विराटनगर । विराटनगरस्थित नवनिर्मित कोभिड–१९ उपचार केन्द्रलाई २ थान आई.सि.यु. बेड हस्तान्तरण गरिएको छ ।
आईतबार राउण्ड टेबल विराटनगरले अस्पताललाई २ लाख रुपैयाँ बराबरको आई.सि.यु. बेड हस्तान्तरण गरेको हो ।
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पतालकी मेसु संगीता मिश्रालाई विराटनगर राउण्ड टेबल नं. ५ र काठमाडौं राउण्ड टेबल नं. ४ को संयुक्त लगानीमा बेड हस्तान्तरण गरिएको हो । विराटनगर राउण्ड टेबलको कोषाध्यक्ष ऋषभ दाहालसहित टिमलाई सहयोगप्रति सामाजिक विकासमन्त्री जीवन घिमिरेले आभार व्यक्त गर्नुभएको थियो ।
विराटनगरस्थित कोशी अस्पतालमा गत शुक्रबारदेखि नियमित रुपमा कोरोना परीक्षण थालिएको छ । शुक्रबारदेखि हालसम्म भएका सबै कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।