विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य वस्तुको ढुवानी निर्वाध रूपमा संचालन गर्न दिनुपर्ने माग राख्दै १ नम्बर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
लकडाउनमा औषधी तथा औषधीजन्य वस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा असहयोग गरिरहेकोले त्यसलाई सहज रूपमा आवत–जावत गर्न दिनुपर्ने संघको माग छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज भेटेर नेपाल औषधी व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, सचिव हरिराज रेग्मीले ज्ञापनपत्र बुझाउनु भएको हो ।
विरगञ्ज र काठमाडौंबाट आउनुपर्ने औषधीको ढुवानी नहुँदा प्रदेश १ मा दीर्घरोगी तथा आकस्मिक विरामीको उपचारमा आवश्यक पर्ने औषधीको अभाव हुन थालिसकेकोले तत्काल त्यस्ता औषधीको ढुवानीमा पहल गरिनुपर्ने संघको भनाइ छ ।