क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन् । वडा नं १ कुलुङको सिंहमालिका माध्यमिक विद्यालयमा बस्दै आएका उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

चौध दिनको समयावधि पूरा भएपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि उनीहरू घर फर्किएका हुन् । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोमा काम गर्दै आएका ती मजदुर सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेपछि गत चैत १७ गते भोजपुर आएका थिए ।

भोजपुर आएका उनीहरुलाई स्थानीयवासीले देखी वडा र प्रहरीलाई खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनुभयो ।

यसैबीच रामप्रसादराई गाउँपालिका–४ दलगाउँको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बस्दै आएका एक युवा पनि क्वारेन्टाइन पछि घर फर्किएका छन् । उनी गत चैत ५ गते दुबईबाट आएका थिए । हालसम्म भोजपुरमा ३४ जना क्वारेन्टाइनमा र ९० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुुरले जनाएको छ ।

कैदीबन्दीलाई सामग्री हस्तान्तरण

कारागार कार्यालय भोजपुरमा रहेका कैदीबन्दीलाई साबुन, मास्क र स्यानिटाइजर वितरण गरिएको छ । मङ्गलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुर र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति भोजपुरमार्फत जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ बाट सङ्क्रमण न्यूनीकरणका लागि कारागारमा रहेका कैदीबन्दीका लागि सामग्री उपलब्ध गराएको हो ।

रेडक्रस जिल्ला शाखा सदस्य राधिका तामाङले २२० थान मास्क, डेढ लिटर स्यानिटाइजर र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमार्फत आएको ११० थान डिटोल साबुन प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

यस्तै रेडक्रसले पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरलाई १० थान स्यानिटाइनर दिइएको रेडक्रसका कार्यक्रम अधिकृत तेज श्रेष्ठ जानकारी दिनुभयो ।

– रासस

बुधबार, ०३ बैशाख, २०७७, बिहानको १०:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर