पुण्य पीअधिकारी
सडकमा सवारी पार्किङ्ग वर्जित वा पार्किङ्ग गर्न पाउनु पर्छ भन्ने विषयले प्रदेश राजधानी विराटनगर तातेको छ । सामाजिक सञ्जालमा आ–आफ्ना तर्कसहित पार्किङ्ग ठिक वा पार्किङ्ग बेठिक भन्ने मत सार्वजनिक भएका/गरिएका छन् । सडक सबैको साझा सम्पत्ति भएकाले सबैले आ–आफ्ना तर्क राख्नु मनासिव छ ।
तर, महानगरपालिकाले लिएको व्यवस्थित सवारी पार्किङ्गको विषयमा विरोध गरिहाल्नु पर्ने आवश्यकता भने खासै देखिँदैन । विराटनगर बजार क्षेत्रमा पार्किङ्गका विषयलाई लिएर पटकपटक विवादहरू आएका छन् । व्यापारीहरूले कहिले पार्किङ्गका कारण समस्या भएको र व्यापार नभएको आरोप लगाएका छन् । पसल अगाडि सवारी पार्किङ्ग हुने गरेका कारण व्यापार–व्यवसायमा समस्या भएको भन्दै व्यापारीहरूले पार्किङ्गको विरोध गरेकै हुन् । आज फेरी तिनै व्यापारी सडकमा पार्किङ्ग नहुँदा ग्राहक नआएको र व्यापारमा मन्दी छाएको भन्दै विरोध गर्दैछन् । हरेक कुरामा विरोध गर्ने हाम्रो बानीले सुधारका प्रयासहरूलाई समेत धुमिल बनाउँदै लगेका छन् ।
प्रदेश राजधानी विराटनगरको जनसङ्ख्या तीन लाख बढी भएको मानिन्छ । महानगरले लिएको व्यवस्थित पार्किङ्ग नीतिलाई अधिकांश महानगरवासीले रूचाएका वा समर्थन गरेका छन् । व्यवस्थित पार्किङ्ग नीति आफैंमा सकारात्मक मुद्दा हो । यसले महानगरको रूपलाई कुरूप बनाउने भन्दा सुन्दर बनाउने कुरालाई सबैले बुझ्न आवश्यक छ । महानगरपालिकाको तर्कलाई आधार मान्ने हो भने महानगरले बजार क्षेत्रमा हरेक तीन मिनेट दूरीमा पार्किङ्गको व्यवस्था गरेको छ र सोहीअनुसार व्यवस्थित पार्किङ्ग हुनेछ ।
मुलुकमा गृहयुद्धको समाप्तिपछि यथास्थितिवादी भन्ने शब्दको प्रयोग व्यापक रूपमा भएको थियो । अझै पनि नेपाली राजनीतिमा विशेष परिस्थितीमा यथास्थितिवादी भन्ने शब्द चर्चामा आउने गरेको छ । जुन शब्द केही समयअघि चर्चामा रहेको व्याख्यात्मक टिप्पणाी भन्दा चर्चित थियो ।
महानगरले बजार क्षेत्र र सडकलाई खुल्ला बनाउने हेतुले व्यवस्थित पार्किङ्ग र सडकमा पार्किङ्ग वर्जित अभियान चलाएकोमा विरोध जनाउनेहरूलाई यथास्थितिवादी शब्दले समेट्छ वा समेट्दैन भन्ने छुट्टै चर्चाको विषयहुन सक्छ । तर सराकात्मक कुरालाई हामी सबैले परिर्वतनशील भएर साथ दिनु अनिर्वाय छ । महानगरले लिएको नीतिले भविष्यमा प्रदेशको राजधानी शहरको परिचयलाई व्यापक बनाउने आशा राख्नु हामी सबैको पक्षमा हितकर हुने पंक्तिकारको बुझाइ छ ।
व्यवस्थित पार्किङ्गको विषय अहिले जे जति पेचिलो बनेको छ । त्यो भन्दा बढ्ता पेचिलो महानगरले सञ्चालन गर्ने भनिएको नगरबस सञ्चालन पछि देखिनेछ । सडक नै अवरोध हुने गरी पार्किङ्ग गर्ने हाम्रो बानीले भोलिका दिनमा महानगरले सञ्चालन गर्ने भनिएको नगर बसलाई सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने एउटा प्रमुख कारण जथाभावी सडकमा हुने पार्किङ्ग समेत हुने निश्चितप्राय : छ ।
जसका कारण हामीलाई परिर्वतनशील भन्दा यथास्तिथिवादीका रूपमा परिचित गराउँदै लैजाने छ । व्यवस्थित पार्किङ्गको विरोध गर्ने हाम्रो शैलीले हामीलाई परिर्वतनशील वा यथास्तिथीवादी के भन्नेमा सदैव दोधारमा राख्ने निश्चित छ ।