बन्धु पोखरेल
पौराणिककालमा शुक्रचार्य नाम गरेका एक जना दैत्य गुरु थिए । शुक्रचार्य कांग्रेस थिए या कम्युनिष्ट थाहा भएन । तर सोमरस (रक्सी) खाने आदतका कारण यी पक्कै पनि एमाले थिएनन् भन्न चाहिँ सकिन्छ । भगवान शिवको आशीर्वादले यिनले मृतःसञ्जीवनीको विद्या पाएका थिए । ऊ बेला देव र दानवबीच देवासुर संग्राम भइरहन्थ्यो । देवताका गुरु बृहस्पतीलाई भने शुक्रचार्यको जस्तो प्राणी मरेपछि पनि ब्यूँउतान सक्ने खालको विद्या प्राप्त थिएन ।
कथा अलिक लामो छ । शुक्रचार्यको विद्या चोर्न वा जान्न बृहस्पतीकै कच नाम गरेका छोराले प्रयास सुरु गरेको कथामा जान्न पाइन्छ । कचको शीलस्वभाव र गुरुप्रतिको अनुराग देखेर शुक्रचार्यकी छोरी देवयानी कचसँग भित्रभित्रै मोहित हुन पुगेकी पनि कथाले भन्छ । यता बृहस्पतीका छोरा कच गुप्त रुपमा मृतःसञ्जीवनी विद्या सिक्न आएको थाहा पाएर दानवहरूले उनको तीन पल्टसम्म हत्या गरेको कथामा उल्लेख छ ।
कचको दुई पटक हत्या हुँदा छोरी देवयानीको आग्रहमा शुक्रचार्यले मृतः सञ्जीवनी विद्याले उनलाई पुनर्जीवित गरेको कथामा पढ्न पाइन्छ । तर, तेस्रो पटक गरिएको कचको हत्या भने अलिक विशिष्ट प्रकारको हुन्छ । तेस्रो पटक दानवहरूले कचलाई मारेर सिलौटामा पिसेर तिनै शुक्रचार्यले खाने सोमरस (रक्सी)मा मिसाइदिएका हुन्छन् । यसो गर्दा कचको मृतः शरीर शुक्रचार्यकै पेटमा पुग्छ ।
अन्तरदृष्टिले हेर्दा शुक्रचार्यले कचलाई आफ्नै पेटमा देख्छन् । अब निकालौं आफैं मरिने डर ननिकालौ छोरी देवयानीको विलापबीचको द्विविधामा शुक्रचार्यले पेटभित्रका कचलाई मृतःसञ्जिवनीको विद्या दिन बाध्य हुन्छन् । कचले यस्तो विद्या पाएपछि एकले अर्कालाई पालैपालो जीवित तुल्याएको कथाले भन्छ ।कथाले यो पनि भन्छ कि रक्सी खाने आदतका कारण शुक्रचार्यले कचलाई पिउन पुगे । यसबाट शुक्रचार्यलाई भयानक ग्लानी भयो । रक्सीले प्राणीको विवेक नष्ट गर्दाे रहेछ भन्ने उनलाई ज्ञान पस्यो । ज्ञान प्राप्त भएपछि उनले रक्सी नखाने प्रण गरेछन् र अरुलाई पनि खान हुँदैन भने छन् ।
हिजोआज यहाँ कसैकसैलाई रक्सीले विवेक नष्ट गर्छ भन्ने थाहा भएजस्तो छ वा रक्सी पच्न छाडेजस्तो छ । ‘नौ सौ चूहे खा के बिल्ली हज को चली’ भने झैं सर्वज्ञानी महाज्ञानीले फ्याट्टै भनिदिए कि रक्सी खाने यो वा त्यो हुनै सक्दैन । कमाण्डरले यति भनेपछि रक्सी खाने कि नखाने यो जोसँग सम्बन्धित छ उनैले जानून् । नभए कुनै बेला बीरबलले अकबरलाई भनेजस्तो यसो पनि भन्नु नपरोस् कि ‘गधाले चाहिँ रक्सी खाँदैन हजुर, दिनभरि यो बाटो यहीँ हुन्छ रात परेपछि कता जान्छ थाहा भएन ।’
पोखरेलको फेसबुक वालबाट साभार गरिएको ।