विराटनगर । सुनसरीको दुहबी नगरपालिका – १२ पुर्वकुसाहा घर भएकी ७६ वर्षीया भगवतीदेवी गेलालको खुट्टा भाँचिएको एक साता भइसकेको छ । घरको सिँढीबाट लडेकी उनको देब्रे खुट्टा भाँचिएको छ ।
उनको परिवारले तत्काल विराटनगरस्थित कोशी अस्पतालको अर्थोपेडिक वार्डमा भर्ना गरायो । कोशी अस्पतालमा हप्ताको चार दिन हाडजोर्नीको शल्यक्रिया हुन्छ । आइतबार, सोमबार, बुधबार र बिहीबार । शुक्रबार अस्पताल आएका कारणले गेलालको खुट्टाको शल्यक्रिया बिहीबारको लागि चिकित्सकले समय दिए । वृद्धा गेलाल खुट्टा दुखाइको पीडा सहेर चिकित्सकले दिएको समयसम्म कोशीमा बस्ने निधो गरिन् ।
बिहीबार उनको शल्यक्रियाको समय थियो । खुट्टाको अप्रेसनपछि दुखाइको पीडा कम हुने भएकोले राहत महसुस हुने अपेक्षा राखेकी थिइन् । तर, उनको अपेक्षा निराशामा परिणत भयो । अस्पतालको अर्थोपेडिक वार्डमा जाने पानीको पाइपमा लेदो जमेर बुधबार २ बजेपछि पानी नभएपछि बिहीबार हुने भनिएको सात वटा शल्यक्रिया रोकिएको छ । जसले गर्दा विरामी अस्पतालको शैय्यामा छटपटाइरहेका छन् । यसरी अस्पतालको शैय्यामा छटपटिने मध्येका अर्काे हुन्, चन्द्रमाया राई ।
सप्तरीको रुपनगर घर भएकी ६० वर्षीया राईको पनि लडेर देब्रे खुट्टा भाँचिएको बिहीबार पाँच दिन भयो । आर्थिक अवस्था नाजुक भएकी वृद्धा राईको उपचारको लागि छोरी परिस्का राइले सस्तोमा उपचार हुने भएकोले कोशी अस्पताल लिएर आएकी थिइन् । ‘आमाको उपचारमा ऋण खोजेर ल्याएको पैसा पनि सकियो । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन,’ छोरी परिस्काले गहभरी आँसु पार्दै भनिन्, ‘हस्पिटल बसेको पाँच दिन भइसक्यो । बिहीबार अप्रेसन हुने भनेर ३० हजार रुपैयाँमा स्टील पनि किनेँ । अप्रेसनको लागि १० हजार रुपैयाँ डिपोजिट पनि गरेको छु । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन ।’
बिहीबार हुने भनेको शल्यक्रिया पनि पानी नभएको भन्दै हुन नसकेको उनले बताइन् । ‘हामी जस्तो गरिवको लागि आशा र भरोसायोग्य अस्पताल भन्दै आएका थियौ । तर, हाडजोर्नी विभागमा जाने पानीको पाइप बिग्रिएको अहिलेसम्म नबनेको कारणले अप्रेसन हुन नसेको भन्दैछन्,’ उनले भनिन् ।
चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि विरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द भएको छ । अस्पतालको हाडजोर्नी तथा नशारोग विभागका प्रमुख डा. महेन्द्रप्रसाद महतोले शल्यक्रिया गर्नको लागि औजारहरू पानीमा पकाउनको लागि ‘अटोक्लेभ’ सम्म पानी नभएको कारणले अप्रेसन रोक्नु परेको बताए । ‘अप्रेसन थियटरमा शल्यक्रियाको लागि पानी आवश्यक पर्दछ । त्यसभन्दा पनि शल्यक्रिया गर्ने उपकरणहरु दुई घण्टासम्म अटोक्लेभमा राखेर उमाल्नुपर्छ । त्यसपछि औजारको प्रयोग गर्नुपर्छ,’ डा. महतोले भने, ‘हामी चिकित्सक शल्यक्रिया गर्न तयारी अवस्थामा रहेका थियौं ।’
प्राविधिक समस्याको कारणले गर्दा अर्थोपेडिक विभागसम्म आउने पानीको पाइपमा समस्या देखिएको उनले बताए । अस्पतालमा रहेका दुई जना प्लम्बर लगाएर बिहीबारसम्म अर्थोपेडिकमा देखिएको पाइपको समस्या समाधान गरेर शल्यक्रिया गरिनुपर्ने विरामी उपचार हुने कोशी अस्पतालका निमित्त मेसु डा. रविराज सिंहले बताए । ‘प्यूरिफाई वाटर’ मा दुई घण्टासम्म सामान उमालेर मात्रै शल्यक्रिया गर्ने वा बिरामीलाई लगाउनुपर्ने स्टिल निःसंक्रमित गराउनुपर्ने हुन्छ’, मेसु सिंहले भने, ‘हाडजोर्नी विभागको पानी आपूर्तिमा समस्या भएपछि त्यो सम्भव नहुँदा अप्रेशन कक्ष बन्द भएको हो ।’
उनले बिहीवारलाई अप्रेशन गर्ने तालिकामा रहेका विरामीको शल्यक्रिया शुक्रवार गरिने जानकारी दिए । शुक्रवार अप्रेशन तालिका नभए पनि बिहीवार शल्यक्रिया हुन नसकेपछि यो पटक शुक्रवार पनि अप्रेशन गरिने र त्यसैअनुसार तालिका राखिएको मेसु सिंहले बताए ।