विराटनगर । २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा धरान प्रतियोगिताबाट बाहिरिएको छ ।
पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि बाहीरीएको हो । प्रतिष्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित भएका हो । २२ औँ संस्करणमा पनि खार्साङसँग टाइब्रेकरमा नै धरान पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेपछि धरान खेलबाट बाहीरीनु परेको हो ।
खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरेका थिए । धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
जितसँगै खार्साङ सेमिफाइनलमा प्रवेश गरेको छ । भोलीको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ ।