सम्पादकीय
मुलुकमा अहिले जुन आर्थिक संकट देखिएको छ । त्यसको कारणहरु धेरै भएपनि कोरोना महामारी प्रमुख हो । दुई चरणको कोरोना महामारीको कारण करिब एक वर्ष मुलुक ठप्प भएकोले त्यसबेला उत्पादनको काम हुन सकेन । उपभोग बढ्यो । गैरउत्पादनमुलक क्षेत्रमा लगानी उच्च बन्यो । भुकम्प र नाकाबन्दीले थिलथिलो बनाएको अर्थतन्त्रलाई कोरोना महामारी र विश्वव्यापी मन्दिले धक्का दिएको हो । यद्यपी त्यसमा सुधार हुँदै गएको संकेत देखिएको सरकारी रिपोर्ट सार्वजनिक भएको छ । त्यसप्रति सन्तोष गर्नुपर्छ । तर, आम नागरिक र राज्य त्यसप्रति अझै जिम्मेवार र चनाखो हुनुपर्ने अवस्था भने कायमै छ ।
आर्थिक संकटको सामना गर्नुपर्ने अवस्थामा फेरि कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । विश्वलाई नै हायलकायल बनाइसकेको कोरोना भाइरस रोग (कोभिड–१९) फेरि पुनरावृत्त भइरहेको छ । अहिले संक्रमण उच्च बन्दै गएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । पछिल्लो समय मुलुकभर झन्डै ५ सय सक्रिय संक्रमित छन् । मंगलबार मात्र थप १०६ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । यसअघि चैत १७ गतेम १४७ जनामा संक्रमण पुष्टि भएको थियो । भाइरसको विशेषता नै निरन्तर स्वरूप फेरिरहने हुन्छ । २०२२ को अन्त्यसम्म कम्तीमा कोरोनाको १७ उपप्रकार देखिएको विज्ञहरु बताउँछन् । अहिले देखिएको भाइरस पनि ओमिक्रोनकै नयाँ हाइब्रिड भएको हुँदा विज्ञहरू नै रनभुल्लमा छन् ।
२०१९ मा सबैभन्दा पहिलो पहिचान भएको कोरोना भाइरसको सुरुआती चरणमा स्वाद र गन्ध गुमाउने लक्षण बिरामीहरूमा देखिएको थियो । रुघाखोकी लाग्नु, ज्वरो आउनु, ढाड दुख्नु, आँखा दुख्नु र थकाइ महसुस हुनुजस्ता कोरोनाका लक्षण हुन् । यसले दीर्घरोगी, ज्येष्ठ नागरिक, प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिलाई धेरै क्षति पुर्यायो । यसबाट बच्ने उपाय भनेको साबुनपानीले हात धोइरहने, सेनिटाइजरको प्रयोग गर्ने, खोक्दा र हाच्छिउँ गर्दा कपडा वा बाहुलीले मुख छोप्ने गर्नु हो । मास्कको प्रयोग त झन् अनिवार्य मानिएको छ । भीडभाडमा नजाने, दूरी कायम गर्नेतिर पनि ध्यान दिन आवश्यक छ । यस्तै यसबाट बच्न खोप लगाउनुपर्छ । सरकारले खोपको बुस्टर डोज लगाइरहेको छ ।
सरकारले कोरोना संक्रमण र यसको असर कम गर्न सचेतना फैलाउनुपर्छ । राज्यले स्वास्थ्यका पूर्वाधार तयार गर्नुपर्छ । तर, सर्वसाधारण नागरिकका पनि आफ्नै दायित्व छन् । त्यो भनेको स्वास्थ्यका मापदण्डको पालना हो । सर्वसाधारण नै सचेत हुने, जिम्मेवार बन्ने र स्वास्थ्यका मापदण्ड पालना गरिदिने हो भने कोरोना फैलन पाउँदैन । हामी नेपाली लापरवाही ज्यादा होसियार कम छौं । त्यस्तो कमजोरी गर्नु हुँदैन । खोपलाई पूर्णता दिने वा बुस्टर खोप लगाउन छुटेको भए त्यो पनि लगाउनुपर्छ । पटक–पटक पुनरावृत्त यो भाइरसबाट मानवजातिले पूर्णमुक्ति कहिले पाउँछ भन्ने नै यकिन छैन । त्यसैले सबै सचेत हुन आवश्यक छ ।