मोरोक्कोलाई हराउँदै फाइनलमा प्रवेश गरेको फ्रान्सले अब अर्जेन्टिनासँग भिड्ने

एजेन्सि । फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा मोरक्कोलाई २–० गोलको नतिजाले पराजित गर्दै साविक विजेता फ्रान्स फाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्स उपाधि रक्षाको बाटोमा लम्किएको हो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले पालैपालो गोल गरे । खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेर विजय सुनिश्चित गरेको थियो ।

पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्स समर्थको उत्साह जगाए । हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरेका थिए । फ्रान्सले दोस्रो गोल ७९ औं मिनेटमा थपेका थिए ।

औसमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका मुआनीले मैदान छिरेको पहिलो मिनेटमै गोल गरेर दर्शकलाई चकित पारे । उनले डिबक्सभित्र केलियन एमबाप्पेले मोरोक्कोका रक्षकलाई छल्दै दिएको पासमा पोस्ट नजिकबाट गोल गरेका थिए । गोल गरेसँगै मुआनीले पहिलो अन्तर्राष्ट्रिय गोलको रेकर्ड बनाए ।

बल पोसेसनमा पकड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल पार्न सकेन । यो जितसँगै फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ । सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप जितेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएर घर फर्केको थियो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाका लागि अब अर्जेन्टिनासँग फाइनल खेल खेल्नेछ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार राति हुने तालिका छ ।

बिहिबार, २९ मंसिर, २०७९, बिहानको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर