्गो पुज्नुलाई धर्म मान्छौं र गेरुवा वस्त्र लगाएर लामोलामो दाह्री जुँगा पाल्नेलाई धर्मात्मा वा धार्मिक गुरु मान्छौं । र त्यो सरासर गलत हो । जीवनमा असल काम गर्नु धर्म हो । धर्मले मानिसलाई कर्तव्यपरायण बनाउँछ । कर्तव्यले लगनशील र इमानदार बन्न सिकाउँछ । अरूको मन नदुखाउने एवम् असहाय, गरिब र निमुखालाई सहयोग गर्ने मानिस धार्मिक हुन् । धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो । सम्पुर्ण मानवहरूको गुण एकै हुन्छ । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ ।

कहिलेकाहीं, ‘धर्म’ शब्दलाई ‘संगठीत धर्म’को रूपमा पनि हेर्ने गरिन्छ । संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समूहलाई जनाउँछ जसले संयुक्त रूपमा एउटै धर्म संयुक्त रूपमा पालना गर्दछन् । यस्ता संगठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ । अरूको सेवामा मन लगाउने र कोही कसैप्रति कुभलो नचिताउनेलाई धर्मात्मा भनिन्छ । हामीलाई धर्म भन्ने चिजले सधैं समान व्यवहार गर्न, सफा रहन र स्वच्छ मनले सेवा गर्न सिकाउँछ । वास्तवमा ढोगी र अन्ध आँखाले नहेरी सही तरिकाबाट हेर्ने हो भने धर्मको ठूलो महत्व छ । धर्मले मानिसलाई सत्य, नैतिकता, आदर्स, ईमानदारीता कर्ममा निष्ठावान रहन सिकाउँछ जो मानिसले धर्ममा विश्वास राख्छ उसले कहिलै हिंसा र अपराध गर्दैन मानव सभ्यतालाई विश्वमा चिनाउने काम पनि धर्मले नै गर्दै आएको छ कुनै पनि धर्मले हत्या, हिंसा र अराजकता गर भन्दैन ।

आजभोलि हाम्रो समाजमा धर्मका नाममा विभिन्न किसिमका विकृतिहरू फैलिरहेका छन् । आफ्नो मिहिनेत र पसिना असल कामका लागि खर्च गरेर आफ्नै पौरखमा रमाउनुको साटो नक्कली दाढी जुँग पालेर कमण्डलु समाएर गेरुवा वस्त्र पहिरिएर दिनभरि माग्दै हिँड्ने, लुटपाट गर्ने प्रवृत्ति बढिरहेको छ । आफूलाई साधुसन्त र भगवान्का चेला भन्न रुचाउनेले विभिन्न किसिमका अनैतिक क्रियाकलाप गरेको हामीले सुन्दै र देख्दै आएका छौं । धर्मको नाममा जालसाजी र हुलदङ्गा मच्चाउनेलाई सच्चा दिलले सेवा गर्नुको अर्थ के नै हुन्छ र ! हाम्रो समाजमा उखानै छ, ‘मुखमा राम राम बगलीमा छुरा ।’ सधैं अर्काको मन दुखाउन र रुवाउन तल्लीन रहने व्यक्ति पापी हुन् । पापी मान्छेले अरूलाई सताउनुमा आनन्द मान्छन् । जसले मठमन्दिर धाउँछ र निर्दोष प्राणीको बली चढाउँछ र भगवान्को पूजा गर्छु भन्छ त्यसले नै बढी अन्याय र अत्याचार गरेको हुन्छ ।

हामीले धर्मका नाममा खर्च गर्ने दान, दक्षिणा र धन सम्पत्ति ज्ञानका कमीले गर्दा भएको हो । आफ्नो असली रूप लुकाएर छद्मभेष धारण गर्नेलाई पसिनाको मोल नबुझाई भोका नाङ्गा गरिबहरूलाई खान दियौं भने मात्र उसको आत्माले आशिष दिन्छ भने एकजनाको प्राण पनि बाँच्छ । आत्मा नै हामी सबैको भगवान् हो । आत्मा सन्तुष्ट हुनु नै भगवान् खुसी हुनु हो । धर्मको महत्व त्यस्तो व्यक्तिले बुझेको हुन्छ, जसले छलकपट र नीच भावनालाई त्यागेर परहितमा आफ्नो मन समर्पण गरेको हुन्छ ।

आफ्नो ध्यानलाई एकचित्त बनाउँदा मनमा कलुषित भावनाहरू उब्जन पाउँदैनन् । स्वास्थ्यलाई तन्दुरुस्त राख्न यस्ता ध्यान गर्नुपर्छ भनेर हामीलाई हजुरआमाहरूले भन्ने गनुहुँदैनथ्यो । देउता रिसाएर कान काँट्छन् भनेर हामी डराएर त्यस्तो देउता रिसाउने केही काम गर्दैनथ्यौं आज आएर बुझ्दा त त्यो देउता सेउता केही रहेनछ । पानी खाने पंधेरा वरिपरि फोहोर हुन्छ र पानी दूषित बन्छ भनेर त्यसो भनिएको रहेछ । देउताले कान पनि काट्दा रहेनछन् । सानै उमेरदेखि बालबच्चामा देउता छ, रिसाउँछ भन्यो भने मनमा अरूप्रति नकारात्मक भावना नआओस् भन्नका लागि रहेछ । धर्मको महत्व यसरी पो बुझिने रहेछ ।

हाम्रो समाजमा हिन्दु, बौद्ध, इसाई र इस्लाम जस्ता विभिन्न धर्म मान्ने मानिस बसोबास गर्दछन् । उनीहरूले आफूलाई अनुशासित र कर्तव्यनिष्ठ बनाउन आ–आफ्नै तरिकाले धर्म मान्दछन् । धर्मका नाममा एकले अर्कालाई भेदभाव गर्नु राम्रो होइन । जुनसुकै धर्म मान्ने व्यक्ति भए पनि एउटै धर्म मानवता हो भन्ने कुरालाई हामीले आत्मसात् गर्नुपर्छ । धर्मका नाममा आफैंले बनाएको नियमबाट मानिस नै पीडित बन्न दिनु हुँदैन । यसैले धर्मले एकातिर हामीलाई मनमा कलुषित भावना राख्न दिँदैन भने अर्कोतिर अरूको अपमान हुने काम गर्न पनि रोक्छ । सधैं असल काम गर्नुपर्छ भन्ने कुरा पनि धर्मले सिकाउँछ । धर्म एक प्रकारको अनुशासन हो । अनुशासनहीन काम गर्नु अधर्म मानिन्छ । त्यसैले मानिसलाई गलत क्रियाकलापबाट जोगाउन र असल कार्यप्रति अग्रसर तुल्याउन धर्मको महत्व अपरिहार्य रहेको छ ।

बिहिबार, १४ बैशाख, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर