स्नेहा खरेल
घडी शब्दको उच्चारण अनुसार यो घडाको स्त्री लिंगी शब्द हो । घडा भन्नाले गाग्रो अथवा गाग्री भन्ने बुझिन्छ । पौराणिककालमा समय मापन यन्त्र एक लोटा अथवा प्याला आकारको ताम्र निर्मित भाँडो हुन्थ्यो । यो भाँडो कुनै अनुभवी मानिसले बनाउँथे र यसमा सरकारद्वारा मान्यता प्राप्त छाप लगाउनु पथ्र्याे । यसै भाँडोलाई घडी भनिन्थ्यो । घडीको पिँधमा एउटा सानो प्वाल पारिएको हुन्थ्यो । समय ज्ञात गर्नको लागि घडीलाई एउटा भाँडामा पानी भरेर त्यसै माथी राखिन्थ्यो । घडीको पिँधमा भएको प्वालबाट अलिअलि गर्दै पानी घडीमा भरिदै जान्छ र एक घडी समय पुरा भएपछि घडी पानीमा डुब्छ । फेरि त्यसलाई खाली गरेर दोहराइन्छ । यो थियो पुरानो जमानामा समय देख्ने एकाइ र यन्त्र ‘घडी’ तर आधुनिक जमानामा घडी भनेको हुन त समय देखाउने यन्त्र नै हो । तर एकाइ हैन ।
घडी बनाउने विज्ञानमा सूर्यघडी र यसका काँटाहरू प्रारम्भिक कार्यहरू थिए । सूर्यकिरण हुने समयमा यसले राम्रो काम गरे पनि रात परेपछि यो व्यवस्थाले काम दिदैनथ्यो । सिक्टा घडी लगभग ३५०० बीसीतिर आविष्कार गरिएको थियो । त्यसले आधारभूत रूपमा समय अन्तराल अथवा बितेको समय मापन गर्न मद्दत गर्दथ्यो । सिकटा घडीमा भएको बालुवाको कणले एक सिसाबाट अर्काे सिसामा एक साँघुरो भाँडोद्वारा समय बितेको जानकारी दिन्थ्यो । इजिप्टियन पानी घडी अथवा क्लोप्सिड्रा पनि सिकटा घडीको एक रूप हो, जसले दुई भाँडाहरू बीचको पानी थोपा–थोपा खसाल्न मद्दत गर्दछ र कणीय सामानको सट्टामा प्रयोग गरिन्छ । क्लोसिड्रा लगभग १५०० बीसीतिर आविष्कार गरिएको थियो र यसलाई ग्रीक र रोमनहरूले विस्तृत रूपमा प्रयोग गर्दथे । तर यसले ठीक समय प्रमाणित गर्दैनथ्यो किनकि थोपाको तरङ्गहरू पानीको तापक्रम, तौल र चापद्वारा प्रभावित हुन्थे ।
सन् ७२५ मा एक चिनियाँ यी जिङ नामक भिक्षुले यान्त्रिक घडीको सबैभन्दा राम्रो अग्रदूत मान्न सकिने कार्यको विकास गरे । पछि एक फ्रेन्च बेनेडिक्टाइन भिक्षु जर्बर्ट डी औरिल्याकले गणनपटल सन्तुलन गर्न तौलद्वारा कुद्ने औजारको एक प्रणालीको नमूना तयार पारे । यो आविष्कार विज्ञानको इतिहासमा पहिलो यान्त्रिक घडीको रूपमा सूचित गरिएको छ ।
घडी बारे केहि रोचक तथ्य
१. किन विज्ञापन गर्न राखिएका सबै घडीको समय १० बजेर १० मिनेट सेट गरिएको हुन्छ ?
यी घडीका सुई १० बजेर १० मिनेटमा हुँदा सन्तुलित अवस्थामा देखिन्छन् । मानिसहरु सन्तुलित चिज हेर्न मन पराउँदछन् । आकर्षणकै लागि विज्ञापन गरिने भएकाले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन प्रायः १० बजेर १० मिनेट जाने गरी मिलाइने मनोवैज्ञानिकहरुको भनाइ छ । त्यस्तै १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको हुनसक्ने धेरैको विश्लेषण छ ।
साथै घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँछ जुन विजय तथा जीतको संकेत पनि हो । १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको अवस्थाले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन त्यसैले पनि विज्ञापनमा घडीमा १० ः १० बजाइएको आंकलन गरिन्छ ।
२. किन बायाँ हातमै लगाइन्छ घडी ?
घडी बायाँ हातमा बाँध्नुभन्दा पहिले खल्तीमा राख्ने चलन रहेको थियो । हामीले पनि पुरानो जमानामा चल्ने घडी देखेको हुनुपर्छ, जसलाई खल्तीमा राख्ने गरिन्थ्यो र त्यहीँबाट झिकेर समय हेर्ने गरिन्थ्यो ।
त्यसै क्रममा केही मानिसले चेन भएको घडी हातमा बाँध्न थाले र त्यही वेलादेखि घडी हातमा लगाउने चलन सुरु भएको मानिन्छ । बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण धेरैजसो मान्छेले आफ्नो दाँया हातले काम गर्ने गर्नु नै हो । जब हाम्रो दायाँ हात काममा व्यस्त हुने गर्दछ, बाँया हातमा यस्तो बेला समय हेर्न सजिलो हुन्छ । यसो गर्दा दाँया हातले काम गरिरहन पनि सकियो । बायाँ हातमा घडी बाँध्नु सामान्यजस्तै भएपछि घडीहरू पनि यस्तै हिसाबले बनाउन थालियो । दाँया हातले अन्य काम गर्दा हाम्रो घडी सुरक्षित पनि रहने भयो । यसो गर्दा घडी फोहर हुने, स्क्रयाच हुने र काम गर्दा विभिन्न ठाउँ जस्तै टेबुलमा ठोक्किने सम्भावना पनि कम हुन्छ ।