स्वास्थ्य संस्थाहरुमा हुने राजनीतिक हस्तक्षेपको नमूना बनेको छ विराटनगरस्थित कोशी अस्पताल । सरकार फेरिँदैपिच्छे फेरिने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) हरुको कोशीमा लर्को नै छ । यसले यति धेरै अनिश्चय र अस्थिरता निम्त्याइरहेको छ कि , कोही किन अस्पतालको प्रमुख बनाइन्छ र किन हटाइन्छ भन्ने मेसोसमेत नपाइने अवस्था सिर्जना भएको छ । स्वयम् मेसु बनाइने र हटाइनेहरुले समेत आफू किन र केका लागि पदासिन बनेको र हटाइएको भन्ने भेउ नपाउने स्थिति छ । कोशीको नेतृत्वका लागि भइरहेको राजनीतिक खेल कति गहिरो भइसकेको छ भन्ने यसले पनि देखाउँछ ।
सरकारी स्वास्थ्य संस्थाको प्रमुखको यति चाँडो रुपमा हुने परिवर्तनले सम्बद्ध व्यक्तिबाट राम्रो कार्यसम्पादनको गुन्जायस नै नरहने अवस्था सिर्जना भएको छ । यसले दलीय शक्ति अभ्यास र कचिंगलको थलो पनि अस्पताल बन्ने अवस्था निम्त्याएको छ । शक्तिका आडमा मेसु नियुक्त हुने र शक्तिकै आडमा फेरिने प्रथाको अन्त्य नगर्ने हो भने मेसु पदको गरिमासमेत धुलीसात हुने खतरा बढेको छ । कुनै पनि सरकारी स्वास्थ्य संस्थाको प्रमुख बन्न निश्चय नै मापदण्ड नै मुख्य कुरा हुन्छ, हुनुपर्छ । वरिष्ठता, योग्यता, प्रशासनिक दक्षतालगायतका विषयहरुमा उम्दा चिकित्सकहरु नै अस्पतालको प्रमुख बन्न योग्य पात्रहरु हुन् । तर, कोशीमा यी सबै विषयले भन्दा जसले राजनीतिक शक्ति अभ्यास गरेर तालुकदार मन्त्रालयका मन्त्री रिझायो, उसैले जिम्मेवारी पाउने गलत अभ्यास स्थापित भएको छ । प्राज्ञिक हिसाबले बलियो मानिने चिकित्सकहरु नै राजनीतिक शक्ति केन्द्र धाउने र नियुक्ति लिने प्रचलन स्वीकार्ने अवस्थामा पुग्नु उनीहरुको पेशागत मर्यादाको पनि धज्जी उड्नु हो । बरु चिकित्सकहरुले निश्चित मापदण्डका आधारमा प्रमुख नियुक्तिको थिति बसाल्न सामूहिक प्रयास गर्नुपर्ने हो ।
अस्पतालको प्रमुखले निश्चित लक्ष्य निर्धारण गरेर सोही अनुसार आफ्नो टिमलाई परिचालन गर्नुपर्ने मुख्य दायित्व हुन्छ । तर, कुनबेला आफ्नो पद खुस्किने हो भन्नेसमेत टुंगो नहुने प्रमुखले कुन उत्साह र कुन आशाले योजना बनाउला ? टिम परिचालन कसरी गर्ला ? यसबारे सरकारलेसमेत ध्यान दिएको पाइँदैन । सत्ताको रिले दौडमा भागबन्डा गर्दा स्वास्थ्य मन्त्रालय जुन दलको भागमा पर्छ, त्यही दल निकट चिकित्सकले मेसुको जिम्मेवारी पाउने अवस्था कायम हुन्जेल यस्तै बेथिति रहिरहनेछ । यसले अस्पतालको विकासमा बाधा त पुर्याउँछ नै, चिकित्सकहरुकै पनि मर्यादा खोस्नेछ ।
कोशीका मेसुको मर्यादा खोस्ने काम सरकार स्वयम्ले गरिरहेको छ । र, यसमा चिकित्सकहरु नै सहयोगी बनेका छन् । एक वर्षमा तीन जना मेसु फेरिनु ,०७६ सालयता मात्रै ६ जना मेसु परिवर्तन हुनुले पनि यो पदका लागि हुने राजनीतिक खिचातानीको हद दर्शाउँछ । अस्पताललाई उसको सेवामुखी कामकै लागि चिनाउनु सबैभन्दा राम्रो काम हुन्छ , न कि दलीय हस्तक्षेपको थलोका रुपमा । सरकारले विधि तय गरेर निश्चित मापदण्ड अनुसार मेसु नियुक्त गर्ने काम गर्नुपर्छ । अन्यथा अस्पताल दलीय कचिंगलको तुष मेट्ने ठाउँ बन्नेछ, जसरी अहिले बनेको छ ।