कुमार लुइँटेल
पहिलो प्रदेशसभा बैठकमा तत्कालीन नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र राई ‘हाई हाई’ थिए । आलोचनात्मक चेत र वाकपटु भएका कारण पत्रकारहरुको समेत ध्यान खिचिरहे । उनले बोलेका सबै विषय समाचार बने, बनाइयो पनि । केही गर्ने र गर्नसक्ने नेताको रुपमा पत्रकारमाझ दरिएका थिए, उनी । संसदीय मामिला सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारदीर्घामा त ९३ मध्ये थोरै ध्यान दिइने सांसदको दर्जा पर्थे । बोल्नकै लागि मात्र बोल्नेहरुलाई संसदीय रिर्पोटिङका क्रममा पछ्याईंदैन किनभने उनीहरुका कुरा समाचार बन्दैनन् । बनाउने कुरा पनि भएन ।
अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदाको रापतापले अनि काठमाडौसँगको ‘लिगेसी’कै कारण माथिका मिडियाले पनि स्थान दिन्थे । भाषण बिक्थ्यो । प्रदेशस्तरीय र स्थानीय aमिडियाले नसमेट्ने कुरै भएन् । एक हिसाबले भन्ने हो भने सदनमा शून्य समय, विशेष समय, विधेयकमाथिको दफावार छलफल, समितिमा बोलेका विषय अनि सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथिको टिप्पणी, संशोधन गर्नुपर्ने विषय आदि धेरैमा राईले मिडियाको ध्यान खिचिरहन्थे । हुँदाहुँदा उनी मुख्यमन्त्री बनेर कोसी प्रोजेक्टको निवास पुग्दासमेत पत्रकारले पछ्याई गई समाचार बनाए । ‘मितव्ययी’ करार दिँदै ‘सरकारी निवासमा बसेको’ भन्ने समाचार सम्प्रेषित भए । पत्रकारको नजरमा हरदम परिरहने नेता थिए उनी ।
आफ्नै पार्टीभित्र पनि प्रमुख विपक्षी जस्ता । राईले आफ्नै दल तत्काली नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध बोलिरहे, स्थायी प्रतिपक्षी जस्तो बनेर । शेरधन राई नेतृत्वको सरकारको त उछितो नै काडे । पहिले पार्टीभित्र एउटै लाइनमा रहेका भीम आचार्य मुख्यमन्त्री बनेपछि उनले गरेका निर्णय अनि हतारका काम–कमजोरीलाई पनि सदनबाटै बडो तिखो गरी घोचपेच गरे । किसानलाई मलखाद वितरणदेखि अनुदानसम्मका कैयन् विषयमा भए भरका दोष अघिल्लै सरकारको भएको उनको टिप्पणी थियो ।
अरु विपक्षी दलका माननीयले सरकारको आलोचना गरिरहँदा राईका अगाडि फिक्का सुनिन्थे । उनी एक तमासले हाईहाई नै थिए । विषयको गहनता बुझेर सटिक रुपमा प्रस्तुत हुने बानी थियो । वास्तममा उनी सदनमा हुन्जेल ‘हिरो’ नै थिए । सदनमा प्रस्तुत हुने शैली र मौलिकपन आकर्षक थियो । बोल्नुपर्ने कुरा ठ्याङ्ै बोल्ने । बार्नुपर्ने केही छैन् ।
सरकारबाट बिदा भईरहँदा राईको मन्त्रिपरिषद्ले औपचारिक रुपमै जनतालाई धन्यवाद दियो । अब प्रदेशसभाको सदस्यको रुपमा उनको दोस्रो ‘इनिङ’ सुरु भएको छ । फेरि चुनाव जितेर सदनमा छिरेका छन् उनी । तर, सदनका हिरो तिनै राजेन्द्र राईको मूल्यांकन सरकार प्रमुखकको रुपमा भने ‘जिरो’ अर्थात् पूर्णत असफल भएर बिदावारी भएका छन् । अहिले त्यो नेतृत्वदायी कुर्सीमा एमालेका हिक्मत कार्की आसिन भएका छन् ।
२०७८ कात्तिक १६ गते मुख्यमन्त्रीको रुपमा पदासिन हुँदा एक हक्की, सरल, सुस्पष्ट अनि प्रदेशको विकासमा केही गर्न सक्ने भनि दुनियाँले अपेक्षा गरेका नेता थिए । तर त्यो अपेक्षा एकाएक रसातलमा पुगेको छ । ‘अनपेक्षित रुपमा पदमा पुगेर’ होस अथवा आफ्नै तत्कालीन दलभित्रका नेतृत्वसँगको ‘एक्सट्रीम इगो’ ले हो मुख्यमन्त्री भएपछि राईमा शैलीगत समस्या देखापर्न सुरु भयो । नामकरणको विषयमा सार्वजनिक कार्यक्रमहरुमा ‘अनावसनाब’ भाषण गरे । जातिगत विषयमा उराले, सडक संघर्ष गर्न उक्साहज गरेको आरोप लाग्यो । नामकरणको भाँडभैलो एमालेले झिकेको हो भन्ने ‘न्यारेटिभ डेभलप’ गर्दै आफू भने पानीमाथिको ओभानो बनिरहने । तर, यो विषयलाई टुङ्ग्याउन ‘सिन्को भाँचेनन्’ ।
अघिल्लो सरकारले आर्थिक बोझ र दायित्व थपिदिएको भाषण त गरे तर, प्रदेशको आन्तरिक आय बढाउने कामै गरेनन् । अहिले सरकारबाट बिदा भइरहँदा सरकारको थाप्लोमा १९ अर्ब दायित्व छाडिएको छ । ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा अवरोध गरेको भन्ने आरोप लगाउने आफूले भने आफ्नै दल सहभागी भएको गठबन्धनको सरकारलाई प्रदेशका अधिकार कार्यान्वयन गराउने विषयमा कुनै दिन खबरदारी गरेनन् । बरु कार्यक्रमका रिबन काट्न र भाषणबाजीमै मस्त र ब्यस्त रहे । मन्त्रालयको काम, मन्त्रीहरुबीचको समन्वय बढाउने, कर्मचारीतन्त्रको नैराश्यलाई हटाउने र जनजनका आवश्यकता मागलाई सम्बोधन गर्न सकेनन् । बरु कार्यकर्तामार्फत् कार्यक्रमहरु कार्यान्वन गराउने प्रयास गरे ।
लाथालिङ्ग मुख्यमन्त्री सचिवालयको कार्यशैलीको विषयमा जनस्तरमै टिकाटिप्पणी र आलोचना भयो तर त्यहाँबाट हुने ‘सेटिङ’ चाल नपाए जस्तो गरिदिए । अमूक व्यक्तिबाट सबै मन्त्रालयका कर्मचारीलाई दिइने गरेको दुःख अनि झन्झटबारे कानमा बतास नै लगाएनन् । बरु त्यस्तैको सल्लाह सुझाव शिरोधार्य गरिरहे । मन्त्रीहरुको कार्यशैली अनि ‘फर्ममेन्स’ हेर्न फुर्सदै मिलेन । पूर्वमुख्यमन्त्रीले भएभरको बजेट जिल्ला केन्द्रीत गरेको भनि आरोप लगाए । तर, आफूले पनि त्यही गरे ।
एक पटक सदनमै आफूले आकस्मिक रुपमा ‘मुख्यमन्त्री पद पड्काएको’ बताएका उनी प्रदेश सरकारको नेतृत्वमा रहेको जनताले महसुस गर्नै सकेनन् । खासमा ‘मुठ्ठीभर कार्यकर्ता’ वरिपरि रुमल्लिएका निवर्तमान मुख्यमन्त्री सरकारमा आए गएको जनताले पत्तै पाएनन् । त्यसैले संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी लिएर पदासिन भएका नयाँ मुख्यमन्त्रीलाई जनभावनाअनुरुप कार्य गरी जनविश्वास बढाउने गरी काम गर्न शुभकामना ।